s

वैदेशिक रोजगारमा जानेभन्दा फर्कने बढे

Year of Publication: 27 April 2021 | Setopati

Published by: CESLAM

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेभन्दा फर्कनेहरुको संख्या बढ्न थालेको छ।

वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा २०७६ चैतदेखि समाचार तयार गर्दासम्म ५१ हजार ४ सय २१ जना युवाहरु रोजगारीको खोजिमा नयाँ श्रम स्वीकृति लिएर विदेशीएका छन्। 

कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार सोही अवधिमा  ४ लाख ३८ हजार ७ सय ६४ जना स्वदेश फर्किएका छन्।

फर्कनेहरु पनि अधिकांश श्रम गन्तव्य मुलुकहरु साउदी, कतार, मलेसिया, युएई, कुवेत लगायत मुलुकहरु बाट छन्।

सिसिएमसीको तथ्यांकअनुसार सबैभन्दा बढी युएईबाट १ लाख ३५ हजार ४ सय ३२ नेपालीहरु स्वदेश फर्किएका छन्।

मलेसियाबाट ४७ हजार ६९ फर्किएका छन्। त्यस्तै, साउदीबाट ४० हजार ५ सय ९३ नेपालीहरु फर्किएका छन्।

हवाईमार्ग हुँदै भारतबाट ३४ हजार ४ सय ९३ फर्किएका छन्, जापानबाट १३ हजार १ सय ३८, टर्कीबाट १२ हजार २ सय ८०, हंकङ र मकाउबाट ३ हजार ३७ फर्किएका छन्।

चीन, दक्षिण कोरिया, अर्मेनिया, जर्मनी, पोल्याण्ड, क्यानडा, डेनमार्क, माल्दिभ्स, इटली, सुडान, ग्रिस, स्पेन, पोर्चुगल, फ्रान्स, जोर्डन, दक्षिण कोरिया लगायत विभिन्न ६० वटा मुलुकहरुबाट जम्मा ४ लाख ३८ हजार ७ सय ६४ नेपालीहरु स्वदेश फर्किएका हुन्।

महामारीका कारण गन्तव्य मुलुकहरुमा प्रवेश सहज नहुँदा वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या घटेको वैदेशिक रोजगार विभागले जनाएको छ।

पछिल्लो समय कतिपय गन्तव्य मुलुकहरुले आप्रवासी कामदार प्रवेशमा रोक लगाएका छन्।

मलेसिया, दक्षिण कोरिया लगायत मुलुकहरुमा कोभिड महामारीपछि नेपाली श्रमिकहरुले प्रवेश पाएका छैनन्, यसो हुँदा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको विभागको भनाई छ।

विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराई पनि पछिल्लो समय यो महामारीकै कारण गन्तव्य मुलुकहरुमा प्रवेश सहज नहुँदा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको बताउँछन्। 

कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीको अवसर खुम्चँदै गएको छ। तर विदेशबाट रोजगारी गुमाएर फर्किएका तथा देशभित्रै बेरोजगारीले पिरोलिएका युवाहरुका लागि सरकारले आकर्षक रोजगारीका अवसरहरु सिर्जना गर्न सकेको छैन। 

युवाहरुलाई आन्तरिक रोजगारीमै आकर्षित गर्ने उदेश्यले अघि सारिएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि राम्रो हुन सकेको छैन।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम १०० दिनको रोजगारी दिने भनिए पनि युवाहरुले १०० दिनको रोजगारी मुस्किलले पाउने गरेका छन्।

त्यसमा पनि दैनिक ज्याला ५१७ मात्रै छ। काम दीर्घकालीन नहुनु तथा ज्यालासमेत कम हुनुले यो कार्यक्रममा युवाहरु आकर्षित हुन सकेका छैनन्।

चालु आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख विपन्न बेरोजगार युवाहरुलाई १०० दिनको रोजगारी दिने लक्ष्य छ। तर अहिलेसम्म भइरहेको कामको अवस्था हेर्दा लक्ष्यअनुसार २ लाखले १०० दिनको रोजगारी पाउने अबस्था देखिदैँन।

आगामी आथिर्क वर्ष २०७८/७९ मा यो कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी ७ लाख विपन्न बेरोजगार युवाहरुलाई १०० दिनको रोजगारी ग्यारेन्टी गरिने गरी बजेट माग गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एंव प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले बताए। 

चालु आर्थिक वर्षमा ७ लाखभन्दा बढी बेरोजगार युवाहरुले सरकारसँग रोजगारीको माग गर्दै आवेदन दिएका छन्।

Published on: 27 April 2021 | Setopati

Link

Back to list

;