s

वैदेशिक रोजगार ठगी : उजुरी दिन कानुन व्यवसायी नचाहिने

Year of Publication: 23 May 2019 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

तुलसी सुवेदी

वैदेशिक रोजगारमा ठगिएकाले उजुरी दिन कानुन व्यवसायी आवश्यक नपर्ने भएको छ। वैदेशिक रोजगार विभागले उजुरी लेख्ने फर्म तयार गरी सरल ढंगले उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको हो। यो व्यवस्थाले वैदेशिक रोजगारीमा ठगिएकाले उजुरीका लागि कानुन व्यवसायीको सहायता लिनुपर्ने र उनीहरूलाई शुल्क तिर्नुपर्ने झन्झट रहनेछैन।

वैदेशिक रोजगार विभागले करिब तीन सातादेखि सर्वसाधारणले सजिलैसँग उजुरी लेख्न सक्ने गरी ढाचा तयार गरी कार्यान्वयनमा ल्याएको छ। उक्त ढाचाको आधारमा कामदारले सजिलै उजुरी लेख्न सक्छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले पीडितलाई राहत दिन उजुरी प्रक्रियामा सजिलो बनाइएको बताए। ‘यसले कामदारको पाँच हजार रुपैयाँ जोगिएको छ’, उनले भने, ‘कतिपय कामदार अलमल परेको अवस्थामा विभागका कर्मचारीले नै भर्न सक्छन्।’ यसअघि कामदारले कानुन व्यवसायीमार्फत उजुरी दिने व्यवस्था थियो। वकिलहरूले उजुरी लेखिदिएबापत कामदारबाट दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म असुल गर्दै आएका थिए।
 
वैदेशिक रोजगार विभागका अनुसार एजेन्ट तथा म्यानपावर व्यवसायीले विभिन्न बहानामा कामदार ठग्ने गरेका छन्। राहदानी लिएदेखि विदेश पठाउँदासम्म ठाउँठाउँमा नेपाली ठगिन्छन्। वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक दुई दर्जनभन्दा बढी युवा ठगिने गरेका छन्। विभागले उजुरी लेख्ने फर्म्याट बनाएपछि सजिलै आफैं खाली ठाउँ भरेर वा कर्मचारीलाई भनेर कामदारले उजुरी दिन थालेका छन्। विभागको सहजीकरणसँगै उजुरी लेखाउन लाग्ने पैसा जोगिएकोमा कामदार खुसी देखिएका छन्।
 
‘उजुरी लेख्न फर्म्याट बनाएसँगै कामदारलाई सहज भएको छ’, महानिर्देशक भुसालले भने, ‘कामदारले उजुरी लेख्न अब एक पैसा पनि खर्च गर्नुपर्दैन।’ नयाँ फर्म्याटका आधारमा वकिलको सहायता नलिइकनै उजुरी दर्ता गर्न पाउँदा खुसी लागेको पीडितले बताउन थालेका छन्। वैदेशिक रोजगार विभागका निर्देशक राजेश्वर अर्यालले उजुरी दर्तामा सहजीकरणका साथै छिटो सेवा दिन लागिपरेको बताए।
 
‘कामदारको हितका लागि हामीले उजुरी लिनेदेखि अनुसन्धान प्रक्रियासम्म सरलीकृत गर्छाैं’, उनले भने। निर्देशक अर्यालले विभागमै बसेर कामदारले उजुरी लेख्न सक्ने र समस्या परे कर्मचारीले भरिदिने व्यवस्था गरिएसँगै कामदारले राहत पाएको बताए। पीडितहरूले यसअघि निजी कानुनी निकायबाट उजुरी लेखाएर ल्याउनुपर्ने बाध्यता थियो।
 
निर्देशक अर्यालले कामदारको आर्थिकभार जोगाउनका साथै विभागको काममा एकरूपता ल्याउन उजुरीमा नयाँ पद्धती अपनाइएको बताए। वैदेशिक रोजगार ऐन २०६४ अनुसार पीडितले हुलाक वा विद्युतीय माध्यमबाट उजुरी दिन सक्छन्। आफ्नै जिल्लाबाट समेत वैदेशिक रोजगारीका उजुरी दर्ता गर्न र फरफारकसमेत गर्न सकिने व्यवस्था गरिएको छ।
 
विभागले ठगी उजुरी परेको एक महिनादेखि तीन महिनासम्म पीडितलाई न्याय दिँदै आएको छ। विभागले प्रक्रियाअनुसार एकहप्ते, तीनदिने र २४ घण्टे सूचना जारी गरेर पीडितलाई न्याय दिँदै आएको छ। वैदेशिक रोजगार विभागका अनुसार गत चैतसम्म एक हजार चार सय ९० वटा उजुरी दर्ता भएको छ। संस्थागत ठगीको आकार झन्डै दोब्बर छ। चैतसम्म संस्थागत ९ सय १ र व्यक्तिगतरूपमा पाँच सय ८९ वटा उजुरी परेको छ। विभागका अनुसार ५५ करोड ५४ लाखभन्दा बढीको बिगो दाबी गरिएको छ।
 
Published on: 23 May 2019 | Annapurna Post

Back to list

;