s

वैदेशिक रोजगार बिमाको भुक्तानी अनलाइनबाटै गरिने

Year of Publication: 12 August 2019 | Naya Patrika

Published by: CESLAM

वैदेशिक रोजगार विभागले म्यादी जीवन बिमाको प्रिमियम अनलाइनबाट नै भुक्तानी गर्न सकिने व्यवस्था गर्ने भएको छ । बिमा समितिबाट सहमति पाएमा आगामी भदौदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारले बिमा खरिद र कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी गर्न पाउनेछन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीलाई पारदर्शी, सहज र प्रविधिमैत्री बनाउन अनलाइन भुक्तानी प्रणालीको विकास गर्न लागेको हो । यो सुविधा सुरु भएपछि कामदार भुक्तानीको झन्झटिलो प्रक्रियाबाट मुक्त हुने वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले बताए । वैदेशिक रोजगार म्यादी जीवन बिमा खरिदमा अनलाइन भुक्तानीको सुविधा सञ्चालनका लागि वैदेशिक रोजगार विभागले बिमा समितिसँग सहमति मागेको छ । तर, समितिले हालसम्म पनि सहमति नदिएको विभागका महानिर्देशक डा. भुसालले बताए । ‘यो प्रक्रियाका लागि बिमा कम्पनीहरू तयार छन् । तर, समितिले सहमति दिएको छैन । हामी समितिको जवाफको पखाईमा छौ,’ उनले भने ।

वैदेशिक रोजगार विभागले अनलाइन पेमेन्ट सिस्टमका लागि सबै तयारी गरिसकेको छ । विभागले आवश्यक सफ्टवेयरको विकाससमेत गरिसकेको छ । वैदेशिक रोजगारी म्यादी जीवन बिमाको अनलाइन भुक्तानीका केही सेवाप्रदायक संस्थाहरू विभागको सिस्टमसँग जोडिइसकेका छन् । विभागका अनुसार इसेवा, खल्ती र प्रभु अनलाइन भुक्तानी संस्था विभागको सिस्टमसँग जोडिएका छन् । अन्य संस्था पनि विभागमा जोडिने प्रक्रियामा छन् । नेपाल राष्ट्र बंैकबाट अनुमतिप्राप्त अनलाइन पेमेन्ट सेवाप्रदायक संस्था विभागको सिस्टमसँग जोडिन सक्नेछन् ।

Published on: 12 August 2019 | Naya Patrika

Back to list

;