s

वैदेशिक ठगीका उजुरी बढे

Year of Publication: 20 February 2024 | Annapurna Post

Published by: CESLAM

काठमाडौं : धादिङकी मनकुमारी तामाङ कुवेत जान भन्दै गत असोजमा त्रिभुवन विमानस्थल पुगेकी थिइन्। गाउँकै आफन्तलाई ३ लाख बुझाएकी उनी कुवेत उड्न भने पाइनन्। दुबईको भिजिट भिसा हातमा लिएर विमानस्थल पुगेकी उनलाई कागजात शंकास्पद भन्दै अध्यागमन अधिकृतले फिर्ता पठाए। रिण तिर्नका लागि मजदुरी गरिरहेकी तामाङ ५ महिनापछि मात्रै पासपोर्ट फिर्ता लिन प्रहरी कार्यालय पुगेकी थिइन्।

यस्तै, सर्लाहीका वीरेन्द्र महतो न्युजिल्यान्ड जानका लागि गत मंसिरमा घरबाट हिँडेका थिए। उनलाई एजेन्टले वर्किङ भिसामा पठाउने भन्दै पटक–पटक महतोसँग १८ लाख बुझे। प्ल टु पास गरेका महतोले न्युजिल्यान्ड नपुगीबीच ट्रान्जिटबाटै फर्काइए। उजुरी बोकेर अपराध अनुसन्धान महाशाखा पुगेका उनी प्रहरीसँग आफू ठगिएको बताउँदै थिए।

वीरेन्द्रले कहिले ई–सेवा त कहिले अनलाइन बैंकिङमार्फत एजेन्टलाई पैसा बुझाएका थिए। वैदेशिक रोजगारका लागि पैसा बुझाएको भन्ने कुनै आधिकारिक कागजात उनीसँग थिएन। यसैले पनि उनी कहिले वैदेशिक रोजगार विभाग त कहिले प्रहरी कार्यालय धाइरहेका छन्।

पोर्चुगल जान १६ लाख लाग्छ। महिनामा डेढ लाख कमाइ हुन्छ भन्दै प्रलोभन दिएर ठगी गर्ने चितवन खैरेनीका समीरकुमार कर्णलाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध ८ लाख ३० हजार ठगी गरेको उजुरी दर्ता भएको छ।

यी त केही घटना मात्रै हुन्। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने भन्दै ठगी हुने गरेका घटना बढ्दो छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकअनुसार पछिल्लो ७ महिनामा मात्रै वैदेशिक रोजगार ठगीका ४२१ वटा उजुरी परेका छन्। अपराध अनुसन्धान कार्यालयमा वैदेशिक रोजगार ठगी भन्दै वैदेशिक रोजगार विभागबाट ४ सय २१ वटा प्रक्राउ पुर्जी प्राप्त भएको थियो। विदेश पठाउने भन्दै पैसा उठाएर ठगी गर्ने १ सय ९८ जना पक्राउ परेका छन्। जसमा १६१ जना पुरुष र ३७ जना महिला छन्।

वैदेशिक रोजगारमा ठगी गर्नेहरूविरुद्ध १३ करोड ५ लाख ८७ हजार ३ सय बिगो बराबरको मुद्दा दर्ता भएको छ। आव ७८÷७९ मा १२० वटा उजुरीमा १२० वटै पक्राउ पुर्जी जारी भएको थियो। जसमा ५ जना मात्रै पक्राउ परेका थिए। यस्तै, आव ७९÷८० मा ८६ वटा वैदेशिक ठगीका उजुरी परे। जसमा २८ जनामात्रै पक्राउ परेका थिए। गत वर्ष ८६ वटा मात्रै पक्राउ पुर्जी जारी भएकोमा यस वर्षको सुरुको ७ महिनामै यो संख्या पाँच गुणा बढेको छ। यही पुसमा ९४ वटा उजुरी आएकोमा माघ महिनामा ८४ वटा उजुरी आएका छन्।

किन बढिरहेछ वैदेशिक ठगी ?

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य छ। नेपालमा काम गर्न नचाहने र वैदेशिक रोजगारमा गएपछि टन्नै कमाइ हुन्छ भन्ने गलत धारणा समाजमा व्याप्त छ। जे कुराको माग बढी हुन्छ त्यही कुरा परिपूर्तिमा लाग्छ मानिस। विदेश पठाइदिन्छु र भिसा मगाइदिन्छु भनेपछि सजिलै विश्वास गर्ने आदत बढ्दो छ।

राठौर अगाडि थप्छन्, ‘अहिले त सामाजिक सञ्जालमा फेक विज्ञापन गरेर ठग्ने गिरोह सक्रिय छन्। त्यस्ता, फेक विज्ञापन गर्ने कम्पनी दर्ता नै भएका हुँदैनन्। उनीहरूको उद्देश्य नै ठगी गर्ने हुन्छ। विभिन्न बहानामा विदेश जान लागेका युवायुवतीले पैसा बुझाउने बेलासम्म कसैलाई सोध्दैनन्, आधिकारिकताका विषयमा बुझ्दैनन् पनि। जब ठगिन्छन्, अनि मात्रै प्रहरीमा आउँछन्। न उनीहरूसँग पैसा बुझाएको प्रमाण हुन्छ न त कुनै कागजात नै। पैसा लिने व्यक्ति नै फरार हुन्छ। प्रमाण नभएको मुद्दामा पीडितले न्याय पाउने संभावना निकै कम मात्रै हुन्छ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार छोटो समयमा धेरै पैसा कमाउने रहरले वैदेशिक ठगी बढिरहेको छ। सबैलाई विदेश जानु छ, पैसा कमाउनु छ, छिटो धनी हुनु छ। पछिल्लो समय पोर्चुगल, पोल्यान्ड, सर्विया, क्यानडा, माल्दिभ्स, न्युजिल्यान्ड, अष्टे«लिया, जापान, क्रोएसिया, कम्बोडिया, टर्की, अल्बानिया, रसियाजस्ता देशमा लैजाने भन्दै ठगी गर्ने गिरोह नै सक्रिय छन्। यस्ता गिरोहहरू एक ठाउँमा ठगी गर्ने र फरार हुने, लगत्तै अर्को ठाउँमा कार्यालय खोलेर ठगी गर्ने जस्ता कार्य गरिरहेका छन्।

Published on: 20 February 2024 | Annapurna Post

Link

Back to list

;