s

वैदेशिक रोजगारीमा गएका युवाका मिर्गौला जोखिममा

Year of Publication: 16 January 2017 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

विमल बराल

विभिन्न खोज, अध्ययन र अनुसन्धानबाट खाडी मुलुकमा काम गर्ने युवाहरूमा मिर्गौला खराबी हुनुको प्रमुख कारण जलवियोजन देखिएको छ ।

धन कमाइ आफ्नो परिवार सुखसयलमा राख्ने मिठो सपना बुनेर खाडी मुलुक पसेका युवाहरूले उपहारस्वरूप दुबै मिर्गौलामा खराबी बोकेर स्वदेश फर्कन बाध्य हुन थालेका छन् । झट्ट सुन्दा यो कुरा अपत्यारिलो लागे पनि धेरै नेपाली युवाहरूले दैनिक रूपमा भोगिरहेको पीडा हो, यो । 

सुनसरीका २६ वर्षीय केशव कार्की स्थानीय सहकारीबाट दुई लाख रुपैयाँ ऋण गरी काखेछोरा र श्रीमतीलाई छाडी रोजगारीको लागि कतार पुगे, २०७२ सालमा । जाने बेला नेपालको मेडिकल पास भएर गएका कार्की ६ महिनामै दुबै मिर्गौला काम नलाग्ने भएपछि घर फर्किए । भने जस्तो काम नपाएका कार्की ४०–५० डिग्रीको उच्च तापक्रममा काम गर्न बाध्य थिए । कामको सिलसिलामा पानी पनि खाने फुर्सद नहुने, पानी लगायत सबै खानेकुरा किनेर खानुपर्ने भएकाले पानीको सट्टा बरु कहिलेकाहीं अन्य पेयपदार्थले तिर्खा मेटाउने गरेको बताउँछन्, कार्की ।

काम गर्दागर्दै अचानक पेट दुख्ने र शरीर थाकेको जस्तो महसुस हुनथालेपछि कार्कीले दुखाइ कम गर्ने औषधीको सहारामा दैनिकी कटाउन थाले । एक दिन अचानक निरन्तर बान्ता हुने समस्या भएपछि साथीलाई भनेर त्यहींको ठूलो अस्पतालमा गए । अस्पताल गएर सबै जाँच—पड्ताल गर्दा उनका दुबै मिर्गौला काम नलाग्ने भइसकेको डाक्टरले बताए । 

रगतमा फोहोर जमेको र साफ गरिदिन भन्दै त्यहाँका चिकित्सकले ३ सेसनसम्म निरन्तर डायलाइसिस (मेसिनद्धारा कृत्रिम मिर्गौलाको सहायताले रगतमा जम्मा भएका विषालु पदार्थ र पानी निकाल्ने प्रविधि) गराइदिएछन् । त्यसपछि कम्पनीले नेपाल फिर्ता पठाइदियो । हाल राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा नियमित रूपमा हेमोडायलाइसिस गराइरहका कार्की भक्कानिँदै आफ्नो पीडा भन्छन्, ‘मलाई त डायलाइसिस भनेको १/२ पटक गरेपछि ठिक हुन्छ भन्ने लागेको थियो । आहिले आएर पो यो रोगको बारे सबै थाहा भयो । मिर्गौला रोग त शत्रुलाई पनि नलागोस् ।’ 

त्यस्तै मलेसियामा दुई वर्ष काम गरी फर्केका उदयपुरका निरोद चौधरीको पीडा पनि कम दर्दनाक छैन । ३० वर्षीय चौधरी मलेसियाको प्लाष्टिक कम्पनीमा काम गर्थे । एक दिन बिहान उठ्दा अनुहार सुन्निएको थियो । टाउको दुखिरहेको थियो । साथीहरूको सल्लाहमा नजिकैको स्वास्थ्य केन्द्र गए । रक्तचाप बढेको भन्दै प्रेसरको औषधी र दुखाइ कम गर्ने औषधी दिए । एक हप्तासम्म त ठिकै थियो । पछि खान मन नलाग्ने र तारन्तार बान्ता हुने भयो । शरीर झन् कमजोर हुँदै गयो । एक दिन काम गर्दागर्दै बेहोश भएछन् । साथीहरूले कम्पनीमार्फत अस्पताल लगी उपचार गरे । अस्पतालले उनको मिर्गौलामा खराबी भएको र बाँच्नको लागि आजीवन डायलाइसिस वा प्रत्यारोपणको आवश्यकता भएको बताएछ । 

कार्की र चौधरी त प्रतिनिधि पात्रमात्रै हुन् । सुनौलो भविष्यको सपना बुनेर वैदेशिक रोजगारीमा गएका कैयौं नेपाली युवाहरू मिर्गौला रोगको सिकार बन्दै दैनिकजसो नेपाल फर्किरहेका छन् । विदेश गएर धेरै पैसा कमाउने आसमा तन्दुरुस्त शरीर लिएर विदेश हान्निएका युवाका सबै सपना मिर्गौला रोगका कारण एकैछिनमा चकनाचुर भई रोगी शरीर लिएर फर्किरहेका छन् भने फर्किन पनि नभ्याउनेहरू बाकसमा बन्द भएर आइरहेका छन् । 

राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा खाडी मुलुकबाट फर्केका नेपाली युवाहरूले डायलाइसिस गराएको तथ्याङ्क हेर्दा डरलाग्दो छ र यही स्थिति रहिरहेमा भविष्यमा अझ विकराल अवस्था सिर्जना हुने निश्चित छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई ५० डिग्री सेल्सियससम्मको उच्च तापक्रममा १३/१४ घन्टा कडा परिश्रम गर्नुपर्ने बाध्यता छ, नत्र पैसा कमाउन र जोगाउन सकिँदैन । नेपालमा जतिसुकै गर्मी भए तापनि खाडी मुलुकमा जस्तो हुँदैन । हाम्रो शरीरको बनावट पनि यहींको हावापानीमा सुहाउने खालको छ । अर्कोतर्फ हामी कोही पनि नेपाली स्वदेश रहुन्जेल त्यति धेरै पसिना बगाउँदैनौं । किनकि हामीसँग आराम गर्ने प्रशस्त समय हुन्छ । ठिक विपरीत नेपालमा आरामको दैनिक जीवन बिताइरहेका नेपाली युवाहरू विदेश गएपछि एक्कासी लामो समय विनाआराम काममा खटिन्छन् । अत्यधिक गर्मीको कारण शरीरमा भएको पानी पनि पिसाब र पसिनाबाट सकिन्छ । 

अर्कोतर्फ गर्मी मुलुकमा सादा पिउने पानीको सट्टामा शक्तिबद्र्धक पेयपदार्थ तथा बट्टामा बन्द गरिएका जुस लगायत पिउने चलन छ, जसले गर्दा शरीरमा आवश्यक पानीको मात्रा घट्दै जान्छ र जलवियोजन हुन्छ, मानिसको मिर्गौला खराब हुने प्रमुख कारणहरू उच्च रक्तचाप, मधुमेह तथा अत्यधिक मोटोपन हो । तर विभिन्न खोज, अध्ययन र अनुसन्धानबाट खाडी मुलुकमा काम गर्ने युवाहरूमा मिर्गौला खराबी हुनुको प्रमुख कारण जलवियोजन देखिएको छ । यो बाहेक दुखाइ कम गर्ने औषधीको अत्यधिक सेवन, पानीको कम सेवन र आरामको कमीको कारणबाट पनि मिर्गौलाले काम गर्न नसक्ने हुनगएको चिकित्सकहरूको भनाइ छ । खाडी मुलुकमा काम गर्ने युवाहरूले प्रशस्त सादा पानीमात्र पिएमा पनि मिर्गौला रोग लाग्नबाट धेरैलाई बचाउन सकिने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको भनाइ छ ।

विदेश जाने कैयौं नेपालीको ध्यान पैसा कसरी कमाउने, घरको ऋण कसरी तिर्ने भन्नेमा हुन्छ । त्यसैले उनीहरू आफ्नो स्वास्थ्यको ख्याल गर्न बिर्सिन्छन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई रगत, पिसाबका साथै अन्य विस्तृत परीक्षण गरेर मात्र विदेश पठाउनसकेमा मिर्गौला रोग लाग्नबाट जोगाउन सकिन्छ । मिर्गौलाको ख्याल कसरी राख्ने भन्नेबारे आम युवाहरूमा जनचेतना बढाउन जरुरी छ । प्रशस्त रूपमा पानी पिउने बानी बसाल्ने, शक्तिबद्र्धक लगायत अन्य पेयपदार्थहरूको सेवनमा कम गर्ने, शरीरलाई आराम दिने र चिकित्सकको सल्लाहविना दुखाइ कम गर्ने औषधीको सेवन नगर्ने मिर्गौला रोगबाट बच्ने प्रमुख उपायहरू हुन् । यस बाहेक दैनिक रूपमा पानी प्रशस्त पिउनुपर्ने र यसो मात्र गर्नसकेमा पनि खासगरी उच्च तापक्रम भएका खाडी मुलुकमा काम गर्न जाने नेपाली कामदारहरूको मिर्गौला बिग्रनबाट बच्न सक्छ । यो सन्देश प्रभावकारी रूपमा विदेश जाने व्यक्तिहरूबीच फैलाउनसकेमा मात्र पनि मिर्गौला रोगबाट देशका युवाहरूलाई धेरै हदमा बचाउन सकिन्छ । त्यसैगरी कम्तीमा वर्षको एकपटक आफ्नो मिर्गौलाको परीक्षण गरेमा आगामी दिनमा विदेश जान तम्तयार युवा जनशक्तिले मिर्गौला रोगबाट समयमै छुट्कारा पाउन सक्थे ।

सास फेर्न गाह्रो भएमा, पिसाब कम हुने र पिसाब फेर्दा पोलेमा, शरीरका विभिन्न अङ्ग सुन्निएमा, खानामा रुचि घटेमा, वाकवाकी लागेमा, छाला सुख्खा हुने र चिलाउने भएमा, मानिस दुव्लाउँदै गएमा मिर्गौला रोग लागेको लक्षणहरू हुन सक्छन् । नेपाल सरकारले ज्येष्ठ नागरिक, लोपोन्मुख जाति, एचआईभी, हेपाटाइटिस संक्रमित तथा विपन्न नागरिकहरूलाई आवश्यकता अनुसार नि:शुल्क डायलाइसिस सेवा प्रदान गरिरहेको छ । सरकारले रोजगारीका लागि विदेशिने युवाहरूको स्वास्थ्य परीक्षणमा कडाइ गरी मिर्गौला रोगबारे जनचेतना वृद्धि गर्न जरुरी छ । रोग लागिसकेपछि घरखेत गरेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु मिर्गौला लगायत सबै रोगबाट बच्ने सबैभन्दा सुरक्षित उपाय हो । अल्पायुमा देशका होनहार युवाशक्ति मिर्गौला रोगका कारण थलिँदै गएमा भविष्यमा देशलाई पर्नसक्ने जनशक्तिको संकट र नि:शुल्क डायलाइसिसका नाममा सरकारले खर्च गर्नुपर्ने करोडौं रकम जोगिने थियो ।

Published on: 16 January 2017 | Kantipur

Back to list

;