s

वैदेशिक रोजगारीमा महिलाको गर्विलो कथा

Year of Publication: 14 December 2022 | Nagarik

Published by: CESLAM

सविता खड्का

करिब सात महिनाअघि ललितपुर, कोञ्जोसोमकी सानुमाया तामाङलाई एकजना आफन्तले वैदेशिक रोजगारीमा गए आकर्षक तलब हुने बताए। रोजगारीको खोजीमा भौतारिइरहेकी उनलाई त्यो कुरा मन पर्‍यो। त्यसपछि करिब ५ महिनाअघि कुवेत गइन्।

दश कक्षा मात्रै अध्ययन गरेकी तामाङ गाउँमा घाँस, दाउरा गर्दै आजित भएकी थिइन्। केही नयाँ काम गर्ने सोच भए तापनि आफूसँग लगानी गर्ने पुँजी नभएपछि वैदेशिक रोजगारीको प्रस्तावले आकर्षित गर्‍यो। केही महिनाअघि कुबेत उडेकी तामाङ गाउँमा जति मेहनत गरे पनि खासै आर्थिक प्रगति हुने नदेखिएपछि वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगेको बताउँछिन्। ’राम्रो शिक्षा नभएकाले स्वदेशमा राम्रो रोजगारी पाउने सम्भावना थिएन,’ विदेश उड्नुअघि उनले भनेकी थिइन्।

उनले भनिन्, ‘नेपालमा केही काम गर्छु भने पनि भनेझैँ राम्रो जागिर छैन। छोरी मान्छे माइतीघर बसिरहँदा दुनियाँले कुरा काटेर हैरान। जाने कता त भन्दा विदेशबाहेक अरू केही विकल्प छैन। विदेशमा जति दुःख पाए पनि त्यो कसैले देख्दैनन्। नेपालमा बस्नु भन्दा दुःख पाएरै भए पनि विदेशमा बस्नु जाति हो।’ विदेशमा थोरै तलब भए तापनि न चाडपर्व मान्नुपर्छ न त इस्टमित्रकोमा जान खर्च नै हुन्छ। कमाएको लगभग पूरै पैसा जोगिने हुँदा प्रायः सबै मानिस वैदेशिक रोजगारीमा सुखमा हुने गरेको उनले बताइन्।

न देशमा रोजगारी छ न त सुरक्षा, न सुरक्षित आप्रवासन छ। महिला हिंसाविरुद्धका र सुरक्षित आप्रवासनका काम अझै पनि ‘संभावित र वास्तविक’ प्रवाभित महिलासम्म पुगेका छैनन्। धेरै सरकारी तथा गैरसरकारी स्रोत पनि बाटोमा नै चुहिन्छन्। थोपाथोपीका रूपमा पुगेका स्रोत पनि ‘रोगको कारणहरूमा भन्दा पनि लक्षणहरूमा’ मात्र काम गर्दा गर्दै सकिने तामाङले भनिन्।

त्यस्तै करिब तीन वर्ष साउदी अरेबिया बसेर फर्केकी ललितपुर, लेलेकी अमिना लामा पुनः विदेश जाने तयारीमा छिन्। तीन वर्षे वैदेशिक रोजगारी सन्तोषजनक भएको बताउने लामाले विदेशबाट फर्कनुअघि स्वदेशमै बस्ने योजना बनाए पनि गाउँमा बस्ने वातावरण नभएको बताइन्। ’दैनिक गुजारा चलाउन पनि गाउँमा कुनै अवसर भएन,’ उनले भनिन्, ’वैदेशिक रोजगारीमा गए मन लागेको लाउन, खान पाइने र घर फर्कंदा रकम पनि बचत हुन्छ। तर, गाउँमै बस्ने हो भने सधैँ गुजारा चलाउन हम्मेहम्मे पर्ने अवस्था छ।’

‘विदेशमा नेपाली महिला धेरै पीडित छन्। शोषित र पीडित महिला समाजमा बेइज्जत हुने डरले दबिएर आवाज उठाउन सकेका छैनन्। सरकारले युवामैत्री योजना ल्याए पनि कार्यान्वयन नगर्दा रोजगारीको खोजीमा रहेका धेरै महिला बेचविखनमा पर्न गरेका छन्। रोजगारीका नाममा धेरै महिला पीडित हुँदा उनीहरूको अधिकार हनन भइरहेको छ’ उनले भनिन्।

नेपालमा आर्थिक अवस्था कमजोर हुनुका साथै शिक्षामा पनि राम्रो सुधार नभएको लामा बताउँछिन्। यी दुई त प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू जस्तै रोजगारीको खोजीमा विदेशिने महिला संख्या पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो वर्ष ४९ हजार १ सय २८ जना महिला वैदेशिक रोजगारीमा गएकामा चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा १९ हजार १ सय ७१ जना महिलाले श्रम स्वीकृति लिएका तथ्याङ्क छ। वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको सुरुवातीसँगै वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढिरहेको छ।

अवैध बाटो प्रयोग गर्ने तथा पर्यटक भिसामा देश छाड्ने महिलाको संख्या जोड्ने हो भने यसपटक विदेशिने महिला विगतको तुलनामा निकै बढी हुने वैदेशिक रोजगार बोर्डका निर्देशक दीपक ढकालले बताए।

विशेषगरी घरेलु कामदारका रूपमा नेपाली महिलाको बढी माग हुने खाडी मुलुकमा नै हो। वैदेशिक रोजगारीमा जाने भनेपछि अनेक बाटा अपनाउँदै नेपाली महिला घरेलु कामदारका रूपमा खाडी मुलुकमा गइरहेकै छन्।

पछिल्लो समय वैदेशिक रोजगारीमा महिला संख्या बढ्दै जानुको कारणमा स्वदेशमा सानातिना अवसर पनि नपाउनुलाई मानिएको छ। खासगरी बढीमा एसएलसीसम्म अध्ययन गरेका धेरै महिलालाई यतिखेर वैदेशिक रोजगारीको वातावरणले लोभ्याइरहेको छ।

वैदेशिक रोजगार व्यवसायीका अनुसार गाउँमा जति मेहनत गर्दा पनि दुई/चार सय पनि कमाउन नसक्ने महिलाले विदेशमा वर्षमै तीन/चार लाख रूपैयाँसम्म कमाउन थालेपछि देखासिकी गर्ने क्रम बढेको छ। केही वर्षअघिसम्म वैदेशिक रोजगारीमा जाँदा समाजबाट अनेक लाञ्छना सुन्ने गरेका महिलालाई पछिल्लो समयमा विदेश जाँदा समाजले पनि सामान्यरूपमा लिन थालेको वैदेशिक रोजगारीलाई सूक्ष्म ढंगले अध्ययन गरिरहेका व्यक्तिहरू बताउँछन्।

केही व्यक्ति भने वैदेशिक रोजगारीमा महिला संख्या बढ्नुमा गाउँगाउँमा दलालको बिगबिगीलाई पनि कारण मान्छन्। सामान्य लेखपढ गरेका महिला सहजै दलालको प्रलोभनमा पर्ने गरेको पाइन्छ।

वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा महिला घरेलु कामदारका रूपमा जाने गर्छन्। यसरी जानेहरूमध्ये धेरैजसो घरेलु हिंसामा परेका, लेखपढ कम भएका, गरिब र पहुँच नभएका महिला हुन्। हिंसा प्रभावित, कम पढेलेखेका र आर्थिक अवस्था कमजोर भएकालाई काम र पैसासँग मात्रै सरोकार हुन्छ। त्यस्ता महिलालाई वैदेशिक रोजगारीमा जाँदा कसरी सुरक्षित हुनुपर्छ भन्नेबारे ज्ञान हुँदैन।

वैदेशिक रोजगारीमा जाने महिलाहरू बेचिने, यौनदासीका रूपमा बन्धक बनाइने, बलात्कृत हुने, गर्भवती हुने जस्ता समस्या अत्यधिक मात्रामा हुने गरेको निर्देशक ढकाल बताउँछन्। त्यस्ता महिलालाई स्वदेश फर्काइए पनि परिवारले नस्वीकार्ने र झन् मानसिक हिंसामा पर्ने गरेको उनको अनुभव छ।

आर्थिक अवस्था कमजोर भएका, घरपरिवारको एकल जिम्मेवारी भएका, घरेलु हिंसामा परेका महिला जसरी पनि विदेश जान पाए नेपालमा पाएको दुःखबाट उन्मुक्ति हुने थियो भन्ने सोच्छन्। यस्ता महिला अरूको भनाइमा छिट्टै बहकिन्छन्, जसले गर्दा उनीहरू दलालको फन्दामा पर्ने, ठगिने र बेचिने सम्भावना बढी भएको निर्देशक ढकालले बताए।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार महिलाको संस्थागत श्रम स्वीकृतिभन्दा व्यक्तिगत श्रम स्वीकृति बढी हुनु र विभागमा पर्ने उजुरीमा महिलाको संख्या अति नै न्यून हुनुले उनीहरू बेचबिखनमा पर्ने, बन्धक बनाइने तथा सम्पर्कविहीनरूपमा विदेशी भूमिमा आर्थिक, मानसिक तथा शारीरिक शोषणमा पर्ने गरेको देखाउँछ।

चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि साउनमा सबैभन्दा बढी मोरङबाट ४ सय ४३ जना महिला विदेश गएका छन्। त्यस्तै गरी भदौमा मकवानपुरबाट ४ सय ९४ जना र असोजमा झापाबाट ४ सय ३३ जना जना गएका पाइएको छ। वैदेशिक रोजगारीमा जाने महिलामध्ये साउन, भदौ र असोजमा सबैभन्दा धेरै युएई गएको विभागको तथ्यांकमा देखिन्छ।

वैदेशिक रोजगारी महिलाका लागि अभिशाप नै हो भन्न मिल्दैन। आर्थिक अवस्था कमजोर भएका, घरेलु हिंसाको चपेटामा परेका, श्रीमान्ले छाडेर बालबच्चासहित बिचल्लीमा परेका कतिपय महिलाले वैदेशिक रोजगारीमा गई आफ्नो र बच्चाको जीवन धानेका छन्। आफू परदेशिएर घरमा भरथेग गर्ने महिलाका गर्विला कथाले वैदेशिक रोजगारीलाई महिलाको सशक्तीकरण तथा आत्मनिर्भरताको पक्षबाट हेर्न बाध्य बनाउँछ।

सरकारले महिलालाई जीविकोपार्जन उन्मुख गराउने नीति ल्याउनुपर्छ। महिलालाई जनचेतनामूलक कार्यक्रमसँगै, आर्थिक सशक्तीकरणको कार्यक्रम ल्याएमा कुनै पनि महिला रोजगारीका लागि बाध्यतावश विदेश जानुपर्दैन।

Published on: 14 December 2022 | Nagarik

Link

Back to list

;