s

वैदेशिक रोजगारीपछि नेपालमै उद्यम

Year of Publication: 26 June 2023 | Nagarik

Published by: CESLAM

नेपालमा पैसा कमाउन सकिँदैन र विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोच कतिपय युवाहरूको छ। तर, यो सोचको विपरीत पछिल्ला वर्षमा विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दो छ। कतारमा करिब १४ वर्ष संघर्ष गरेका नवलपरासी ४ का मोहनबहादुर कार्की यसका एक उदाहरण हुन्।

स्वदेश फिर्ता भएलगत्तै कार्की पशुपालनमा व्यस्त छन्। यही व्यवसायले उनलाई नवलपरासी सुनवल नगरपालिकामा मात्र २ सय लिटरभन्दा बढी दुध करिब २ सय ५० घरधुरीलाई बेच्न सफल भएका छन्। त्यतिमात्र नभएर कार्कीले मम प्रयोजनका लागि हरेक साताको मंगलबार १० ट्रक थारा भैंसी, राँगा, पाडापाडी काठमाडौंमा ल्याउने गरेका छन्।

कन्सुलट एक्सनप्लान अफ रेस्पोनसिवल डेभलपमेन्ट सोसाइटी प्रालि स्थापना गरी उद्यमी बन्ने रहरले कृषि तथा पशुपालन गर्न थालेको उनी बताउँछन्। विश्वमा छरिएर रहेका १२ देशमध्ये ९१ जना नेपालीले प्रत्येक सदस्यबाट ३ देखि ५ लाख रकम जम्मा गरी उक्त कम्पनी स्थापना गरिएको कार्कीले बताए।

३ वर्ष पहिले कतारबाट फर्किएका कार्कीको सोच नेपालमा नै केही उद्यम गर्नुपर्छ भन्ने थियो। हाल उक्त कम्पनीका कार्की अध्यक्ष पनि हुन्।

त्यति मात्र नभई उनले ८४ लाख लगानी गरी आफ्नै व्यवसायमा व्यस्त रहेका कार्कीले १५ जनालाई रोजगार पनि दिएका छन्। उनका अनुसार कर्णाली प्रदेशमा बाख्रा पालन, लुम्बिनीमा भैंसी पालन, हेटांैडामा गाई पालनलगायत गोलभेंडा खेती, इलाममा बंगुर पालन र नवलपरासीमा १ सय २ वटा पाडापाडी रहेका छन्। त्यसैगरी उनले विभिन्न स्थानमा लोकल कुखुरा, हाँस, कालिज र टर्की पालन पनि गरेका छन्।

‘हामीले नवलपरासी सुनवल नगरपालिकामा मात्र २ सय लिटरभन्दा बढी दुध करिब २ सय ५० जना उपभोक्तालाई बेच्छौं,’ उनले भने, ‘हरेक साताको मंगलबार १० ट्रक थारा भैंसी, राँगा, पाडापाडी काठमाडौंमा ममका लागि झार्ने गरेका छौं। मागअनुसार विभिन्न जिल्लामा कसले पाल्ने वा मासु खाने हिसाबले पाडा र भैंसी लैजाने गर्छन्।’

कार्कीको भैंसीपालन, बाख्रापालनमा र कृषिमा राम्रो प्रगति आएको छ भने बंगुरपालन केही मात्रामा खस्केको छ। नेपालका गाईभैंसीमा देखिएको लम्पी स्किन रोगको महामारी अहिले तीव्र रूपमा फैलिरहेको हुँदा उद्यमी कार्कीले दैनिक दुई घण्टाका दरले पशु विज्ञ डाक्टर पनि राखेका छन्।

अब उनको विदेश जाने सोच छैन तर उनले सरकारको सहयोग केही नपाएको गुनासो गर्दै भन्छन्, ‘कृषिमा उत्कृष्ट बजेट छैन। नेपालमा पूर्वाधारको विकास गर्नुभन्दा आवश्यक कृषि उत्पादनमा मुख्य बजेट छुट्याउनु पहिलो प्राथमिकता रहेको छ।’ कार्की मात्र नभई अन्य व्यवसायमा संलग्न व्यवसायीहरू पनि सरकारद्वारा सन्तुष्ट नभएको उद्यमीहरूको गुनासो छ।

त्यस्तै उद्यमी सुवर्ण पोखरेल पनि करिब ६ वर्ष दक्षिण कोरियामा मोजासम्बन्धी कार्यबाट आर्जन गरेको रकम स्वदेश ल्याएर उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्यले नेपाल फर्किए। उनले विदेशमा मोजा उत्पादन गर्ने फ्याक्ट्रीमा काम गरेकाले स्वदेशमा पनि सोही व्यवसाय गर्ने अभियानले उनीलगायत अन्य २ जनाको उपस्थितिमा १ करोड लगानी गरी छिन्गु मल्टिपर्पोज प्राली कागेश्वरी, मनहरा, काठमाडौंमा स्थापना गरेको केही वर्षमा सफल उद्यमीको सूचीमा अटाए।

नगद ७५ हजारसहितको राष्ट्रिय पुरस्कार प्राप्त गरेका उनले अहिले प्रत्यक्ष रूपमा २६ जनालाई रोजगार दिएका छन् भने अप्रत्यक्ष रूपमा ४५ देखि ५० जनालाई रोजागारी दिएका छन्। पोखरेलले मोजा उत्पादन गर्ने मेसिन मात्र २३ वटा भएसँगै ४ वटा फरक किसिमका (क्वालिटी) ५५ देखि ५० थरीका मोजा उत्पादन गर्ने गरेका छन्।


विभिन्न थरीका मोजामा जोडीको ३५ देखि ३५ सय रूपैयाँसम्मका मोजा उत्पादन गर्ने गरेको उनले बताए। पस्मिना, व्याम्बो, बनाना, कटनलगायत भिस्कोस (धागो) बाट उत्पादन गरेका मोजाहरू उत्पादन गर्ने गरेको उनले जानकारी गराए।

‘नेपालमा ३५ सय जाने मोजा बिक्री हुँदैनन्। व्यवसायीहरूद्वारा युरोपका विभिन्न देशमा गुणस्तरीय मोजाहरू जाने गरेका छन्,’ उनले भने, ‘नेताहरूलाई पनि थाहा छैन कि नेपालमा नै मोजा उत्पादन हुन्छ भन्ने। सरकारले विदेशबाट आएको हरेक सामानलाई प्रचारप्रसारका साथ सम्मान गर्दै भित्र्याउने गर्छन्। तर नेपालमा बनेको सामान कसैले थाहा पाउलान् कि भनेर गुपचुप राख्छन्।’

सरकारले मोजा उद्योग कपडा उद्योगभित्र नपर्ने भनेको हुँदा उद्यमी पोखरेलको सरकारप्रति ठुलो गुनासो रहेको छ। चीन तथा भारतबाट आएको मोजा तथा अन्य सामानको भन्सार बढाएमा नेपालको मोजा बिक्री हुन्छन् तर त्यस्तो नभएको उनी दुखेसो गर्छन्।

विभिन्न देशबाट आउने सरसामानको भन्सार बढाउने बित्तिकै नेपालमा बनेको हरेक सामानको उच्च सम्मानका साथ विदेशमा पनि बेचबिखन गर्न सकिन्छ,’ उनले भने, ‘सरकारले हाम्रो मर्म बुझिदिए। नेपाल तथा विदेशमा जति पनि खपत हुने मोजा हामी नेपालमा नै उत्पादन गर्न सक्छाैं।’ पोखरेलले उत्पादन गर्ने मोजामा लङ, हाफ, लोफर, लेडिज, बेबिज र स्कुलका विद्यार्थीले लगाउनेजस्ता विभिन किसिमका मोजाहरू रहेका छन्।

उद्योग धन्दा तथा कलकारखाना कम्पनी दर्तादेखि लिएर विद्युत प्राधिकरणमा समेत पाएको दुःखलाई स्मरण गर्दै भन्छन्, ‘मोजा उद्योगलाई कपडा उद्योगमा गाभियोस्। सरकारद्वारा पाइने सेवासुविधाबाट उद्यमीहरू बन्चित छन्।

उक्त व्यवसाय सञ्चालनमा लिएको ऋणको ब्याज सुरुमा ९ प्रतिशत थियो भने अहिले बढेर १५ प्रतिशत पुग्दा पनि सरकार चुप छ। उद्यमीहरू मर्कामा परेको सरकारलाई कुनै आपत्ति छैन।’ विदेशमा सिप सिकेर फर्केका व्यक्ति स्वदेशमा नै उक्त सिपलाई प्रयोजनमा ल्याउँछु भन्दा सरकारद्वारा पाइने सेवा सुविधाभन्दा बढी दुःख पाएका उद्यमीहरूको गुनासो छ।

वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २६ गते नेपालका उत्कृष्ट व्यवसायी बनेका ८ जना उद्यमीलाई राष्ट्रिय पुरस्कार तथा सम्मान पनि गरिएको थियो। ती उद्यमीलाई श्रम मन्त्रालयबाट राष्ट्रिय पुरस्कार तथा सम्मानसहित नगद पनि वितरण गरिएको थियो।

नगद ७५ हजार रूपैयाँ पाउने उद्यमीहरूमा कार्की र पोखरेललगायत उद्यमीहरू मनोज राय, सुवर्ण पोखरेल, महेन्द्र बानियाँ, नवीनकुमार राई, धनबहादुर धानुक, महेश ढकाल र सर्वोत्कृष्ट उद्यमी भनेर बाराका सरोज कोइरालालाई एक लाख ५० हजार रूपैयाँ श्रम मन्त्रालयबाट वितरण गरिएको थियो। उद्यमीहरूको कथा, व्यथा र पीडा सुन्नेका लागि प्रेरणादायी छ।

सरकारले उद्यमीप्रति चासो नदेखाए पनि वैदेशिक रोजगारमा आर्जन गरेको पुँजी र अनुभवलाई स्वदेशमा उपयोग गरी मुलुकको विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले सुवर्ण, मनोज, महेन्द्र, नवीन, सरोजजस्ता अन्य उद्यमीहरू आफ्नो व्यवसायलाई उत्कृष्ट बनाउन केही वर्षदेखि स्वदेशमा विभिन्न व्यवसायमा व्यस्त छन्।

Published on: 26 June 2023 | Nagarik

Link

Back to list

;