s

वैदेशिक रोजगारीलाई खोपको अवरोध

Year of Publication: 2 July 2021 | Nagarik

Published by: CESLAM

रुद्र खड्का 

एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो। यसैबीच, गन्तव्य मुलुकका रोजगारदाताले श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गर्न थालेपछि पुनः वैदेशिक रोजगारी प्रभावित हुने देखिएको हो। 

हालसम्म संयुक्त अरब इमिरेट्स र कुवेतले रोजगारीका लागि आफ्नो मुलुक प्रवेश गर्ने श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गरेका छन् भने साउदी अरेबिया, ओमान, बहराइन पनि सोही बाटोमा अघि बढेको व्यवसायीले बताएका छन्। नेपालको ठूलो गन्तव्य मलेसियाले डेढ वर्षदेखि नेपाली श्रमिक लिएको छैन। 

सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नसक्दा लामो समयदेखि बेरोजगार भएका युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भइरहेको म्यानपावर व्यवसायी बताउँछन्। 

‘सरकारले कोरोनाविरुद्धको खोप खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउँदासम्म वैदेशिक रोजगारी शून्यमा झर्ने खतरा देखिएको छ,’ म्यानपावर व्यवसायीले भने, ‘गन्तव्य मुलुकका रोजगारदाताको कुरा सुन्दा कोरोनाविरुद्धको खोप नलगाई नेपाली कामदार वैदेशिक रोजगारीमा जान पाउलान् जस्तो दैखिँदैन। यता सरकारले तत्काल खोप ल्याएर सर्वसाधारणलाई उपलब्ध गराउला जस्तो  पनि छैन।’ 

कोरोना महामारीको संक्रमण केही घटेको जस्तो देखिएपछि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति खुला गरेको छ। तर गन्तव्य मुलुकका रोजगारदाताले कामदार मागमा त्यत्ति जोड नगरेको व्यवसायी बताउँछन्। 

‘यतिखेर धेरैजसो रोजगारदाता श्रमिकलाई बोलाउनुअघि कोरोनाविरुद्ध खोप लगाए/नलगाएकोमा पनि ध्यान दिइरहेका छन्,’ उनले भने, ‘सरकारले चाँडै खोपको व्यवस्था गर्न सके त त्यति असर नपर्ला, नत्र वैदेशिक रोजगारी पुनः ठप्प हुने र यसको असर बेरोजगार युवालाई पर्ने देखिएको छ।’ 

कोरोना महामारीपछि विदेशमा मात्र नभई स्वदेशमा समेत रोजगारीका अवसर खुम्चेका छन्। कैयौं श्रमिकको रोजगारी कटौतीमा परेको छ भने कैयौंको पारिश्रमिक कटौती भएको छ। महामारीका कारण दैनिक गुजारा चलाउन समस्या भएपछि ठूलो संख्याका युवायुवती सहज वैदेशिक रोजगारीको पर्खाइमा छन्। 

एक वर्षदेखि वैदेशिक रोजगारीमा जान खोजिरहेको बताउने रामेछाप, मन्थलीका अर्जुन कार्कीले महामारीपछि गुजारा चलाउने खालको रोजगारी पाउन समस्या भइरहेको बताए। ‘अब वैदेशिक रोजगारीमा गएर कमाउन नसक्ने हो भने घरपरिवार भोकभोकै होला जस्तो छ,’ उनले भने, ‘स्वदेशमा रोजगारीका अवसर दिन नसक्ने सरकारले कमसेकम विदेश जाने माहोललाई सजिलो बनाइदिनु पर्छ।’ 

वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई लामो समयदेखि निःशुल्क कानुनी सहायता प्रदान गर्दै आइरहेको पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेल तत्काल देखिएको समस्या समाधानका लागि सरकारले स्थानीय र अन्तर्राष्ट्रिय तहमा पहल गर्न आवश्यक रहेको बताए। 

‘सरकारले पहिलो काम श्रम स्वीकृति लिनेलाई कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिनुपर्छ भने दोस्रो काम गन्तव्य मुलुकमा रहेका सबै नेपाली श्रमिकलाई कोरोनाविरुद्धको खोप लगाउन कूटनीतिक रूपमा पहल गर्नुपर्छ,’ उनले भने। अन्तर्राष्ट्रिय मञ्चहरूमा सबै श्रमिकले विभेदरहित तरिकाले कोरोनाविरुद्धको खोप पाउने सुनिश्चितता गर्न पनि ढिला गर्न नहुने लुइँटेलको सुझाव छ। 

कैयैं गन्तव्य मुलुकले आफ्ना नागरिकलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप दिए पनि त्यही कार्यरत नेपाल लगायतका आप्रवासी श्रमिकलाई खोपमा प्राथमिकता नदिएको गुनासो व्याप्त छ। 

व्यवसायीका अनुसार अहिलेसम्म कोरोनाविरुद्ध खोप नलगाई जाने श्रमिकलाई कतिपय गन्तव्य मुलुकले होटल क्वारेन्टिनमा बस्न अनिवार्य गर्ने र यसरी बस्दा ९० हजार रूपैयाँभन्दा बढी खर्च हुने गरेको छ। तर कैयौं रोजगारदाताले क्वारेन्टिनमा बस्दा झन्झट र खर्चिलो हुने भन्दै श्रमिकलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको बताइएको छ। 

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ संयुक्त अरब इमिरेट्स र कुवेतले कोरोनाविरुद्धको खोपको दुई मात्रा नलगाएका श्रमिक लैजान बन्द गरिसकेको उल्लेख गर्दै खाडीका अन्य मुलुक पनि सोही नीतिमा अघि बढेको बताए। 

‘यस्तो अवस्थामा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप दिन ढिला गर्ने हो भने उनीहरू झनै मारमा पर्ने देखिएको छ,’ उनले भने, ‘त्यसैले सरकारले सके आफैंले नभए निजी कम्पनीलाई प्रोत्साहन गरेर भए पनि खोप ल्याउने व्यवस्था मिलाउनु पर्छ ।’ रोजगारीका लागि विदेश जाने भारतीय श्रमिक भने अन्तर्वार्ता दिने बेला नै खोपको दुई मात्रा लगाएर बस्ने गरेको उनको भनाइ छ। 

कोरोनाविरुद्धको खोप नपाउँदा बिदामा घर आएका श्रमिकलाई समेत समस्या पर्ने देखिएको व्यवसायीको भनाइ छ। सरकारले भने अहिलेसम्म वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी कोरोनाविरुद्धको खोप दिने नीति ल्याएको छैन। व्यवसायीहरू श्रमिकको समस्यामा सरकार गम्भीर नहुँदा खोप दिन बेवास्ता भइरहेको गुनासो गर्छन्। 

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख झलक गौतम सरकारको प्राथमिकताका आधारमा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने योजना रहेको उल्लेख गर्दै अहिले नै वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर खोप उपलब्ध गराउने योजना नभएको बताउँछन्। 

वैदेशिक रोजगार विभागका अनुसार यतिखेर रोजगारीका लागि विदेश जान दैनिक औसत पाँच सयले नयाँ र पुनः श्रम स्वीकृति लिने गरेका छन्। कोरोना महामारी सुरु हुनुअघिसम्म यस्तो संख्या दैनिक एक हजार पाँच सय हुन्थ्यो। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप दिन ढिला गर्ने हो भने गन्तव्य मुलुकको रोजाइमा खोपको जोहो गर्न सक्ने मुलुकमा नागरिक पर्ने व्यवसायीको भनाइ छ।

Published on: 2 July 2021 | Nagarik

Link

Back to list

;