s

वैदेशिक रोजगारीमा जाने युवाले पाउँछन् सहकारीबाट ऋण

Year of Publication: 8 July 2024 | Nagarik

Published by: CESLAM

सुर्खेतको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ऋण दिँदै आएको छ। सहकारीका सदस्य रहेका युवाका लागि ऋण दिने गरिएको सहकारीले जनाएको छ। सहकारीले हालसम्म सात जना वैदेशिक रोजगारीमा गएका सदस्यहरूलाई ४८ लाख ८१ हजार सात सय ६ रुपैयाँ ऋण दिएको जनाएको छ।

‘सहकारीले वैदेशिक रोजगारीमा जान चाहने सदस्यहरूका लागि ऋण लगानीको व्यवस्था गरेको छ’, सहकारीका अध्यक्ष बमबहादुर बिसीले भने, ‘यो सुविधाले सहकारी सदस्यहरू वैदेशिक रोजगारीबाट आयआर्जन गरी जीविकोपार्जन तथा देशमा रेमिट्यान्स भित्र्याइरहेका छन्।’

सहकारीले उच्च शिक्षा अध्ययनन गर्न चाहने सेयर सदस्यका छोराछोरीमाथि पनि लगानी गर्ने गरेको छ। सेयर सदस्यका छोराछोरीका लागि शैक्षिण ऋणको व्यवस्था गरिएको अध्यक्ष बिसीले जानकारी लिए।

‘हालसम्म शैक्षिक ऋण शीर्षकमा ३५ लाख २५ हजार आठ सय ६० रुपैयाँ लगानी गरिएको छ’, उनले भने, ‘सहकारीमार्फत प्राप्त शैक्षिक ऋण लिएर अध्ययन गरेकाहरु अहिले इन्जिनियर, डाक्टर र प्राध्यापक हुनुहुन्छ।’

सहकारीले कृषि तथा पशुपालनतर्फ एक करोड ६५ लाख ६५ हजार एक सय ८१ रुपैयाँ लगानी गरेको छ। ‘तरकारी खेती, कुखुरापालन, बाख्रापालन, भैसीपालन व्यवसायमार्फत सेयर सदस्यहरूलाई स्वरोजगार बनाउने लक्ष्य सहकारी हो’, बिसीले भने, ‘यसले कृषि तथा पशुपालन व्यवसाय बढ्नुका साथै आयआर्जनमार्फत जीवनस्तरमा पनि सुधार आएको छ।

चालु आर्थिक वर्षको असार १५ सम्म सहकारीले व्यवसाय शीर्षकमा ५७ करोड ८३ लाख ९६ हजार ६ सय ५९ रुपैयाँ लगानी गरेको छ। यसबाट प्रदेश राजधानीमा ठूला होटल तथा थोक व्यवसाय सञ्चालन भइरहेको सहकारीले जनाएको छ। सहकारीले ठूलो लगानीबाट रोजगारी सृजना हुनुका साथै ठुला व्यवसायीले तिरेको करले सरकारी आयमा पनि योगदान पुगेको जनाएको छ।

यही अवधिमा सहकारीले हायरपर्चेज शीर्षकमा चार करोड ४१ लाख ६८ हजार लगानी गरेको छ। सहकारीले लघुउद्यम शीर्षकमा दुई करोड ९८ लाख ७४ हजार ऋण लगानी गरेको छ भने युवा स्वरोजगार कोषसँगको सहकार्यमा ५८ लाख ५८ हजार २३५ रुपैयाँ सेयर सदस्यहरूलाई लगानी गरेको छ।

सहकारीका प्रवन्ध निर्देशक छत्र थापाले चालु आवको असार १५ सम्म विभिन्न शीर्षकमा गरेर ९४ करोड ७४ लाख पाँच हजार ७६८ रुपैयाँ ऋण लगानी रहेको बताए।

सहकारीको सेयर पुँजी १५ करोड चार लाख २१ हजार सात सय रुपैयाँ छ भने बचततर्फ ७६ करोड ३२ लाख ४१ हजार आठ सय ८८ रुपैयाँ रहेको थापाले जानकारी दिए।

यस्तै बाह्य ऋण १८ करोड ७६ लाख ९३ हजार चार सय ३२ रुपैयाँ छ भने तिर्नुपर्ने दायित्व तीन लाख ७२ हजार सात सय ८८ रुपैयाँ छ।

सहकारीसँग असार १५ सम्म ४६ लाख ५० हजार ८१८ रुपैयाँ नगद मौज्दान छ भने बैंक मौज्दात १८ करोड ३७ लाख ४७ हजार ९८८ रुपैयाँ छ। सहकारीसँग स्थिर सम्पत्ति चार करोड ६३ लाख ४५ हजार तीन सय ८८ रुपैयाँ छ भने अन्य सम्पत्ति दुई करोड ५२ लाख ९२ हजार चार सय ३२ रुपैयाँ छ।

समग्रमा सहकारीको सम्पत्ति असार १५ गतेसम्म एक अर्ब २२ करोड ९५ लाख ४३हजार ४२८ रुपैयाँ छ।

सहकारीले चालु आवमा ३६ जना सुत्केरी सदस्यहरूलाई दुई हजारका दरले ७२ हजार सुत्केरी स्याहार खर्च, १० जना मृतक सेयर सदस्यहरूलाई दुई लाख मृत्यु राहत खर्च, दुर्घटना तथा कालगतिले मृत्यु भएका तीन जना सेयर सदस्यहरूका परिवारलाई १० लाख ६५ हजार रुपैयाँ उपलब्ध गराइएको प्रबन्ध निर्देशक थापाले जानकारी दिए।

‘ऋणी सदस्यको दुर्घटना वा कालगतिले मृत्यु भएमा घरपरिवारका सदस्यलाई ऋणको भार बोक्नु नपरोस् भन्ने हेतुले ऋणको म्यादी बिमा गर्ने परम्परा बसाएका छौं’, थापाले भने, ‘जसमा यस वर्ष तीन जना सदस्यहरूले उक्त बिमावापतको रकम उपलब्ध गराएका छौं।’

यस्तै ४५ जना सेयर सदस्यहरूलाई सीपमूलक तालिम दिइनुका साथै सदस्यहरूको कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषवापत नौ लाख ४९ हजार रकम वितरण गरिएको उनले जानकारी दिए।

प्रबन्ध निर्देशक थापाले सहकारीले आफ्नो २३औं स्थापना दिवसका अवसरमा विभिन्न विधामा उत्कृष्ट कारोवार गर्ने चार सय ६७ जना सदस्यहरूलाई तीन लाख ४८ हजार आठ सय रुपैयाँबराबरको पुरस्कार प्रदान गरिएको, सदस्यहरूलाई बचत गर्ने बानीको विकास गराउन बचतमा विविधिकरण गरी आकर्षक प्रतिफल प्राप्त गर्ने गरी हरेक तीन–तीन महिनामा ब्याज प्रदान गर्ने गरिएको जानकारी दिए।

२०५८ सालमा २७ जना मिलेर स्थापना गरिएको यो सहकारीमा अहिले २३ हजार चार सय ८८ सेयर सदस्य छन्। सहकारीको जिल्लाभर १३ वटा सेवा केन्द्र र एउटा मुख्य कार्यालय छ।

Published on: 8 July 2024 | Nagarik

Link

Back to list

;