s

बालकुमारीमा मारिएका शाहका परिवारलाई कोरियाबाट आर्थिक सहयोग

Year of Publication: 11 January 2024 | Naya Patrika

Published by: CESLAM

कोरियन भाषा परीक्षामा सहभागिताको माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका अछामका वीरेन्द्र शाहका परिवारलाई कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । कोरियामा बसोवास गर्दै आएका नेपालीले सात लाख ५७ हजार रुपैयाँ संकलन गरेर उनको परिवारलाई पठाएका हुन् ।

उक्त रकम अछाम सेवा समितिले बुधबार धनगढीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मृतकका बुबा टेकबहादुर शाहलाई हस्तान्तरण गरेका छन् ।

इपिएस भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा अछामको चौरपाटी गाउँपालिका– १ सिउडीका वीरेन्द्र र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । कोरियामा रहेका नेपालीहरूले रावतका परिवारलाई पनि त्यति नै रकम पठाएका छन् ।

यो अभियान सामाजिक अभियन्ता, धनगढी- १ शिवनगर स्थायी बासिन्दा हाल दक्षिण कोरियामा रही विभिन्न सामाजिक कार्यमा अग्रसर युवा बिबी सिंहको अगुवाइमा भएकाे थियाे । यसैगरी, नेपाली सम्पर्क समिति, पत्रकार महासंघ दक्षिण कोरिया, कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरिया र दैलेख समाज दक्षिण कोरियाको समन्वयमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको हो ।

एनआरएन कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले कोरियाबाट पीडित परिवारसँग संवाद गरी यो आर्थिक हस्तान्तरण कार्यक्रममा भूमिका निर्वाह गरेका थिए । सहयोग संकलन अभियानअन्तर्गत सामाजिक अभियन्ता इशा गुरुङले शाह र रावतको परिवारलाई एक–एक लाख सहयोग गरेको सिउडी शाह युवा समाजका उपाध्यक्ष भूपेन्द्र शाहले बताएका छन् ।

Published on: 11 January 2024 | Naya Patrika

Link

Back to list

;