s

वैदेशिक रोजगारीमा जानेको आम्दानी पाँच गुणा बढी

Year of Publication: 25 May 2017 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

रुद्र खड्का

युवायुवती वैदेशिक रोजगारीमा जाँदा समाजमा थुप्रै विसंगति, विकृति सिर्जना भइरहेको गुनासो बढेको बेला गरिएको एक अध्ययनमा रोजगारीका लागि विदेश जानेको आम्दानी स्वदेशमा भन्दा पाँच गुणा बढी हुने गरेको तथ्य फेला पारेको छ।
 
राष्ट्र बैंकले हालै गरेको एक अध्ययन अनुसार विदेश नजाने युवायुवतीको तुलनामा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको कमाइ पाँच गुणा बढी पाइएको हो। केन्द्रीय तथ्यांक विभागका अनुसार प्रतिव्यक्ति वार्षिक सरदर आम्दानी ९० हजार पाँच सय २१ रुपैयाँ रहेको बेला राष्ट्र बैंकको अध्ययनले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको वार्षिक कमाइ पाँच लाख ३२ हजार रुपैयाँ रहेको देखाएको हो। स्वदेशको आम्दानीसँग ठूला व्यापारिक घरानियाको समेत जोडिए पनि वैदेशिक रोजगारीमा भने नेपाली कामदारको पारिश्रमिक एकै प्रकारको  हुने गरेको छ।
 
स्वदेशमा बसोबास गर्नेको प्रतिव्यक्ति वार्षिक आम्दानी ९० हजार पाँच सय २१ रुपैयाँ रहेको बेला वैदेशिक रोजगारीमा रहेका व्यक्तिको आम्दानी पाँच गुणाले बढी देखिए पनि कतिपय अर्थशास्त्री भने विदेशको कमाइ फेला परेको तथ्यभन्दा पनि अझै बढी रहेको बताउँछन्। खासगरी कोरिया लगायतका केही गन्तव्य मुलुकबाट हुुण्डीमार्फत रेमिटेन्स भित्रिने गरेकाले विदेशको कमाइ अझै बढी रहेको बताइन्छ। त्यस्तै युरोप, अमेरिका गएका व्यक्तिहरू पनि अध्ययनमा नसमेटिएका कारण विदेशको कमाइ अझै वृद्धि हुने अर्को आधार रहेको विज्ञहरूको भनाइ छ।
 
रेमिटेन्स प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्तिबारे वास्तविकता पत्ता लगाउन राष्ट्र बैंकको अनुसन्धान विभागले १६ जिल्लाका तीन सय २० घरपरिवारलाई समेटेर उक्त अध्ययन गरेको थियो। विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले वैदेशिक रोजगारीमा गएका व्यक्तिको कमाइ राम्रो भएकाले सर्वसाधारणको जीवनस्तर सुधार हुँदै गइरहेको बताए। थापाका अनुसार विगतका वर्ष स्वदेशमा रोजगारी नहुँदा युवायुवती गाउँमै बेरोजगार हुनुपर्ने र यदि त्यसो नभए सस्तो पारिश्रमिकका लागि भारत जानु पर्ने बाध्यता विस्तारै अन्त्य हुँदै गइरहेको बताए।
 
विकासविदहरूले नेपालबाट ठूलो संख्याका युवायुवती वैदेशिक रोजगारीमा जाँदा विकास निर्माणका काममा ढिलासुस्ती र समस्या परिररहेको बताइरहँदा राष्ट्र बैंकको पछिल्लो अध्ययनले विदेश मोह झनै बढ्ने खतरा भने बढेको छ। 'बिनारोजगारी युवायुवतीलाई स्वदेशमा राख्नु र भारतमा सस्तो मूल्यमा श्रम बेच्नु भन्दा तेस्रो मुलुकमा रोजगारीका लागि जानु निकै राम्रो हो,' थापाले भने। अर्कोतर्फ पुनर्निर्माण प्राधिकरणले भने यतिखेर करिब ५० हजार दक्ष जनशक्तिको आवश्यकता परेको तर धेरैजसो विदेश पसेकाले समस्या परिरहेको बताउने गरेको छ।
 
राष्ट्र बैंकको अध्ययन अनुसार युवायुवती वैदेशिक रोजगारीमा जाँदा एकातिर आफू र परिवारको आर्थिक अवस्था सुधार गरेका छन् भने अर्कोतर्फ ठूलो मात्रामा रेमिटेन्स पठाएर देशको अर्थतन्त्र पनि टिकाएका छन्। वैदेशिक रोजगार विभाग र राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक २०५०/५१ देखि हालसम्म करिब ४४ लाख युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा करिब ४० खर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीमा गएका युवायुवतीले साढे चार खर्ब रेमिटेन्स पठाएको राष्ट्र बैंकले जनाएको  छ।
 
वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको कमाइबारे जान्न राष्ट्र बैंकले झापा, सुनसरी, तेह्रथुम, खोटाङ, धनुषा, काठमाडौं, चितवन, कास्की, बाग्लुङ, गोर्खा, रुपन्देही, दाङ, कालिकोट, बाजुरा, कैलाली र बैतडीमा रहेका आफन्तसँग अध्ययन गरेको थियो।
 
ठूलो संख्याका युवायुवती वैदेशिक रोजगारीमा जाँदा देशको विकास निर्माणमा समस्या परेको विकासविदहरूले गुनासो गरिरहेको बेला राष्ट्र बैंकको अध्ययनले भने देशको अर्थतन्त्र टिकाउन रेमिटेन्सको महत्वपूर्ण भूमिका रहेको तथ्य फेला पारेको हो। कतिपय विज्ञहरू भने तत्काल देशको अर्थतन्त्र रेमिटेन्सले धानेको भए पनि अब सरकारले स्वदेशी उत्पादनमा जोड दिँदै युवा बाहिरिने क्रमलाई रोक्न विशेष योजना थाल्नुपर्ने सल्लाह दिन्छन्।
 
त्यस्तै उक्त अध्ययनले करिब १९ प्रतिशत घरपरिवार पूर्ण रूपमा रेमिटेन्समा निर्भर रहेको र ८० प्रतिशत घरपरिवारलाई गुजारा चलाउन रेमिटेन्सले सघाउ पुर्‍याएको तथ्य पनि फेला पारेको छ। अनुसन्धान विभागका कार्यकारी निर्देशक थापाले देशको गरिबी घटाउनसमेत रेमिटेन्सले सहहयोग पुर्‍याएको बताए। सोही अध्ययनमा रेमिटेन्सको ३१ प्रतिशत रकम खाद्यान्न खरिदमा खर्च हुने गरेको समेत पाइएको छ।
 
ठूलो संख्यामा (करिब ७५ प्रतिशत) अदक्ष व्यक्ति वैदेशिक रोजगारीमा जाने गरेको क्रम अझै यथावतै रहेको उक्त अध्ययनले देखाएको छ।
 

Published on: 25 May 2017 | Nagarik

Back to list

;