s

वैदेशिक रोजगारीमा जानु अघिको परामर्श प्रभावकारी बन्दै

Year of Publication: 13 February 2023 | Kantipur

Published by: CESLAM

शंकर आचार्य

पर्सा — बिन्दबासिनी गाउँपालिका–५ का ५० वर्षीय चन्द्रिका मुखिया बिन जिल्ला प्रशासन कार्यालय पर्सा परिसरस्थित आप्रबासी स्रोत केन्द्र कार्यालयमा शुक्रबार मलिन अनुहार लिएर आइपुगे । २०१५ मार्च २५ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका जवान छोरा अजय मुखिया बिनको २०२२ सेम्प्टेम्बर ३० मा मलेसियाकै एक उद्योगमा रोजगारीका क्रममा मृत्यु भयो ।

२ साता अघि जवान छोराको शव बाकसमा आएपछि चन्द्रिकाले छोराको दाहसंस्कार गरे । ४ नाबालिग नातिनीहरु र शोकमा रहेकी बुहारीको अभिभावक बनेका चन्द्रिका केही क्षतिपूर्ति पाइने आशामा आप्रबासी स्रोत केन्द्रको कार्यालय धाइरहेका छन् ।केन्द्रकी परामर्शदाता देउता रिजालका अनुसार अजय ३ वर्षको श्रम स्विकृति लिएर मलेसिया गएका थिए तर त्यहाँ कार्यरत् रहँदा श्रम स्विकृतिको अवधि सकिएपछि मलेसियाली अर्को कम्पनीले श्रम स्विकृति दिलाउने आश्वासन दियो । अजय श्रम स्विकृति बिना नै काम गरिरहँदा मृत्यु भएको रिजालले बताइन् ।

श्रम स्वीकृति नभएकै कारण अजयका परिवारजनले वैदेशिक रोजगारी बोर्डको सचिवालयबाट पाउने ७ लाख रुपैयाँ, बिमा कम्पनीबाट पाउने १४ लाख रुपैयाँ र नाबालक सन्तानले कक्षा १२ सम्म निःशुल्क शिक्षा लिन पाउने सुविधाबाट समेत वञ्चित हुनु परेको उनले बताइन् । अब परिवारजनले वैदेशिक रोजगारी बोर्डबाट सान्त्वना रकम वापत २५ हजार रुपैयाँ मात्र पाउने छ । ‘श्रम स्विकृति लिएको अवस्था हुन्थ्यो भने अहिले २१ लाख रुपैयाँ र सन्तानले १२ कक्षासम्म निःशुल्क शिक्षाको अवसर पाउने रहेछन्,’ चन्द्रिकाले भने ।’

केन्द्रमै राहदानी नवीकरणको लागि सिफारिस लिन आएका जगरनाथपुर गाउँपालिका–५ मसिहानीका २८ वर्षीय गणेश महतो धानुकले आफू पनि रोजगारीका लागि मलेसिया जाने तयारीमा रहेको बताए । ‘यसअघि कतारमा ३ वर्ष रोजगारी गरेर फर्किएको हुँ, अब मलेसिया जाने तयारीमा छु’ उनले भने, ‘यहाँ आएर पाइएको परामर्श निक्कै फलदायी छ, वैदेशिक रोजगारीमा जानुअघि जान्नै पर्ने केही नियम/कानुन मैले पनि जानेँ, अब त्यसलाई व्यवहारमा लागू गर्ने छु ।’

परामर्शदाता रिजालले वैदेशिक रोजगारीमा जानेलाई सुरक्षित र मर्यादित बनाउने प्रयास केन्द्रले गर्दै आएको बताइन् । ‘केन्द्रमा आउनेलाई हामी सुरुमा सिप सिकेर स्वदेशमै रोजगारी गर्न प्रेरित गर्छौ,’ उनले भनिन्, ‘तर उनीहरुले वैदेशिक रोजगारीमै जान चाहेमा अपनाउनु पर्ने सावधानी र नियम कानुनबारे आवश्यक परामर्श दिने गरेका छौं ।’

वैदेशिक रोजगारीमा जान लागेकालाई त्यहाँबाट आएको श्रम मागबारे सुझबुझ गर्ने, स्वदेशको विमानस्थल मात्र प्रयोग गरेर जाने, भिसा जाँच गर्ने, राहदानी लगायत अन्य कागजातको सुरक्षा, सम्बन्धित देशका श्रम सहचारी र सहयोगी निकायहरुको सम्पर्क टेलिफोन नम्बर आदि उपलब्ध गराउने गरिएको उनले बताइन् । हाल केन्द्रमा दैनिक ४० देखि ८० जनाले परामर्श लिने गरेको उनले बताइन् ।

हेल्भेटास नेपालको प्राविधिक तथा वीरगन्ज महानगरपालिका कार्यालयको सहयोगमा दिव्य युवा क्लवले २०७८ वैशाख ८ देखि सञ्चालनमा ल्याएको केन्द्रमा हालसम्म ९ हजार २ सय ३५ जनालाई आवश्यक परामर्श दिइसकेको रिजालले बताइन् । यस बाहेक स्थापनाकाल देखि हालसम्म केन्द्रमा ठगी, रोजगारीमा फरक काममा लगाएको, कम तलब दिएको, उद्धार र मृत्यु पछि शव नल्याइएको जस्ता गुनासामा आधारित १ सय ६६ उजुरी तथा निवेदन परेको उनले बताइन् । ‘केन्द्रले यस्ता उजुरी तथा निवेदनहरुमा आवश्यक काम कारवाहीका लागि सहजीकरण पनि गर्ने गरेको छ,’ उनले भनिन्, ‘वैदेशिक रोजगारीमा जानेहरुले केन्द्रको सिफारिस अनिवार्य रुपले लिनु पर्ने प्रावधान छ ।’

Published on: 13 February 2023 | Kantipur

Link

Back to list

;