s

वैदेशिक रोजगारीः ६ महिनामा पाँच सय ३९ जनाको मृत्यु

Year of Publication: 17 January 2024 | Nagarik

Published by: CESLAM

वैदेशिक रोजगारीको क्रममा बिदेसिनेको संख्या बढेसँगै नेपाली युवाको मृत्यु संख्या पनि उकालो लागिरहेको छ। वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको छ।

बोर्डबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भई ज्यान गुमाएका व्यक्तिका हकवालाले लिएको आर्थिक साहायताको तथ्यांकका हेर्दा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या चिन्ताजनक देखिन्छ।

त्यस्तै, वैदेशिक रोजगारीको क्रममा बिरामी तथा अंगभंग हुनेको संख्या दुई सय २१, पारिवारिक उपचार खर्च पाउने ९४ जना, वैदेशिक रोजगारीबाट शव झिकाएको संख्या एक सय २४, विदेशबाट ल्याइएका शव घरसम्मको ढुवानी तीन सय ८७ जना र उद्धार तथा खोजतलासमा ७३ जना रहेका छन्।

सबैभन्दा बढी वैदेशिक रोजगारको क्रममा मृत्यु हुनेको संख्या उच्च छ। उक्त तथ्यांक बोर्डबाट आर्थिक सहायता पाएकाहरूको मात्रै हो। करार अवधि सकिएपछि पनि वैदेशिक रोजगारीमा रहेको अवस्थामा कामदारको मृत्यु भएमा यस्ता मृतकका आफन्तले बोर्डबाट आर्थिक सहायता पाउँदैनन्। रोजीरोटीका लागि रोजगारी खोजी गर्दै बर्सेनि हजारौं नेपाली विभिन्न देश पुग्छन्।

यसरी बिदेसिएका नेपालीमध्ये कडा रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको बोर्डको तथ्यांक छ। आर्थिक अवस्थाकै कारण बिदेसिएका थुप्रै युवाले वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएर स्वदेश फर्किनुपरेको छ। खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीमा मिर्गौला रोगको खतरा बढी हुने गरेको वैदेशिक रोजगार बोर्डका अधिकृतहरूले जानकारी दिएका छन्।

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार गर्मी ठाउँ, भवनबाहिरको काम र धुलोले पनि विभिन्न रोग लाग्ने गरेको छ। वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको उप्रेतीले बताए। मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी र घाइते हुने गरेका छन्। धेरैले ज्यानै गुमाएका छन्। विशेषगरी खाडी मुलुकमा गएका नेपालीले बढी सास्ती खेप्नु परेको बोर्डका अधिकृतहरू बताउँछन्।

वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएका व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्न श्रम स्वीकृत गरेको हुनुपर्ने, श्रम स्वीकृतिको नविकरण गरेसँगै बिरामी र मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिनुपर्ने बोर्डको कानुनी प्रक्रिया रहेको छ। रोजगारीका लागि खाडीलगायतका मुलुकमा पुगेका कामदारमध्ये दैनिक सरदर ३ शव आउने गरेको बोर्डका अधिकारीहरूले बताएका छन्।

विदेशमा सुतिरहेकै अवस्थामा मृत्यु भएका कामदारको पोस्टमार्टम रिपोर्ट पनि कसैको प्राकृतिक कारण र कसैको हृदयघात समस्याका कारण मृत्यु भएको खुल्न आएको कार्यकारी उप्रेतीले बताए।

‘दुर्घटनालगायत अन्य कारणले मृत्यु हुनेको संख्याभन्दा ‘सुतिरहेको अवस्थामा मृत्यु हुने कामदारको संख्या बढी छ। सम्बन्धित मुलुकको अस्पतालमा पोस्टमार्टम गर्दा पनि मृत्युको खासै कारण खुल्दैन,’ उनले भने।

दक्ष रुपमा बाहिरिने नेपाली कामदारको संख्या उच्च भए पनि मृत्यु हुने संख्यामा कमि आउँन सकेको छैन्। जसले गर्दा वैदेशिक रोजगारीमा मृत्यु भई आउने तथा बिरामी र अंगभंग भई फर्किनेको संख्या बढ्नुले वैदेशिक रोजगार अझै सुरक्षित नभएको संकेत गर्छ।

Published on: 17 January 2024 | Nagarik

Link

Back to list

;