s

वैदेशिक रोजगारीका क्रममा मृत्यु कामदारका परिवारलाई आर्थिक सहायता

Year of Publication: 30 October 2019 | Nagarik

Published by: CESLAM

सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ। वैदेशिक रोजगार बोर्डले गत साउनमा ६०, भदौमा ६४ र असोजमा ४७ मृतक कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको हो। वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वर्षभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले प्रतिमृतकका परिवारलाई सात लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

सो अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा बिरामी भएका ९८ कामदारको परिवारलाई आर्थिक सहायता वितरण गरिएको छ। त्यस्तै कामदारको परिवारका सात जनालाई औषधोपचार सहयोग उपलब्ध गराइएको छ। कामदारको परिवारको सदस्यलाई क्यान्सर, मिर्गौला, मुटु, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। बोर्डले सामान्य अवस्थाका बिरामीलाई १५ हजार रुपैयाँ, मध्यम अवस्थाका बिरामीलाई ३० हजार रुपैयाँ र गम्भीर अवस्था भएमा प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेर विदेशी भूमिमा अलपत्र परेका १८ कामदारको उद्दारका लागि सम्बन्धित नियोगमा पत्राचार गरिएको बोर्डले जनाएको छ। विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ४१ कामदारको शव झिकाउन पत्राचार गरिएको छ।सो अवधिमा बोर्डले १८४ कामदारको शव मृतकको घर ठेगानासम्म निःशुल्क ढुवानी गरेको छ। बोर्ड सचिवालयले मृतक कामदारको शव निजको नजिकको हकवालाले दिएको निवेदनअनुसार घर ठेगानासम्म ढुवानी गर्दै आएको छ। वैदेशिक रोजगार नियमावाली, २०४६ (तेस्रो संशोधन)ले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको कामदारको शव त्रिभुवन विमानस्थलबाट निजको घर ठेगानासम्म लैजान बोर्डले सहयोग गर्दै आएको छ।

Published on: 30 October 2019 | Nagarik

Link

Back to list

;