s

वैदेशिक रोजगारी जाने सबैभन्दा धेरै महिला सिन्धुपाल्चोकबाट

Year of Publication: 30 October 2014 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

वैदेशिक रोजगारीमा सबैभन्दा धेरै महिला कामदार जाने जिल्लामा सिन्धुपाल्चोक पहिलो नम्बरमा परेको छ। देशका पचहत्तरै जिल्लाबाट कामको खोजीमा बिदेसिने महिलाको तथ्यांक संकलन गर्दा सिन्धुपाल्चोक सबैभन्दा अगाडि आएको छ। कुल बिदेसिएका महिलामध्ये यो जिल्लाको हिस्सा ८.८६ प्रतिशत छ। 

वैदेशिक रोजगार विभागका अनुसार पछिल्ला वर्षहरूमा यो जिल्लाबाट काम गर्न बिदेसिने महिलाको संख्या क्रमश: बढ्दो छ। तर, पुरुष कामदार धेरै जाने जिल्लामा भने सिन्धुपाल्चोक अगाडि छैन। गरिबी र बेरोजगारीका कारण सुरुका वर्षमा यो जिल्लाबाट महिला कामदार कुबेत, बहराइनलगायतका मुलुकमा जाने गरेका थिए। गएका कामदारले आफन्त र नातागोतासमेत लैजाने प्रवृत्ति बढेकाले जाने संख्या अरू जिल्लाको तुलनामा बढी देखिएको वैदेशिक रोजगार क्षेत्रका ज्ञाता बताउँछन्। 

वैदेशिक रोजगारका विज्ञ डा. गणेश गुरुङ सिन्धुपाल्चोकलगायतका जिल्लाबाट सुरुमा गरिबी र अभावका कारण बिदेसिएका महिलाले पछि आफ्ना नातागोता र चिनजानका व्यक्तिलाई समेत लैजाने प्रवृत्तिका कारण जाने महिलाको संख्या अन्य जिल्लाको तुलनामा बढी रहेको बताउँछन्। यसबाहेक सामाजिक परिवेश र पारिवारिक अवस्थाले पनि बिदेसिने प्रवृत्तिमा सहयोग पुग्ने उनले बताए। सिन्धुपाल्चोक दशक लामो आन्तरिक द्वन्द्वले धेरै आक्रान्त हुने जिल्लामध्येमा पर्छ। यसले पनि महिलालाई विदेश जान बढी उत्प्रेरित गरेको विज्ञ बताउँछन्। बिदेसिएका महिला कामदारमध्ये धरैजसो व्यक्तिगत पहलमा गएका हुन्। म्यानपावर कम्पनीबाट जानेको संख्या कम छ।

महिला कामदार बढी बिदेसिनेमा सिन्धुपाल्चोकपछि दोस्रो स्थानमा झापा छ। कुल बिदेसिएका महिलाको संख्यालाई प्रतिशतमा हिसाब गर्दा झापाबाट मात्रै ८.५७ प्रतिशत महिला काम गर्न विदेश गएका छन्। देशका ७५ जिल्लाबाट महिला कामदार बिदेसिने प्रवृत्ति हेर्दा जम्मा १० वटा जिल्लाबाट मात्रै ५०.२८ प्रतिशत गएको देखिन्छ। बाँकी ६५ जिल्लाबाट ४९.७२ प्रतिशत महिला कामको खोजीमा विदेशी भूमि गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार धेरै महिला कामदार जाने सूचीको तेस्रो नम्बरमा मोरङ रहेको छ। यो जिल्लाबाट ५.८७ प्रतिशत महिला काम गर्न बाहिरिएका छन्। राजधानी काठमाडौंबाट पनि महिला काम गर्न बिदेसिने प्रवृत्ति बढेको छ। विगत पाँचछ वर्षयता राजधानीबाट खाडी मुलुक र मलेसियातर्फ रोजगारीको खोजीमा जाने महिला बढ्दो क्रममा छन्। 

सरकारले तयार पारेको तथ्यांकमा कुल बिदेसिने महिलामध्ये काठमाडौंको हिस्सा ४.१७ प्रतिशत छ। विभागले जिल्लागत आधारमा बिदेसिने महिलाको संख्या भने तयार पारेको छैन। पछिल्ला ६ वर्षयताको बिदेसिने प्रवृत्तिको समग्र अध्ययन गरी प्रतिशतका आधारमा धेरै बिदेसिने जिल्लाको सूची तयार पारेको हो। बढ्दो सहरी गरिबी र आन्तरिक बजारमा रोजगारीका अवसरमा कमी भएकाले राजधानीबाट बिदेसिनेहरू पनि बर्सेनि बढ्दै गएका हुन्। 

गत वर्ष २९ हजार एक सय ५२ जना नेपाली महिला वैदेशिक रोजगारीमा गएका थिए। त्यस वर्ष कुल पाँच लाख २१ हजार आठ सय ७८ जना बिदेसिएका थिए। यस आधारमा पुरु षको तुलनामा महिला काम गर्न विदेश जाने प्रवृत्ति अत्यन्त न्यून देखिन्छ। पछिल्ला वर्षहरूको विवरण अनुसार विदेश जानेमध्ये महिलाको प्रतिशत औसतमा पाँचदेखि ६ प्रतिशतबीचमा मात्र छ। सरकारको अनुमति नलिई अवैध तरिकाले जानेहरू पनि धेरै भएकाले विदेशमा रहेका महिला कामदारको वास्तविक तथ्यांक आउन नसकेको वैदेशिक रोजगारका ज्ञाता बताउँछन्। 

हाल सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३५ लाख पुगिसकेको छ। चालू आर्थिक वर्षको तीन महिनामा मात्रै एक लाख २९ हजार चार सय १० जना काम गर्न विदेश गइसकेका छन्। दैनिक सरदरमा १५ सय जना युवा बिदेसिने गरेका छन्। 

Published on: 30 October 2014 | Annapurna Post

Back to list

;