s

वैदेशिक रोजगारीमा जाने बढ्न थाले

Year of Publication: 19 April 2021 | Nagarik

Published by: CESLAM

रुद्र खड्का

पहिलो चरणको कोरोना महामारीका कारण करिब ठप्पको अवस्थामा पुगेको वैदेशिक रोजगारीमा पुनः चहलपहल बढ्न थालेको छ। स्वदेशमा रोजगारी नपाएका युवा रोजगारीका लागि विदेश जाने क्रम बढ्न थालेको हो।  

कोरोना महामारीका कारण सरकाले गत वर्ष चैतदेखि असोजसम्म नयाँ श्रमस्वीकृति दिन बन्द गरेको थियो। फलस्वरूप ठूलो संख्याका श्रमिक वैदेशिक रोजगारीमा जान पाएनन्। वैदेशिक रोजगार विभागका अनुसार मंसिरपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्न थालेको हो। तैपनि कोरोना महामारीअघिको तुलनामा रोजगारीका लागि बिदेसिनेको अनुपात कमै छ।  

कोरोनाअघि दैनिक १५ सय हाराहारी श्रमस्वीकृति लिएर बिदेसिन्थे। मंसिरपछि दैनिक ६–७ सय बिदेसिने गरेको विभागले जनाएको छ। वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आउँदा आगामी दिनमा रेमिटेन्स घट्न सक्ने अनुमान छ। तर अहिलेसम्म रेमिटेन्स आप्रवाहमा खासै गिरावट आइसकेको छैन।  

आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा करिब चार अर्ब रूपैयाँले घटेको रेमिटेन्स चालु आर्थिक वर्षमा खासै घटेको छैन। नेपाल राष्ट्र बैंकका अनुसार आव २०७५/०७६ मा आठ खर्ब ७९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा आव २०७६/०७७ मा आठ खर्ब ७५ अर्ब रूपैयाँ भित्रिएको थियो। चालु आर्थिक वर्षको आठ महिनामा (साउन–फागुन) ६ खर्ब ४२ अर्ब १४ रूपैयाँ रेमिटेन्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.६ प्रतिशतले बढी हो।  

कोरोना महामारीपछि वैदेशिक रोजगारीमा गएकामध्ये थोरै मात्र घर फर्केेको र विदेशमा रहेकाले बैंकिङ च्यानलबाट रेमिटेन्स पठाएकाले हालसम्म रेमिटेन्स आप्रवाहमा गिरावट नआएको बताइन्छ। विभागका अनुसार फागुनमा श्रमस्वीकृति लिएर १९ हजार आठ सय कामदार वैदेशिक रोजगारीमा गए। माघमा यस्तो संख्या १७ हजार आठ सय ८७ थियो।  

त्यस्तै, श्रमस्वीकृति लिएर पुसमा १४ हजार सात सय ५३, मंसिरमा १२ हजार चार सय र कात्तिकमा सात हजार सात सय ९७ विदेश गएका थिए। असोजमा आठ हजार ९७, भदौमा एक हजार पाँच सय २५ र साउनमा तीन हजार एक सय ५२ ले वैदेशिक रोजगारीको बाटो रोजेको विभागले जनाएको छ।  

अर्थशास्त्रीहरू वैदेशिक रोजगारीमा जान नसकेकालाई चाँडोभन्दा चाँडो स्वदेशमा रोजगारीको अवसर दिन नसक्ने हो भने समस्या थपिँदै जाने बताउँछन्। केन्द्रीय तथ्यांक विभागका अनुसार कोरोना महामारी अघिसम्म विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्स देशको ५६ प्रतिशत घरधुरीमा प्रत्यक्ष पुग्ने गथ्र्यो। अहिले वैदेशिक रोजगारीमा रहेकाको श्रमस्वीकृति सकिँदै जाँदा विस्तारै त्यो संख्या घटेपछि रेमिटेन्समा गिरावट आउन सक्ने विज्ञहरूको अनुमान छ। कोरोनाका कारण सबभन्दा ठूलो रोजगार गन्तव्यको रूपमा चिनिएको मलेसिया खुल्न सकेको छैन। त्यस्तै, राम्रो पारिश्रमिक पाइने कोरिया रोजगारी बन्द छ। नेपालको गरिबी घटाउन रेमिटेन्सले महŒवपूर्ण भूमिका खेलिरहेको विज्ञहरू बताउँछन्।  

साउदीबाट १५ हजार माग प्रमाणीकरण 

कोरोना महामारीका कारण कैयौं गन्तव्य मुलुकको रोजगारी बन्द रहेका बेला साउदी अरेबियाबाट भने कामदारको माग बढ्न थालेको छ। साउदीस्थित नेपाली राजदूताजासका श्रम काउन्सेलर जीवन राईका अनुसार पछिल्लो दुई महिनामा साउदीका रोजगारदाताको माग बमोजिम १५ हजार मागपत्र प्रमाणीकरण गरिएको छ।  

कानुन अनुसार सबभन्दा पहिला विदेशी रोजगारदाताले कामदारको माग गरेर सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगमा निवेदन दिनुपर्छ। नेपाली नियोगले मागपत्रलाई प्रमाणित गरेपछि मात्र म्यानपावर व्यवसायीले सूचना प्रकाशन गरी कामदार छनोट गर्न पाउँछन्। 

कोरोना महामारीका कारण रोकिएको मागपत्र प्रमाणीकरण साउदीस्थित नेपाली राजदूतावासले माग २४ देखि सुरु गरेको हो। राईले करिब १० महिना रोकिएको मागपत्र सुचारु भएपछि यतिखेर निकै चाप बढेको बताए। ‘एकातिर कामदारको माग बढेको छ भने अर्कोतर्फ विभागको अनलाइन प्रणाली राजदूतावासको नेटवर्किङ प्रणालीबीच समन्वय नहुँदा प्रमाणित मागपत्रलाई स्क्यान गरी अपलोड गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयको अनलाइन नेटवर्किङबीच समन्वय भएर यस्तो समस्या समाधान गर्न पाए हुन्थ्यो भन्ने हाम्रो चाहना छ।’ कोरोना महामारी सुरु हुनुअघि साउदीबाट महिनामा तीन हजार हाराहारी मागपत्र आउने गरेको बताइन्छ। हाल रोजगारीका लागि साउदीमा करिब तीन लाख नेपाली छन्।

Published on: 19 April 2021 | Nagarik

Link

Back to list

;