s

वैदेशिक रोजगारीमा ठगियो ५८ करोड, पीडितलाई १३ करोड मात्र !

Year of Publication: 9 March 2018 | Onlinekhabar

Publication Type: NEWS

Published by: CESLAM

रविन्द्र घिमिरे

संसद वा कुनै पनि राजनीतिक मञ्चमा भाषण गर्ने नेताहरुले नेपाली युवा विदेशिनु परेको कथा हाल्न छुटाउँदैनन् । तर, वैदेशिक रोजगार विभागमा पछिल्लो ७ महिनामा परेका उजुरीहरुको सूची हेर्दा त्यहाँ ६२८ जना दलालविरुद्ध ठगीको उजुरी परेको देखिन्छ । यो तथ्यांकले नेपालमा युवाहरुको बिक्री गरेर ठगीधन्दा चलाउनेहरुको गुणात्मक वृद्धिलाई स्पष्ट पार्छ ।

वैदेशिक रोजगार विभागमा पछिल्लो सात महिनाको अवधिमा ५८ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ । विभागमा ठगीका १२१४ वटा उजुरी दर्ता हुँदा पीडित युवाले आफूसँग ५७ करोड ९४ लाख रुपैयाँ ठगिएको दाबी गरेका छन् ।
 
चालु आर्थिक वर्षको माघ महिनासम्म विदेश पठाउने नाममा ठगी गर्ने ६२८ जना दलालविरुद्ध विभागमा उजुरी परेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । उनीहरुसँग पीडित कामदारले ४२ करोड ३८ लाख रुपैयाँ बिगो असुल उपर गरिदिन विभागसँग पीडितले माग गरेका छन् ।
 
त्यसैगरी माघ महिनासम्म विभिन्न म्यानपावर कम्पनीविरुद्ध ५८६ वटा उजुरी विभागमा परेका छन् । पीडित युवाले म्यानपावरसँग १५ करोड ५५ लाख रुपैयाँ उठाइदिन माग गर्दै उजुरी दिएका अधिकारीले जानकारी दिए ।
 
कुल ५७ करोड रुपैयाँ बिगोमध्ये विभागले कामदारलाई १३ करोड ६६ लाख रुपैयाँ रकम फिर्ता गरएको छ । दलालहरुले ठगेको १० करोड २६ लाख रुपैयाँ कामदारले फिर्ता पाएका छन् भने म्यानपावरले ३ करोड ३९ लाख रुपैयाँ मात्रै फिर्ता दिएका छन् ।
 
म्यानपावरलाई हाइसञ्चो
 
विभागले ७ महिनामा ७१२ वटा उजुरी आपसी सहमतिमा रकम लेनदेन गराएर फरफारक गरेको छ । विभागले यसबीचमा म्यानपावरविरुद्धको एउटै मुद्धा वैदेशिक रोजगार न्यायधीकरणमा दर्ता गरेको छैन भने दलालहरुविरुद्ध भने १४३ वटा मुद्दा दर्ता भएका छन् ।
 
विभागले ठगी गर्ने म्यानपावरविरुद्ध एउटै मुद्धा न्यायधिकरणमा लैजाने गरेको छैन । कामदारलाई १० हजारको बिल थमाएर लाखौं ठगी गर्दै आएका म्यानपावरविरुद्ध मुद्दा लड्न अहिले कामदारलाई प्रमाणको अभाव हुने गरेको छ ।
 
यो वर्ष पनि कामदारले बिगो दाबी गरेको झण्डै १२ करोड रुपैयाँ म्यानपावरले त्यसै पचाएका छन् । म्यानपावरविरुद्धका ६१९ मु्द्धा फस्र्योट गर्दा विभागले ३ करोड मात्रै बिगो भराएको छ ।
 
विभागले फितलो अनुसन्धान गर्ने र म्यानपावरहरुलाई उन्मुक्ति दिने गर्दा पनि पीडितले ठगिएको रकम फिर्ता पाउने अवस्था छैन । विभागका अधिकारीहरु म्यानपावरको आर्थिक प्रभावमा पर्ने भएकाले म्यानपावररुले ठगेपछि त्यो रकम कुनै हालतमा फिर्ता लिन नसकिने पीडितहरुको गुनासो छ ।
 
अहिले विदेश पठाउने बाहनामा ठगी गर्न दलालको गिरोह नै सक्रिय छ । आफू म्यानपावर सञ्चालक भएको दावी गर्दै ठग्नेहरुले पनि ठूलो रकम फिर्ता गरेका छैनन् ।
 
७ महिनाकाबीचमा पीडितले दाबी गरेको झण्डै ३२ करोड रुपैयाँ दलालबाट विभागले फिर्ता गराउन सकेको छैन । यो वर्ष दलालहरुविरुद्ध १८ करोड ३७ लाख रुपैयाँको बिगो दावी गर्दै न्यायधीकरणमा मुद्धा लगेको छ ।
 
‘धेरै पीडितले उजुरी नै गर्दैनन्’
 
न्याय नपाइने भएपछि अहिले पनि वैदेशिक रोजगारीका क्रममा हुने ठगीका अधिकांश पीडित विभागमा उजुरीका लागि जाँदैनन् । विदेशिने बाहनामा ठगिएका अधिकांश युवाले त उजुरी नै दिने गरेका छैनन् ।
 
धेरैजसो विदेशबाट फर्किएका युवाले विभागमा ठगिएको भन्दै उजुरी दिने गरेको प्रवक्ता अधिकारी बताउँछन् ।तत्काल न्यायको आशा नै नहुने अवस्थामा मुद्धा मामिलामा थप रकम खर्च हुने भन्दै उनीहरु पीडितहरु चुप बस्ने गरेको वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउँछन् ।
 
‘हतारमा विदेश जान लाग्दा ठगिएकाहरु थप लफडामा नपर्ने भन्दै फेरि विदेश जान अर्को प्रक्रिया थालिहाल्छन् । त्यसैकारण धेरै ठगीका घटना सरकारको जानकारीमा आउँदैन,’ पण्डित भन्छन् ।
 
विभागले ठगी गर्ने म्यानपावरविरुद्ध न्यायधीकरणमा मुद्दा नहालेको वर्षौं बितिसक्यो । ठगी गर्ने केहीमाथि समान्य विगो भराएर थप ठगी गर्न प्रोत्सहान गरिएको आरोप पीडितहरुको छ । कति पीडितको मुद्धालाई विभागले त्यसै ‘डिसमिस’ गराएको पीडित युवाहरुको आरोप छ ।
 
ठगी गर्नेलाई त्यसै उन्मुक्ति दिइरहँदा म्यानपावर ठग्नकै लागि थप प्रोत्साहित हुने विज्ञहरु बताउँछन् । विभागमा परेका उजुरीको फस्र्यौट गर्न ढिलाइ गर्दा ठगिएकाले थप निराशा भोग्नुपरेको छ ।
 
लेनदेनमै मिल्छ, कारवाही हुँदैन
 
तथ्यांकलाई आधार मान्दा विदेश पठाउने नाममा ठगी भएका अधिकांश उजुरीहरु विभागमै पीडितको ठगिएको रकममध्ये केही अंश दिलाएर मिलाइन्छ । ठग्नेहरुलाई कुनै कारवाही नै गरिँदैन । ठेगेपछि उजुरी परेहाले पनि थोरै कम दिएपछि विभागले नै कुरा मिलाइदिने गरेको छ ।
 
विभागबाट ठगी गर्नेमाथि कुनै कानुनी कारवाही पनि नहुने भएपछि दलाल तथा म्यानपावरलाई पनि ठगी गर्न थप अग्रसर हुने गरेको श्रम तथा रोजगार मन्त्रालयकै अधिकारीहरु स्वीकार्छन् ।
 
फरार रहेका दलालहरुविरुद्ध भने मुद्धा न्यायधीकरणमा पुगेको देखिन्छ । तर, सरकारले म्यानपावरबाट हुने ठगीलाई भने ‘अनदेखा’ गरिदिने गरेको तथ्यांकबाटै स्पष्ट हुन्छ । गत आर्थिक वर्ष ०७३/७४मा पनि म्यानपावरले ठगी गरेको भन्दै एउटा पनि मुद्धा विभागले अदालत लगेको थिएन ।
 
बिगत तीनवर्षदेखि विभागले ठगी गर्ने म्यानपावरविद्ध एउटा पनि मुद्धा न्यायाधीकरणमा दर्ता गरेको छैन । त्यसअघि पनि निकै कम मात्रामा यस्ता कसुरका म्यानपावरविरुद्ध मुद्धा दायर भएका थिए ।
 
सरकारले वैदेशिक रोजगारीमा काकदारलाई रोजगादाताले नै निःशुल्क भिसा र टिकेटको नीति लिएको छ । तर, म्यानपावर ब्यवसायीले यसलाई पालना नगरिदिँदा ठगीको समस्या झनै मौलाएको छ । ठगी गर्नेलाई कारवाही गर्न सरकार उदासीन हुुँदा पीडित कामदारको संख्या बढेको बढ्यै छ ।
 
गत आर्थिक वर्षमा पनि विभागमा २ हजार ३ सय ८३ वटा उजुरी दर्ता भएका थिए । पीडितले ७५ करोड ७८ लाख बिगो दावी गरेपनि विभागले १५ करोड ९४ लाख रुपैयाँ मात्रै फिर्ता गराएको थियो । यो वर्षको अन्तसम्म ठगीको यो गत वर्षभन्दा बढी हुने निश्चित रहेको विभागका अधिकारी बताउँछन् ।
 
Published on: 9 March 2018 | Onlinekhabar

Back to list

;