s

वैदेशिक रोजगारका पीडित अनुहार

Year of Publication: 24 April 2012 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

 मानबहादुर बिक

संयोगले केही दिनका लागि वैदेशिक रोजगार विभागमा महानिर्देशक बन्ने मौका मिल्यो। अनुभवका दृष्टिले नयाँ भए पनि यो मेरो अध्ययनकै एउटा हो।
 
एउटै मन्त्रालयअन्तर्गत भएकाले आन्तरिक अन्तर्क्रियामा पनि वैदेशिक रोजगार विभागका कामकारबाही जान्ने/सुन्ने मौका पाइन्थ्यो। काजमै सही तुलनात्मकरूपमा महत्वपूर्ण ठानिएको क्षेत्रमा काम गर्ने जिम्मेवारी पाउँदा चुनौती थपिएको ठानेको थिएँ। अपर्झट जिम्मेवारी समाल्नु पर्दा मानसिकरूपले तैयार हुने मौका नभए पनि आफ्नो तर्फबाट सकेको योगदान गर्ने र सुधार अभियानलाई अझ सशक्त र सेवाग्राही उन्मुख बनाउने अठोट गरेर काम थालेँ।
 
प्रारम्भमा भएका सुधारलाई कायम राख्नु/संस्थागत गर्नु र सुधारका थप सम्भावना पहिल्याउने चुनौती थियो। यसका लागि विभागको संस्थागत संस्कृति बुझ्नु जरुरी थियो। श्रम आप्रवासन विश्वव्यापी चासोको विषय त हो नै व्श्विव्यापीकरणले यसलाई झन् संवेदनशील बनाएको छ। त्यस अर्थमा हाम्रो देशका लागि पनि वैदेशिक रोजगारी संवेदनशील विषय हो। तर यसलाई चर्चा गरिएकै तुलनामा समष्टिगत सामाजिक आर्थिक आयामसँग जोड्न भने ध्यान दिइएको पाइएन।
 
विकास आयोजनामा लामो समय काम गरेको कारण सुधार प्रशासनिक नियन्त्रणभन्दा जनताका हितमा पनि नतिजामूलक हुनुपर्छ भन्ने मूल्यबाट प्रशिक्षित भएको छु। तसर्थ, भएका सुधारलाई संस्थागत प्रणालीमा रूपान्तरण गर्नु थियो भने ग्राहकउन्मुख सुधारका क्षेत्र पहिल्याउनु थियो। त्यसमा म व्यस्त हुन थालेको पनि थिएँ तर मैले त्यहाँ श्रम स्वीकृति लिन हातमा कागजपत्र लिई लाम लागेका दिदीबहिनीहरूसँग छोटो अन्तर्क्रिया गर्ने गर्थेँ। सबैको अनुहारमा संकोच हच्केको र अन्योल देखिन्थ्यो। लाग्थ्यो उनीहरू सबै छाडेर अन्योलपूर्ण यात्रामा निस्केका छन र अगाडिको झ्यालले उनीहरूको जिन्दगी नै प्रभावित हुन्छ। नजिक परेर खुलस्त बोल्न पनि हिचकिचाउने ती त्रसित अनुहार गाउँबाट त्यहाँसम्म आइपुग्दा थुप्रै चरणमा ठगिइसकेका हुँदा रहेछन्। डराएको आवाजमा बिस्तारै बोल्दा उनीहरूका कुरा मुस्किलले बुझिन्थ्यो। यसबाट उनीहरूले हामी सरकारी कर्मचारीलई सहजकर्ता नठानेको स्पष्ट हुन्थ्यो। सायद, उनीहरूले त्यस ठाउँलाई पनि ठगी र शोषणकै अर्को चरणका रूपमा लिन्छन्। मलाई लाग्यो, कम्तीमा पनि यी सेवाग्रहीहरू त्यस परिसरभित्र प्रवेश गरेपछि राज्यको संरक्षणमा भएको र हामीलाई उनीहरूकै सहजकर्ता ठानी खुलस्त कुरा गर्ने वातावरणमात्रै बनाउन सके पनि ठुलै उपलब्धि हुन्छ। प्रत्येक दिन लाममा लाग्ने यी दमित आवाजहरूबाट केही न केही महत्त्वपूर्ण कुराको जानकारी हुन्थ्यो।
 
त्यहाँको अर्को मर्मस्पर्शी विषय ठगीको उजुरी रहेछ। वैदेशिक रोजगारीमा ठगी एउटा 'व्यावसायिक प्रोडक्ट' नै बनेको रहेछ। सिन्धुपाल्चोकका केही तामाङ प्रौढहरू र भोजपुरका केही दलित युवा ठगिएको वृतान्त हृदयस्पर्शी थियो। उनीहरूको मनःस्थितिबाट प्रष्ट लाग्थ्यो ७/८ महिना देखि बोकेर हिँडेको पीडाको भारी बल्ल आत्मविश्वासका साथ मेरा सामु बिसाउन पाएका हुन्। तिनका अनुहारमा आशाका किरण सलबलाएजस्तो लागेको थियो। उनीहरूले मलाई पनि आफुजस्तै सामाजिकरूपले 'पीडित क्षेत्र' कै व्यक्ति हो भन्ने चिनेको भाव अनुहारमा प्रकट हुन्थ्यो। यस्तोमा तिनले एक प्रकारको भावनात्मक सम्बन्ध गाँसिएको अनुभव गर्दा रहेछन्। तर, भावुकताले प्रशासन चल्दैन भन्ने ज्ञान ममा थियो। उनीहरूलाई क्षतिपूर्ति दिलाउने निर्णय मेरा लागि पनि मानसिक सन्तुष्टिको विषय भयो। मलाई लाग्यो, राज्यले पनि जुन सामाजिक क्षेत्रका सेवाग्राही हुन्छन् त्यहीँको व्यक्ति सेवा प्रदायक निकायमा हुँदा सेवा प्रवाह प्रभावकारी हुन्छ भन्ने ठानेर मलाई यहाँ पठाइएको पो हो कि! यसले मलाई अतिरिक्त जिम्मेवारी बोध पनि गरायो।
 
विभागका विभिन्न तहका साथीहरूसँगको छलफल र अवलोकन, यस क्षेत्रमा काम गर्ने गैरसरकारी संघ/संस्थाहरू र व्यवसायी तथा सेवाग्राहीसँग छलफल र विमर्श गर्दागर्दै साता दिन बितेछ। सुधारका केही क्षेत्र पहिचान भएका थिए र त्यसका लागि योजनासहित विभागका वरिष्ठ अधिकृतहरूसँग बैठक गर्नु थियो। यसैबीच नया मन्त्रीको बहाली भयो। उहाँको निर्देशन लिएपछि विभागमा गएर सुधार अभियानका सन्दर्भमा वरिष्ठ अधिकृतहरूसहित बैठक गर्दैथिएँ। सुधारप्रति साथीहरूको प्रतिबद्धताले मलाई ऊर्जा थपेको थियो। यस क्षेत्रमा केही सारभूत गर्न सकिन्छ भन्ने आँट पलाएको थियो। केही विषयवस्तु पहिचान गरी सुधारका उपाय सार्वजनिक गर्ने तयारी गरिरहेका थियौँ। यत्तिकैमा मन्त्रालयबाट बोलाहट भयो। काज फिर्ताको संकेत थियो। सुधार अभियानको बैठकलाई त्यही बीट मारेर साथीहरूसँग बिदा भई मंत्रालय पुगे। काज फिर्ताको पत्र तयार थियो।
 
अहिले म अर्कै विभागमा कार्यरत छु। तर मेरो मानसपटलबाट वैदेशिक रोजगारका लागि लाममा लागेका अन्यौलले भरिएका अनुहारहरू र ठगीमा परेकाको पीडा वृतान्त मेटिन सकेको छैन।
 
Published on: 24 April 2012 | Nagarik

Back to list

;