s

वैदेशिक रोजगारीमा बढ्दो महिला आकर्षण

Year of Publication: 8 March 2017 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

 रुद्र खड्का

जति परिश्रम गरे पनि  हातमुख जोर्न धौधौ पर्न नछोडेपछि रामेछाप मन्थलीकी मञ्जु गुरुङ दुई साताअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स गइन्। १० कक्षासम्म अध्ययन गरेकी मञ्जुको चाहना सकभर स्वदेशमै बसेर केही काम गर्ने थियो। ‘जिल्लादेखि राजधानीसम्म विभिन्न अवसर पाइन्छ कि भनेर चहारें,’ युएई उड्ने बेला उनले भनिन्, ‘देश नै बेरोजगारीको थलो भएकाले विदेश नगई सुख पाइएन।’ वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताले गर्दा मञ्जुले पाँच वर्षीया छोरी र पतिलाई घरमै छाडेको बताउँछिन्। उनले वैदेशिक रोजगारीमा सकभर पतिलाई पठाउन चाहन्थिन् । तर, उनका पति गोरे स्वास्थ्य परीक्षणमा अयोग्य भएपछि रञ्जनाले आफैँ वैदेशिक रोजगारीमा जाने निर्णय गरेकी हुन् ।

बर्दिया, सानोश्रीकी रमिता परियारले पनि रोजगारीका लागि केही महिना अघि विदेशको बाटो तताइन् । जति मेहनत गर्दा पनि गुजारा चलाउन नसकेपछि रमिताले ९ र ६ वर्षका दुई छोराछोरीलाई घरमै छाडेर वैदेशिक रोजगारीमा जाने निर्णय गरेकी हुन् । ५ वर्ष अघि पति शंकरको सडक दुर्घटनामा निधन भएपछि घर र बालबालिकाको जिम्मेवारी रमिताको काँधमा आएको थियो  । ‘सकभर छोराछोरी छाडेर वैदेशिक रोजगारीमा जान नपरोस् भन्ने लागेको थियो,’ उनले भनिन्, ‘घरमा रहँदा सामान्य खर्चको जोहोसमेत गर्न नसकेपछि वैदेशिक रोजगारी एक मात्र विकल्प भयो ।’ उनी रोजगारीका लागि कुबेत गइन् ।

पछिल्लो समयमा महिलाहरूमा बढेको चेतनाले स्वदेशमा कुनै समस्या पर्यो या आर्थिक संकट आइपर्दा त्यस्ता महिला वैदेशिक रोजगारीमा जाने र आवश्यकता जुटाउने क्रम बढ्दो छ । केही वर्ष अघिसम्म पराइ लोग्नेमान्छेसँग बोल्नसमेत लजाउने महिलाहरू यतिखेर धमाधम वैदेशिक रोजगारीमा जाने र कमाइ गर्ने क्रम बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म ७ हजार ८ सय २२ महिला रोजगारीका लागि विदेशिएका छन् । विभागका अनुसार आर्थिक वर्ष २०६२÷६३ देखि हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या १ लाख ६१ हजार ५ सय १९ पुगेको छ । चालू आर्थिक वर्षको साउनयता विदेशिने महिलाको संख्या बढिरहेको छ । विदेशिएका महिलाहरूको अनुभवमा राम्रो रोजगारदाता कम्पनी फेला पर्ने हो भने वैदेशिक रोजगारीबाट राम्रै आम्दानी गर्न सकिन्छ ।

९ वर्ष इजरायलमा केयर गिभरको काम गरेर अघिल्लो वर्ष घर फर्किएकी नेपालगन्ज उपमहानगरपालिका–१ की कमला लम्सालका अनुसार राम्रो रोजगारदाता फेला पार्न सक्ने हो भने वैदेशिक रोजगारीले सामान्य गुजारा मात्र नभई सम्पत्ति जोड्न पनि सघाउँछ । ९ वर्ष इजरायल बसेको रकम बचाएर कमलाले दुई छोरीलाई स्नातकसम्मको अध्ययन गराउनुको साथै नेपालगन्जमा दुई तले घर बनाएर बचेको रकमले काठमाडौं, सुन्दरीजलमा घडेरी किनेको समेत जानकारी दिइन् । इजरायलको बचत अझै नसकिएका कारण यसैवर्ष सुन्दरीजलमा घर बनाउने उनको योजना छ ।

ठगिने सम्भावना पनि उस्तै

वैदेशिक रोजगारीमा जापान जाने हो भने सजिलै पठाउन सकिने आश्वासन पाएपछि झापा, सतासीधाम–८ की २८ वर्षीया सन्चरानी पोङ्हाङ्ले दलाललाई ६ लाख रुपैयाँ दिइन् । रकम नपाउँदासम्म वैदेशिक रोजगारीको बारेमा सधैँ बखान गरिरहने दलालले रकम कुम्ल्याएपछि भने सन्चरानीलाई भेट्नै छाडे ।

पाँच महिनासम्म दलालले सन्चरानीलाई जापान नपठाएपछि यतिखेर उनी आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा दलाल मनकुमार तुम्वापोलाई कारबाहीको माग गर्दै धाइरहेकी छिन् । ‘जापान पठाउने भनी लिएको ६ लाख रकममध्ये ३ लाख रुपैयाँ त फिर्ता लिएँ,’ उनले भनिन्, ‘बाँकी तीन लाख रुपैयाँ फिर्ताबारे कुरा नमिल्दा विभागको सहारा लिनु पर्ने बाध्यता आइलागेको छ ।’

दलालले सन्चरानीलाई जापान पठाउने भने पनि रसियाको भिसा लागेको राहादानी फिर्ता गरेको छ । सन्चरानीका अनुसार दलालले लामो समयसम्म जापान नपठाएपछि शंका लागेर सोधीखोजी गर्दा ठगी गर्ने नियत खुलेको हो । उनले भनिन्, ‘छिटो जापान पठाउन आग्रह गर्दा दलालले भारतको नयाँ दिल्ली जानु पर्ने प्रस्ताव राख्यो । अनि सबै कुरा बुझ्दा उसको ठगी गर्ने नियत  रहेछ भन्ने पुष्टि भयो ।’

त्यस्तै, टर्की जाने चाहनाले गाउँको पसल बिक्री गरेर मेनपावरलाई पाँच लाख रुपैयाँ बुझाएकी जेठला–८ दोलखाकी लक्ष्मी तामाङको वैदेशिक रोजगारी पनि सफल हुन सकेन ।  गाउँमै भइरहेको आम्दानीप्रति सन्तुष्ट हुन नसकेपछि २९ वर्षीया लक्ष्मीले पसल बेचेको रकम मेनपावरलाई दिएकी थिइन् । दलाल र मेनपावरको  लहलहैमा लागेर युरोप जान खोज्दा यतिखेर उनलाई दैनिक गुजारा कसरी चलाउने भन्ने समस्या आइलागेको छ ।

पाँच लाख रुपैयाँमा पसल बिक्री गरेर टर्की गएकी लक्ष्मी वैदेशिक रोजगारी ४१ दिनमै टुंगिएपछि घर फर्केकी हुन् । ‘मेनपावरले दैनिक आठ घण्टा मात्र काम गर्नुपर्ने भनेको थियो,’ घरेलु कामदारको रूपमा टर्की गएकी लक्ष्मीले भनिन्, ‘त्यहाँ त दैनिक १६ घण्टासम्म काममा लगाउने र सानोतिनो गल्ती हुँदा पनि कुटपीट हुन थालेपछि घर फर्कन बाध्य भएँ ।’ काम गर्ने स्थलमै नचिनेका केटाहरू पुगेर  दुव्र्यवहारको प्रयाससमेत गरेको उनले जानकारी दिइन् ।

आफूले गर्नुपर्ने काम तथा रोजगारदाताबारे आवश्यक पर्ने सबै सूचना लिएर वैदेशिक रोजगारीमा जाने हो भने महिलाका लागि वैदेशिक रोजगारी फलदायी हुँदै गएको देखिन्छ । तर, दलालको लहलहै लागेर तथा सामान्य जानकारीसमेत नलिई विदेशी विमानस्थलको बाटो प्रयोग गर्नेहरूका लागि भने वैदेशिक रोजगारी निकै पीडादायी हुने गरेको छ । ‘वैदेशिक रोजगारीलाई सफल बनाउने-नबाउनेबारे सर्वप्रथम वैदेशिक रोजगारीमा जान खोज्नेहरू नै सचेत हुनुपर्छ,’ वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराई भन्छिन्, ‘बुझ्दै नबुझी वैदेशिक रोजगारीमा जाने प्रवृृत्तिले दिनहुँजसो ठगीका घटना सुन्नु परिरहेको हो ।’ वैदेशिक रोजगारीमा जाने व्यक्तिले सामान्य चासो दिने हो भने मात्र धेरै विकृतिको अन्त्य गर्न सकिने उनको धारणा  छ ।

पछिल्लो समयमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या घट्दै गएपछि मेनपावर र दलालको ध्यान महिलातिर तानिएको छ । वैदेशिक रोजगार विभागका कर्मचारीका अनुसार महिलालाई विदेश पठाउन  खोज्नेको संख्या केही महिनायता बढेको छ । अवैध चोरीको बाटो हुँदै महिलालाई वैदेशिक रोजगारीमा पुर्याउने गिरोह सक्रिय भएको विभागका कर्मचारीहरू बताउँछन् । ‘चोरीको बाटो हुँदै महिलालाई वैदेशिक रोजगारीमा पठाउँदा निकै जोखिम हुन्छ भनेर जानकारी दिइरहेका छौं,’ वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अधिकृत ताराबहादुर कुँवरले भने, ‘तैपनि महिलालाई बाहिर पठाउने गिरोह सक्रिय भइरहेको छ । यसको रोकथामका लागि सबैको सहयोग आवश्यक छ ।’

दलालले बढीमा एसएलसीसम्म अध्ययन गरेका, विवाहित त्यसमा पनि पति र घरपरिवारसँग राम्रो सम्बन्ध नभएका महिलाहरूलाई झुक्याएर वैदेशिक रोजगारीमा पठाउने गरेको कर्मचारी बताउँछन् । गाउँमा सामान्य जीवन बिताइरहेका युवतीसँग सुरुमा मायाप्रेमको नाटक गर्ने र विस्तारै उनीहरूको रकम कुम्ल्याउन दलालले वैदेशिक रोजगारीका लागि चोरीको बाटो प्रयोग गर्ने गरेका छन् । झुक्याएर महिलालाई वैदेशिक रोजगारीमा पठाउने धेरैजसो दलालले भारतीय बाटो प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फाटफुट रूपमा भुक्याएर वैदेशिक रोजगारीमा पठाउन थालेका महिलालाई रोेक्ने गरे पनि यो समस्यालाई रोक्न अन्य सरकारी निकाय सक्रियपूर्वक नलागेको अधिकारवादी बताउँछन् । विभागका एक कर्मचारी भन्छन्, ‘अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा पुगेका अधिकांश महिला आर्थिक र शारीरिक रूपमा शोषणमा परेका हुन्छन् ।’

त्यस्तै, नेपाल सरकारले श्रम स्वीकृति दिने गरेका एक सय ७ देशमध्ये (हाल सिरिया, लेबनान र इराक बन्द) महिला पठाउनै नमिल्ने देशमा समेत दलाल र मेनपावरले महिलालाई पठाएर शोषण गर्ने गरेको कर्मचारी बताउँछन् । ‘सामान्य पढलेख गरेका र सम्बन्धित देशको भाषा नबुझ्ने महिलालाई पनि दलाल र मेनपावरले वैदेशिक रोजगारीमा पठाउने गरेका छन्,’ वैदेशिक रोजगार पीडित फुर्वा शेर्पाले भनिन्, ‘जानै नमिल्ने अवस्थामा पनि सरकारी कर्मचारी, दलाल र मेनपावरको सेटिङले महिला विदेश पठाउने गिरोह सक्रिय छ । रोजगारीका लागि विदेश  पुगेपछि मात्र यथार्थ कुरा खुल्छ । तबसम्म पीडितले धेरै गुमाइसकेको हुन्छ ।’ उनी पनि चार महिना अघि साइप्रसबाट फर्केकी हुन् । कतिपय देशमा महिलालाई पर्यटक भिसामा पठाउने गिरोह पनि उस्तै सक्रिय छ ।

६ लाख महिलाको रेकर्ड भेटिँदैन

विदेशमा जाँदा आवश्यक पर्ने राहादानी लिएका महिलाको तुलनामा निकै कम संख्याका महिलाले श्रम स्वीकृति लिएको पाइएको  छ । राहादानी विभागका अनुसार हालसम्म ७ लाख ५७ हजार महिलाले राहादानी लिएका छन् भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर एक १ लाख ६१ हजार ५ सय १९ महिला रोजगारीका लागि विदेश पसेका छन् ।

राहादानी विभागका महानिर्देशक सुशीलकुमार लम्साल राहादानी लिएका महिलामध्ये केही अध्ययनका लागि विदेशिएको हुनसक्ने भए पनि ठूलो संख्यामा फरक देखिएकाले  खोजीनीति गर्नुपर्ने बताउँछन् । कतिपय व्यक्ति भने जति महिलाले राहादानी लिएका छन् । त्यसको अनुपातमा निकै कमले मात्र श्रम स्वीकृति लिएको तथ्यांक भेटिनुले ठूलो संख्याका महिला बेचबेखिनमा परेको आशंका गर्छन् । राहादानी लिनुको मुख्य उद्देश्य विदेश जानु भएकाले राहादानी लिएका महिलो विदेश नै गएको धेरैको आशंका छन् । वैदेशिक रोजगारीको नाममा ठूलो संख्या महिला बेचबेखिनमा पर्ने गरेका घटना विगतदेखि नै सार्वजनिक हुने गरेका छन् ।

 ‘दलालले एक लाख र राहदानी गायब बनायो’

सविना लामा

पीडित

मेरो घर सिन्धुपाल्चोकको स्याली हो । अध्ययन सामान्य लेखपढ मात्रै हो । संयुक्त अरब इमिरेट्स जान दलाललाई एक लाख रुपैयाँ दिएकी थिएँ ।  रकम दिएपछि विदेश जान पाइने आशा थियो । गाउँकै चिनेजानेका साथीको लहलहैमा लागेर दलाललाई रकम बुझाएकी हुँ । तर, अहिलेसम्म दलालको नाम र ठेगाना थाहा छैन । रकम लिनु अघि दलालले सिनामंगलमा रहेको एउटा मेनपावर कम्पनी आफ्नो हो भनेर देखाएको थियो  । तर, त्यो त उसको रहनेछ । पछि पो थाहा भयो । विदेश पठाउनु अघि निकै मीठा कुरा गरेको थियो ।   दलालले मीठा कुरा गर्नुको कारण झुक्याउनलाई पो रहेछ । रकम लिने व्यक्ति फरार भएपछि सोधीखोजी गर्दै काठमाडौंसम्म आएँ । तर अहिलेसम्म दलाल फेला परेको छैन । नबुझिकन रकम बुझाउँदा एकातिर विदेश जाने सपना चकनाचुर त भयो नै साथै बडो मुश्किलले जम्मा गरेको रकम पनि गायब भयो ।

‘राम्रा पारिश्रमिका लागि वैदेशिक रोजगारीमा’

सोनु महर्जन

कीर्तिपुर

काठमाडौंको एक घरजग्गा कारोबार कम्पनीमा काम गर्दागर्दै दुबई जाने निर्णय गरेकी हुँ । स्वदेशमा निकै न्यून (मासिक १० हजार रुपैयाँ) पाउने हुँदा गुजारा चलाउन गाह्रो भयो । त्यसैले दुबई जाने निर्णय गरेकी हुँ। दुबईमा मैले गर्ने काम अजुमान होस्टेलको प्रशासनिक काम हो । मासिक तलब करिब ७० हजार रुपैयाँ जति हुन्छ । मलाई के लाग्छ भने महिलालाई राम्रो काम र पारिश्रमि छैन भने वैदेशिक रोजगारीमा जानु हुँदैन । र, उमेरमा पनि विभेद गर्नु हुँदैन । १८ वर्षपुगेपछि महिला र पुरुषलाई समान व्यवहार गर्नुपर्छ । उमेरको फरक फरक मापदण्डले महिलालाई खासै सुरक्षित राख्दैन । मेरो विचारमा राम्रा पारिश्रमिक पाउन सीप र क्षमता सिक्न आवश्यक छ ।

कुन वर्ष कति महिला विदेश गए ?

आर्थिक वर्ष   संख्या

२०६३÷६४      २९०

२०६४÷६५    ४,६८५

२०६५÷६६    ८,५९४

२०६६÷६७    १०,०५६

२०६७÷६८    १०,४३६

२०६८÷६९    २२,९५८

२०६९÷७०    २७,७४२

२०७०÷७१    २८,९६६

२०७१÷७२    २२,०२८

२०७२÷७३   १७,९४२

२०७३÷७४ (साउन–पुससम्म) ७,८२२

जम्मा  १,६१,५१९

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका महिला

महिना संख्या

साउन  १,५४४

भदौ   १,४१६

असोज ८७१

कात्तिक १,४७१

मंसिर  १,०८१

पुस    १,४३९

जम्मा  ७,८२२

स्रोत वैदेशिक रोजगार विभाग

Published on: 8 March 2017 | Nagarik

Back to list

;