s

वैदेशिक रोजगार बिचौलियाको बजार, छेक्छन् बाटो

Year of Publication: 14 September 2021 | Annapurna Post

Published by: CESLAM

अजवी पौड्याल, तुलसी सुवेदी, राजकरण महतो 

काठमाडौें

बिचौलिया  : के कामले आएको ?

पत्रकार     : श्रम स्वीकृति गराउन।

बिचौलिया  : कुन देश जाने ?

पत्रकार     : मलेसिया

बिचौलिया  : अनलाइन फाराम भरिदिन्छौं। टोकन पनि दिन्छौं। भित्र लाइन लाग्नुपर्दैन।

पत्रकार     : टोकन त कार्यालयले दिने होइन र ?

बिचौलिया  : काँ हुनु ! हामीसँग टोकन छ। सबै काम हामी गराइदिन्छौं।

यो संवाद वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंको गेट अगाडि बिचौलिया र अन्नपूर्ण पोस्ट् टोलीबीचको हो। हामी सोमबार बिहान ७:५० बजे पुग्दा एक बिचौलिया सेवाग्राही सम्झिएर बाटो छेक्न आइपुगिन्। हामीले सेवाग्राहीकै रूपमा कुरा गर्‍यौं। ‘कार्यालय पुगेर आउँछौं’ भन्दै हामी अघि बढ्यौं।

गेटमा गार्डले प्रश्न गरे– ‘के काम छ ?’

हामीलाई पछ्याउँदै आएका एक पुरुषले हात समाउँदै भने, ‘ल हामी तपाईंलाई सस्तोमा कुनै पनि काम गराइदिन्छौं।’ 

श्रम स्वीकृतिका लागि जानेलाई बिचौलियाले बाटो छेकेर हैरान पार्छन्। अनलाइन फाराम भर्ने नाममा उनीहरू सेवाग्राहीलाई लुटिरहेका छन्। वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिन तथा नवीकरण गर्नुपर्ने हुन्छ। तर, बिचौलियाले १ हजारदेखि १५ सयसम्म बढी रकम असुली गर्छन्।

म्यादी जीवन बिमा गर्दा १८–३५ वर्षकालाई ३ हजार ७ सय ८, ३६–५० वर्ष समूहकालाई ४ हजार ९ सय ३१ र ५१–६४ सम्मलाई ९ हजार ४ सय ६३ तोकिएको छ। सबै उमेर समूहले श्रम स्वीकृति गर्दा वैदेशिक रोजगार कल्याण कोषमा १ हजार ५ सय रुपैयाँ जम्मा गर्नुपर्छ। श्रम स्वीकृतिको अनलाइन फाराम भर्दा ३ सयसम्म लिन पाउने कार्यालयले तोकेको छ। तर, बिचौलियाले बेसी रकम असुल्छन्। कसैलाई ५ सयभन्दा बढी त कसैलाई १ हजार वा अलमलिएको देखे भने २ हजार रुपैयाँसम्म बढी लिने रहेछन्।

जीवन बिमा र कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइनबाट तिर्न सक्ने सुविधा दिइएको छ। बिचौलियाले यसलाई नै सेवाग्राही ठगी गर्ने ‘हतियार’ बनाएका छन्। साइबरवालाले कार्यालय वरिपरि मान्छे खटाएर सेवाग्राही तान्ने गर्छन्। अनलाइन प्रणालीले श्रम स्वीकृति गराउन मध्यरातदेखि लाम लाग्नुपर्ने बाध्यता हटाएको छ। तर, पाँच मिनेटमा एउटा फाराम भरिदिएबापत बिचौलियाले हजारौं रकम असुलिरहेका छन्।

०००  

‘दाङका सरड पुन मगर बिदामा कतारबाट फर्किएका रहेछन्। ‘छुट्टीमा आएको छु। डेढ महिनामा फर्कने हो। त्यसैले श्रम स्वीकृति गराउन आएको’, उनले भने, ‘हामीलाई कति दु:ख छ भन्ने तपाईंलाई के थाहा ? फ्रि—भिषा, फ्रि–टिकट नारा दिएर एजेन्टले जाने बेला लुट्छन्।’

खोटाङका रमेशबहादुर कार्कीले विदेश पुगेर अरूको गुलामी गर्नुपर्ने दुखेसो पोखे। ‘तर, आफ्नै देशमा बिचौलियाले बाटो घेरेर लुटेको देख्नुभयो होला। यहाँ लुट चल्छ, लुट’, उनले भने। उनी गेट अगाडि ८:१७ मा भेटिएका थिए।

नवलपरासीका विष्णु ढकालले दुई वर्षअघिको घटना स्मरण गरे। ‘पहिला रातभरि लाम लाग्नुपथ्र्यो’, ढकालले भने, ‘तर, अहिले अनलाइनले सजिलो भयो। धेरै सुधार भयो। बिचौलियालाई ठेगान लगाए यो सेवा गुणस्तरीय हुन्थ्यो।’ सिरहाको सारश्वरका शत्रुधन महतो १० पटक विदेश गएर फर्किएका रहेछन्। अब अन्तिम पटक जान लागेको महतोले सुनाए। ‘विदेशमा कमाएर जग्गा किनेँ। घर बनाएँ’, उनले भने, ‘तर, आफू नहुँदा छोरो दुव्र्यसनमा फस्यो। बल्ल सुधारेँ। ऊ कक्षा ११ मा पढ्दै छ।’

०००

सडकमा ८:४५ बजेतिर एक जना चिच्याउँदै थिए– ‘हुलाक टिकट, हुलाक टिकट।’

‘टिकटको कति रुपैयाँ ?’

‘२०’

उनको हातमा भने १० रुपैयाँको हुलाक टिकट थियो।

‘यो त धेरै महँगो भयो ?’

‘त्यसो भए हुलाकमा जानुस्।’

सेवाग्राहीले टिकट किन्नुको विकल्प थिएन। 

हुलाक टिकट किन्दा पनि सेवाग्राहीसँग दोब्बर मूल्य उठाइएको छ।

००० 

कार्यालयको गेट ९ बजे खुल्यो। सेवाग्राही भित्र पसे। ९:३० बजे एक प्रहरी हवल्दार आए। सेवाग्राहीलाई भने– ‘ठेलमठेल गरेर लाइन नलाग्नुस्।’ लाम व्यवस्थित गरे।

सरसफाइ गर्ने कर्मचारी ९:४३ मा काम गर्दै भेटिए। लगत्तै दुई कर्मचारी १५ नम्बर कोठामा आए। सूचना प्राविधिक शाखामा सेवाग्राही लामबद्ध थिए। ‘व्यवस्थित ढंगले लाइन नबसे काउन्टर खोल्दिनँ’, ती कर्मचारीले भने, ‘प्राविधिक शाखा हो हतारमा काम हुँदैन।’

कार्यालय आइसक्नुपर्ने समयमा कम कर्मचारी मात्र देखिए। अन्तिम श्रम स्वीकृति शाखा (ख) कतारमा १०:२६ बजेसम्म कोही कर्मचारी थिएनन्। १०:४६ मा प्रशासन तथा सुनुवाइ शाखामा पुग्दा यस्तै देखियो। एक कर्मचारीले भने, ‘फाँटका प्रमुख कामले बाहिर जानुभएको छ।’

०००

काभ्रे बनेपाकी ज्योत्सना नापितको काम तीन दिनमा पनि बनेको रहेनछ। ‘आज पनि बन्ने छाँट छैन। कहिले रिसेट भन्छ, कहिले रिजेक्ट भन्छ। खै के हो ?’, मध्याह्न १२ बजे उनी भन्दै थिइन्, ‘हामी नपढेका मानिसले धेरै बुझ्दैनौं।’ तब उनले झ्यालतिर हेरेर खुइय सुस्केरा हालिन्। उनी आमाको निधनपछि १५ दिनको बिदामा आएकी रहेछन्। उनको कम्पनी परिवर्तन भएका कारण श्रम स्वीकृति मिलिरहेको छैन। सुरुका दिन बाटैमा बिचौलियाले समाते। सबै काम बाहिरबाटै हुन्छ भनेर अलमलाए। सबै काम ७ हजारमा सकिन्छ भने। अहिले हरेक दिन थप ५ सय रकम मागिरहेको उनले सुनाइन्।

चितवनकी लक्ष्मी सुनार कतार जान श्रम स्वीकृति लिन आएकी रहेछन्। आफूजस्ता सावा अक्षर मात्रै पढ्नेलाई अनलाइन सुविधा सहज नभएको गुनासो सुनारले गरिन्। ‘यहाँ आएर कसलाई सोध्नु ? कति बुझाउनु ? कसलाई भेट्नु ? केही मेसो छैन’, उनले भनिन्, ‘सेवाग्राही गेटमा नआउँदै बिचौलिया आइपुग्छन्। नयाँ मान्छे त अलमलिएर फन्दामा पर्छन्। अहिले पनि मेरो झोलै खोसेर उता राखेका छन्।’

धनकुटाका सन्तोष तामाङ र भक्तपुर सूर्यविनायकका सन्तोषकुमार काफ्लेले कार्यालयमा लाग्नेभन्दा धेरै पैसा साइवरमा तिरे। जम्मा ५५ सय लाग्ने ठाउँमा तामाङले ७ हजार बुझाए भने काफ्लेले ८ हजार।

माल्दिभ्समा रहेकी झापाकी सलिना तामाङ कोरोना महामारी फैलिएपछि कामविहीन भइन्। एक वर्षअघि नेपाल आएकी उनी आउने शनिबार माल्दिभ्स फर्कन लागेकी छन्। तर, नेपालबाट श्रम स्वीकृति लिएर त्यता जान पाइँदैन। यसले गर्दा उनले बिचौलियालाई ९ हजार बुझाइसके पनि काम भएको छैन। उतै रहेका दाजुहरूले भिसा पठाइदिएपछि उनी विदेश हानिएकी हुन्।

रामेछाप घर भई काठमाडौं जोरपाटी बस्ने ४० वर्षीय सुन लामा वैदेशिक रोजगारमा जाँदा आउँदा २ वटा पासपोर्ट च्यातिसक्यो। लामाले भने, ‘दुईवटा पासपोर्ट सकियो। केस फुलिसक्यो, कहिलेसम्म विदेश जाने ? के यो देश हाम्रो होइन र ? हामी पनि त देश निर्माणमा सहयोगी बन्न पाए हुने।’

०००

दिउँसो २.३० बजे खाजा खान ‘ब्रेक’ भयो। कार्यालय परिसरमा हल्लाखल्ला सुनियो। सेवाग्राहीलाई झुक्याएको १५ नम्बर कोठाका एक कर्मचारीले थाहा पाए। यता र उता भनेर अलमल पार्ने धादिङका एक जनालाई बोलाइयो। प्रहरीले उनलाई नियन्त्रणमा लियो।

‘समाजसेवा गरिरहेको छु’, उनले भने, ‘कर्मचारीले नै बुझ्दैनन्।  मैले एक रुपैयाँ पनि खाएको छुइनँ।’

उनलाई छुटाउन म्यानपावर र साइबरवाला पुगे। उनीहरूले भने, ‘छोडिदिनुस्, विचारा कमाएर खाने मान्छे हो।’

प्रहरीले हतकडी लगाएर भ्यानमा हाल्यो। कारबाहीका लागि कालिमाटी प्रहरी वृत्तमा लगियो। प्रहरीका अनुसार सिधै कार्यालय पुग्ने सेवाग्राहीलाई उनले गेटमा बसेर अलमलमा पार्ने रहेछन्। ‘सादा पोसाकमा बाटो हिँड्यो भने हाम्रो पनि बिचौलियाले हात तान्छन्। बाटो छेक्छन्’, प्रहरी र कर्मचारीले भने।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी अपिलराज बोहोराले सरकारी कार्यालयमा बिचौलिया घुस्न नदिन प्रहरीले काम गरिरहेको बताए। सेवाग्राहीबाट आर्थिक लाभ लिएको उजुरी आए मुद्दा चलाउने चलाउँदै आएको डीएसपी बोहराको भनाइ छ। सेवाग्राहीलाई दु:ख दिने गरेको सुन्दै आएको र गस्तीका क्रममा देख्दै पनि आएको उनले सुनाए।

००० 

सरकारी तथा सार्वजनिक स्थलको २ सय मिटर वरिपरि सुर्तीजन्य पदार्थ सेवन र बिक्री गर्न पाइँदैन। तर, श्रम कार्यालय ताहाचलभित्रै गुट्का, चुरोट बिक्री गर्ने पसल नै थापिएको छ। चमेना गृह पछाडि पुग्दा मदिराका बोतल पनि भेटियो। गुट्काको पिक र खोलले कार्यालय फोहोर बनेको छ। एक बिचौलिया गार्डको निवासमा बसेर चुरोट सेवन गरिरहेका थिए।

००० 

अनलाइन बिचौलियाकै भर

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिका लागि अनलाइन फाराम भर्नुपर्ने व्यवस्था छ। तर, अधिकांश नेपाली कामदार त्यसमा अभ्यास्त नहुँदा बिचौलियाले फाइदा लिइरहेका छन्। उनीहरूले व्यक्ति हेरेर आफूखुसी पैसा असुल्ने गरेका छन्।

बिमा शुल्क र कल्याणकारी कोषमा १ हजार ५ सयबाहेक थप १ हजार ५ सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ। दलालले फाराम भरेको, काम गरिदिएको भन्दै ३ सयदेखि करिब २ हजारसम्म असुल्छन्। कलंकी चोकबाट कालिमाटीसम्म सडक आसपास यस्ता कार्यालय छरपस्ट छन्। उनीहरूका प्रतिनिधिले सोल्टीमोडमा हिँड्ने जोकोहीलाई हात समाउँदै श्रम गर्ने यता भन्दै हैरान पार्छन्।

वैदेशिक रोजगार कार्यालयकी निर्देशक कल्पना मास्केले आफू बाटोमा हिँड्दा श्रम गर्ने हो भन्नेहरू धेरै भेटिएको अनुभव सुनाइन्। ‘उनीहरूले हामीलाई पनि हैरान पारेका छन्’, मास्केले भनिन्, ‘उनीहरूलाई नियन्त्रण गर्न हामीसँग मेकानिज्म छैन।’

वडा कार्यालय, विभाग र व्यवसायीबीचको सम्झौताअनुसार २०७५ मै अनलाइन फारामका लागि ३ सय रुपैयाँ शुल्क निर्धारण गरिएको थियो। तर, केही सेवाग्राहीले ६ सय रुपैयाँसम्म तिरेको बताए। केहीले १ हजार ५ सयसम्म तिरेको सुनाए। 

सबैजसो बिमा कम्पनीका कार्यालय त्यहाँ खुलेका छन्। उनीहरूले सेवाग्राहीबाट सकेसम्म अधिकतम पैसा लिने गरेको पाइयो। शाखा अधिकृत प्रदीपकुमार ढकालले अनलाइन फारामका नाममा पैसा असुल्ने प्रवृत्ति नरोकिएकाले वैदेशिक रोजगार कार्यालयलाई नै बदनाम गराएको बताए। उनका अनुसार करिब २ सय जनाले अनलाइनबाटै श्रम स्वीकृति लिने गरेका छन्। ‘प्रहरीले नियन्त्रण गर्नुपर्ने हो। उनीहरूलाई हामी रोक्न सक्दैनौं’, ढकालले भने, ‘उनीहरूको निजी व्यवसाय भएकाले हामीसँग सहकार्य हुँदैन। इन्टरनेटको पहुँच बढ्दै गएकाले श्रमिक आफैंले अनलाइनबाट फाराम भर्नुपर्छ।’

निर्देशक मास्केले श्रमिकको चापका आधारमा बेलुका ७ बजेसम्म पनि सेवा दिने गरेको बताइन्। ‘श्रमिक एकै दिनमा काम लिई फर्किन्छन्’, उनले भनिन्, ‘फाइल हाम्रो हात परेको २ घण्टाभित्र काम सकिन्छ।’

कार्यालयका अनुसार दैनिक हजारदेखि १२ सय जना श्रम स्वीकृति लिन आउँछन्। त्यसमध्ये संस्थागत (म्यानपावरमार्फत)तर्फ ६ सय हाराहारी नयाँ श्रम स्वीकृति लिन पुग्छन्।

वैदेशिक रोजगारीमा जाने महिलालाई परामर्श दिइन्छ। कार्यालयमा सूचना तथा परामर्श केन्द्र सञ्चालन गरिएको छ। उक्त केन्द्रबाट रोजगारदाता, श्रम कार्यालय र श्रमिकबीच भएको त्रिपक्षीय सम्झौताबारे जानकारी गराइन्छ।

जोर्डनलगायत देश जान लागेका महिलाको ताती देखियो। उस्तै उमेरका करिब २५ महिला सनाखतका लागि तल्लो भवनमा पर्खिरहेका थिए। उनीहरूमध्ये धेरैजसो जोर्डन जान लागेका रहेछन्। संस्थागत रूपमा कम्पनीका कर्मचारी कार्यालय पुग्छन्। उनीहरूले धेरै जनाको फाइल लिने गर्छन्। 

कार्यालयमा ४१ जनाको दरबन्दी छ। त्यसमध्ये एक जना कार्यालय प्रमुख (सहसचिव), तीन जना निर्देशक (उपसचिव) छन्। शाखा अधिकृत ढकालका अनुसार श्रमिकको चापबमोजिम कहिलेकहीँ दरबन्दीभन्दा बढी कर्मचारीले सेवा दिने गरिएको छ। वैदेशिक रोजगार विभागको कार्यालय भएकाले कर्मचारी आउजाउ भइरहने उनले सुनाए। 

कुवेत, मलेसिया लामो समयदेखि बन्द छन्। श्रम स्वीकृति नवीकरण गरेर त्यता जाने श्रमिक छैनन्। कार्यालयका अनुसार कतार र साउदीतर्फ श्रमिक गइरहेका छन्। ढकालले नयाँ र नवीकरण गरी श्रमिक कतार र साउदी जाने रहेको बताए। कोरोना महामारीअघिकै अवस्थामा श्रमिक वैदेशिक रोजगारीमा जान थालेको उनले बताए।

कर्मचारी समयमा नआएको अवगत गराउँदा कहिलेकहीँ त्यस्तो कमजोरी हुने गरेको कर्मचारीले स्वीकार गरे। दुई निर्देशक र एक अधिकृतसँग कुराकानीका क्रममा मानवीय स्वभाव भएकाले कहिलेकहीँ आउन ढिला, जान छिटो भए पनि सेवाग्राहीको काम नरोकिएको एकसाथ जवाफ फर्काए।

Published on: 14 September 2021 | Annapurna Post

Link

Back to list

;