s

बन्धक नेपाली उद्धारमा सरकारको चासो

Year of Publication: 18 July 2024 | Nagarik

Published by: CESLAM

वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका ५४ जना नेपालीको बन्धक मुक्तिका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहल गर्ने भएको छ। ‘यसबारे भर्खरै मात्र थाहा भएको हो,’ मन्त्रालयका प्रवक्ता गोविन्द रिजालले भने, ‘बुझ्न लगाएर उद्धारको काम अगाडि बढाउँछौं।’

एक महिनाभन्दा बढी समयदेखि बन्धकमा परेका नेपालीले आफूलाई उद्धार गर्न हारगुहार गरेको खबर नागरिक दैनिकले प्रकाशित गरेपछि यसबारे थप चासो बढेको हो। असार ३१ गते सामाजिक सञ्जालमार्फत आफ्नो उद्धारका लागि पीडितहरूले माग गरेका थिए।

रोजगारीका लागि युएईको टोर्नाडो ग्रुपमा गार्डेनरको रूपमा श्रम सम्झौतापछि सबै कामदार काठमाडौंको नयाँ बानेश्वरस्थित ओसो रिक्युटिङ एजेन्सी प्रालिमार्फत त्यहाँ पुगेका हुन्। म्यानपावरको श्रम सम्झौताअनुसार काम नदिई आफूहरूलाई बन्धक बनाइएको आरोप पीडितहरूको छ। सबैजसो खाडी मुलुकमा नेपाली दूतावास छन्। नेपाली दूतावासमार्फत पनि उद्धारका लागि प्रबन्ध मिलाइने मन्त्रालयका प्रवक्ता रिजालले बताए।

थुनुवा अवस्थामा खाना पनि नखाई बस्न धेरै गाह्रो भएको महोत्तरीका मिठु पासमानले नागरिकसँग दुःखेसो व्यक्त गरेका थिए। ‘यहाँ साथीभाइ कसैको पनि युएई सिमकार्ड छैन, त्यसैले कसैको फोन लाग्दैन,’ उनले भने, ‘मसँग भएको १० दिराम तिरेर केही दिनका लागि वाइफाई लिएको छु,’ उनले भने, ‘नेट कतिबेला सकिन्छ थाहा छैन। नेपालबाट उद्धारका लागि कसैको फोन आउँछ कि भनेर कुरेर बसेका छौं। चाँडोभन्दा चाँडो हामीलाई उद्धार गर्नुहोला।’

तीन दिनदेखि अनलाइनमै रहे पनि कसैको फोन नआएको गुनासो पीडितहरूको छ। सबैलाई भेडाबाख्रालाई झैं थुनी दुबईको हाइल्यान्ड भन्ने ठाउँमा बन्धक बनाइएको आरोप पीडित पासमानको छ। २५ जनाभन्दा बढी नेपाली भएको एउटै कोठामा गर्मीले सकस भएको उनले बताए । कसैको फोन आएर उद्धार भइहाल्ला कि भनेर उनीहरू बेचैनीका साथ प्रतीक्षा गरिरहेका छन्।

त्यसरी उद्धारको पर्खाइमा रहेका उनीहरू दुई समूहमा ओसो म्यानपावरद्वारा युएई पुगेका थिए। गत जेठ ३१ गते युएई पुगेको दोस्रो समूह र त्योभन्दा पहिला पुगेको पहिलो समूहलाई गार्डेनरको काम भनेर झुक्याई साउदी अरेबियाको सीमानजिकै रहेको घनघोर जंगलमा लगेर जंगलको रेखदेख र खजुर टिप्ने काम दिएको पीडित बताउँछन्।

‘हामीलाई नेपाल झिकाइदिनु त्यति भए पुग्छ,’ इमोमार्फत एक पीडित बन्धकले भने, ‘यहाँ मान्छे मर्न लागिसक्यो खान नपाएर।’ यतिबेला वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डले चाहेको खण्डमा ओसो म्यानपावरलाई कानुनी कारबाही गरेसँगै उद्धारका लागि हात फैलाइरहेका आफूहरूलाई सहजै उद्धार गर्न सक्ने पीडितहरूको भनाइ छ। ‘कमाउन आएका हामीलाई यस्तो अवस्थामा पुर्‍याएको छ त्यो ओसो म्यानपावरले । सबै जनाको पासपोर्ट कम्पनीले लिएको छ। कसरी हामी बाहिर निस्कने र ?’ पीडित पासमान बताउँछन्।

सहरभन्दा करिब चारघण्टा टाढा साउदी अरेबियाको सिमानामा रहेको ठूलो जंगलको हेरचाह गर्ने र त्यहाँको खजुर टिप्ने काम अस्वीकर गर्दा कोठामा ल्याएर थुनेको उनीहरूले बताए। बन्धक पीडितहरू प्रत्येकलाई ओसो म्यानपावरले करिब दुई लाखदेखि करिब ३ लाख लिएर सुक्खा तलब १२ सय दिराम (नेपाली ४३ हजार ६६८ रूपैयाँ) हुन्छ भनी सम्झौता गरेका थिए।

ओसो म्यानपावर सञ्चालक लक्ष्मण विश्वका अनुसार सबैजना कामदार सकुशल भएसँगै त्यहाँका आधिकारिक कम्पनीसँग सम्पर्क भइरहेको छ। त्यहाँ बन्धक कोही परेका छैनन्, त्यसो भनेका मात्रै हुन्। ल्यान्ड स्क्यापिङ कामदारको काम भनेर युएईमा १७० जना कामदारलाई पठाएकामध्ये किन आधा मात्रै आए त ? सबै बन्धकमा परियो भनेर आउनुपर्ने हो नि ? किन थोरै आए ? एकदुई दिनमा सबै काम सल्टिएसँगै उनीहरूले काम पनि पाउने विश्व बताउँछन्।

‘हामीले उनीहरूलाई अन्तरवार्ता लिएर पठाएका हौं, कसैलाई पनि आँखामा पट्टी बाँधेर पठाएका होइनौं,’ ओसो म्यानपावर सञ्चालकले भने, ‘त्यहाँ अन्य म्यानपावरले पठाएका कामदार पनि छन्। मेरोेबाट अलि धेरै गएका हुन्। तर, ओसोको मात्रै नाम किन आयो ? यसमा षड्यन्त्र छ अरू म्यापावरको नाम किन आएन ?’

दुईतीन दिनमा सबै काम समाधान भएसँगै उनीहरूले अलिअलि गरेको कामको तलबसमेत बिहीबार पाउने भएको उनले बताए। त्यहाँको नेपाली राजदूतावाससँग पनि सम्पर्कमा रहेर काम टुंग्याउन लागेको विश्व बताउँछन्।

‘तिनीहरू साँच्चै पीडामा छन् कि छैनन् । पीडामै भएको भए उद्धार गर्नु पर्‍याे। त्यसका लागि अनुगमन भइरहेको छ,’ वैदेशिक रोजगार विभागको महानिर्देशक डण्डुराज घिमिरेले भने। युएई पुगेका ५४ जना सकुशल स्वदेश फर्कन पाऊँ भन्दै उद्धारको हात फैलाइरहेका छन्।

Published on: 18 July 2024 | Nagarik

Link

Back to list

;