s

वैदेशिक रोजगारीमा गएकाका आफन्तका पीडा : ‘आउँछु भनेर आस देखाए, फर्किएनन्’

Year of Publication: 17 December 2019 | Kantipur

Published by: CESLAM

होम कार्की

 ‘तिम्रो श्रीमान्‌लाई मेरै आँखा अगाडि गाडीले हान्यो । प्रहरीले अस्पताल लिएर गएको छ’ भनेर ०७२ पुस २ मा साउदी अरबबाट पूजा गुरुङलाई फोन आयो । फोन गर्ने पूजाका श्रीमान् गणेश गुरुङका साथी थिए । उनले फोनमा भनेका थिए, ‘गणेशलाई कुन अस्पतालमा लगिएको छ भन्ने हामीलाई थाहा छैन ।’

मलेसियाको डिपोर्टेसन सेन्टरमा रहेका उदयपुरका सोमबहादुर तामाङ । १० वर्षअघि मलेसिया गएका श्रीमान् शुक्रे राईको तस्बिर देखाउँदै सिन्धुली, छापामारी खोलाकी सरिता राई । ०७२ पुसमा साउदी अरब गएका गोरखाका गणेश गुरुङ र उनको खोजीमा रहेकी पत्नी पूजा । तस्बिर : कान्तिपुर

गण्डकी गाउँपालिका–५, केराबारीका २७ वर्षीय गणेश ०७२ जेठ ४ मा साउदी गएका थिए । त्यहाँको रियादस्थित महरा कम्पनीमा म्यानपावरले ८ सय रियाल तलब पाउने गरी उनलाई पठाएको थियो । महरा कम्पनीले एउटा होटलमा वेटरको काममा पठाएको थियो । तर, ५ महिनामै कम्पनी छाडेर उनी ‘इलिगल’ बनेका थिए ।

गणेशका बारेमा सूचना दिने ती व्यक्ति सम्पर्कमा छैनन् । काखे बच्चा लिएर पूजा त्यो दिनदेखि गणेशको हालखबर बुझ्न सम्बन्धित निकायलाई गुहारिन् । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा हप्तैपिच्छे पुगिन् । वैदेशिक रोजगार विभाग गइन् । नेपाली दूतावासलाई बारम्बार फोन गरिरहिन् । तर, अहिलेसम्म कतैबाट केही खबर आएको छैन ।

उनी श्रीमान्‌को खोजीका लागि भौंतारिएको चार वर्ष भइसक्यो । ‘मेरो श्रीमान् जिउँदै छन् कि मरे, केही थाहा छैन । यसबारे कसैले जवाफ दिएको छैन,’ उनले भनिन् । उनका धेरै आफन्त साउदी अरबमा कार्यरत छन् । ‘कमसेकम कुन अस्पतालमा उपचार गरिएको हो भन्नेमात्रै थाहा पाउन पाए पनि हुन्थ्यो,’ उनले भनिन्, ‘त्यो अस्पतालमा बुझ्न आफन्तलाई पठाउन हुन्थ्यो ।’ सूचना दिने पनि कम्पनी छाडेर अवैध रूपमा बस्दै आएका कामदारका सुपरभाइजर थिए । उनले भागेर काम गर्ने कम्पनी पनि बताएनन् । ‘अहिले म एउटा होटलमा काम गरिरहेको छु । मसँग ७ वर्षको छोरा छ । दु:ख गरी छोरालाई हुर्काइरहेकी छु,’ २८ वर्षीया पूजाले भनिन्, ‘श्रीमान्‌को सही सूचना नपाउँदा एकदमै मानसिक तनाव ब्यहोरिरहेको छु ।’

छापामारी खोला, सिन्धुलीका ३८ वर्षीया सरिता राईका ३९ वर्षीय श्रीमान् शुक्रे राई मलेसिया गएको १० वर्ष पुग्दै छ । शुक्रे मलेसिया टेकेदेखि नै नेपाल फर्किएका छैनन् । उतै फिलिपिनो युवती लिएर बसेका छन् । शुक्रे पछिल्लो एक वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । अन्तिमचोटि शुक्रेसँग सरिताको दुई घण्टा भिडियो संवाद भएको थियो । त्यो दिन शुक्रे रोएका थिए । आफूले जंगलमा निकै दु:ख पाएको र आफूले काम गर्ने ठाउँ भिडियोमा देखाएका थिए । ‘मलाई यहाँबाट निकाली दे । म नेपाल आउन चाहन्छु । तिमीहरूको निकै माया लाग्छ भन्नुभएको थियो,’ सरिताले भनिन्, ‘त्यसरी नेपाल आउने सपना हामीलाई देखाएका थिए । तर, उनी आफैं हराए ।’

सरितासँग भएको शुक्रेको नम्बरमा फोन लाग्दैन । ‘जतिखेर पनि व्यस्त देखाउँछ । हाम्रो नम्बरलाई ब्लक गरिदिएको छ कि जस्तो लागेको छ,’ उनले भनिन्, ‘हामीलाई आउँछु भनेर आशा देखाए । मान्छे आउनु त परै जाओस् सम्पर्कमै आउन छाडे ।’

उनीहरूका तीन सन्तान छन् । जेठो छोरा २५ वर्ष, छोरी १७, छोरा १५ वर्षका छन् । ‘मैले कीर्तिपुरमा घरमा काम गरेर बच्चाहरूलाई पढाउँदै आएको छु । नियमित घरभाडा तिर्न नै मुस्किल छ,’ उनले भनिन्, ‘मलेसियाको पैसा हामीलाई चाहिएन । मान्छेमात्रै सकुशल आइदिए हुन्थ्यो ।’

लामो समय मलेसियामै बसेर आफ्नै घरठेगाना भुल्नेहरू पनि छन् । उदयपुरका सोमबहादुर तामाङ मलेसियाको डिपोर्टेसन सेन्टरमा छन् । उनी १७ वर्षअघि अर्काको राहदानीमा फोटो परिवर्तन गरी १४ वर्षको उमेरमा मलेसियामा आफ्ना भिनाजु गंगावीर तामाङसँग गएका थिए । उनी नेपाली भाषासमेत बोल्न सक्तैनन् । मले भाषा भने बोल्छन् । उनका भिनाजुको मृत्यु भइसकेको छ । मलेसियाको जोहरवारुस्थित प्लास्टिक कम्पनीमा अवैध रूपमा काम गर्थे । इन्डोनेसियाली युवतीसँग बिहे गरी बसेका थिए । ‘सोमबहादुरले आफू उदयपुरको कुन ठाउँको हो भन्ने बताउन सक्तैनन्,’ डिपोर्टेसन सेन्टरमै भेट गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले भने, ‘उनी डम्बरबहादुर बस्नेत भन्ने उनको साथीलाई मात्र चिन्छन् । बाबुआमाको नाम पनि थाहा छैन । उनी नेपाली भन्ने प्रमाण पुर्‍याउन नसक्दा ट्राभल डकुमेन्ट दिई नेपाल फर्काउन सकिएको छैन ।’

वैदेशिक रोजगारमा गएका नेपाली कति जना परिवारको सम्पर्कमा छैनन् भन्ने यकिन विवरण कसैसित पनि छैन । विदेशमा हराइरहेका कामदारको खोजीका लागि काम गर्दै आइरहेको प्रवासी नेपाली समन्वय समितिमा सात वर्षमा ३ सय ८८ जना परिवारले खोजीका लागि निवेदन दिएका छन् । जसमा ७५ जना महिला छन् । सम्पर्कविहीनमध्ये २ सय ३१ जनामात्रै भेटिए । सबभन्दा बढी मलेसिया जानेहरू परिवारको सम्पर्कमा छैनन् । मलेसियामा मात्रै २ सय जना, साउदी अरब ६७, कुवेत ४६, यूएईमा २३, कतारमा २२ र अन्य देशमा ३० जना परिवारको सम्पर्कमा छैनन् ।

‘विदेशमा जेल पर्ने, बाह्य युवतीसँग लिभिङ टुगेदारमा बस्ने, पारिवारिक मनमुटाव हुने, विदेशमा मृत्यु हुने, दुर्घटनामा पर्नुका साथै रोजगारदाताले घरेलु कामदारलाई बन्धक बनाएर काम गराउने प्रवृत्तिले परिवारसँग सम्पर्क टुटेको देखिन्छ,’ प्रवासी नेपाली समन्वय समितिका कार्यकारी अधिकृत सोम लामिछानेले भने ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले परिवारसँग सम्पर्कविहीन भएका कामदारलाई पुनर्मिलन गराउन नेपाली दूतावासहरूसँग समन्वय भइरहेको बताए । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बेपत्ता कामदारहरूको खोजीका लागि मलेसिया सरकारसँग नियमित समन्वय भइरहेको बताए । ‘हामीले सूचना पाउनेबित्तिकै जेल भ्रमण गर्ने, मलेसिया सरकारको विभिन्न निकायमा सम्पर्क गर्नेदेखि मलेसियामै रहेका नेपाली समुदायको परिचालन गर्ने काम गर्छौं,’ उनले भने ।

Published on: 17 December 2019 | Kantipur

Link

Back to list

;