s

‘बदमास’ एजेन्टलाई किन उन्मुक्ति ?

Year of Publication: 31 January 2022 | Annapurna Post

Published by: CESLAM

वैदेशिक रोजगार व्यवसायी र उनीहरूका एजेन्टबाट युवा ठगिने गर्ने क्रम अझै रोकिएको छैन। विदेश पठाइदिने झूटा आश्वासन दिएर युवाबाट पैसा असुल गर्ने, काठमाडौं ल्याएर अलपत्र पार्ने र भएको सम्पत्ति पनि बेचबिखन गर्न बाध्य पार्ने म्यानपावर ‘एजेन्ट’ गाउँगाउँमा सक्रिय छन्।

एजेन्टहरूको ठगी र बदमासीका कारण विदेश जानु त परै जाओस्, आफ्नै पुख्र्यौली जायजेथा बेचबिखन गरेर ‘सडकको बास’ भएका हजारौं ज्युँदा कथा समाजभित्र छन्। स्वदेशमै रोजगारी र सुरक्षित भविष्य नदेखेपछि युवा विदेश पलायन हुने क्रम बढ्दो छ। कोही अध्ययनका नाममा त कोही श्रम र व्यापारका नाममा, दैनिक हजारौंको संख्यामा युवा बिदेसिन्छन्। तर, म्यानपावर कम्पनी र एजेन्टको बदमासीका कारण सबैले पूर्वसहमति अनुसारको सोचेजस्तो काम र दाम पाउँदैनन्। विदेशमा पुगेपछि मात्र ठगिएको थाहा पाउँछन्, जुन निकै ढिलो भइसकेको हुन्छ। यता केही यस्ता ‘बदमास’ एजेन्ट छन्, जसले विदेश पठाइदिने भन्दै स्वदेशमै युवालाई ठगिरहेका छन्। गाउँ घुम्दै युवालाई विदेशका सुन्दर सपना बाँड्ने, ऋण काढेर विदेश जान उक्साउने, उनीहरूबाट पैसा असुल गर्ने र राजधानीमा ल्याएर अलपत्र पारिदिने गरेका छन्। एजेन्टहरूका ‘गुलिया’ सपनामा मक्ख परेर युवाले गाउँका साहु, महाजनसँग चर्को ब्याजमा ऋण लिल्छन्। एजेन्टको पछि लाग्दै काठमाडौं आउँछन्। काठमाडौंमा पुग्नेबित्तिकै एजेन्ट गायब हुन्छन्।

विदेश पुग्नु त परै जाओस्, राजधानी आइपुग्दै युवाको बिजोग हुन्छ। ऋण निकालेको पैसासमेत एजेन्टले खाइदिन्छ। युवाका सबै सपना चकनाचुर हुन्छन्। साहुबाट लिएको ऋण तिर्नै मुस्किल हुन्छ। उता गाउँमा साहु महाजन भने ब्याजमाथि स्याज जोड्दै ऋणीको घरबारी कसरी हात पार्ने भन्ने ध्याउन्नमा हुन्छन्। अरू केही उपाय ननिस्केपछि बाबुबाजेको ‘सम्पत्ति’ तिनै साहुमहाजनलाई सुम्पेर घरबारविहीन बन्नुपर्ने बाध्यता आइपर्छ। म्यानपावर कम्पनीका एजेन्टबाट लेखपढ गर्न नजान्ने, सामान्य साक्षर भएका र विदेशबारे खासै जानकार नभएका युवा बढी ठगिएका छन्। उनीहरूलाई विदेश जाने प्रक्रिया, सर्त, सेवा र सुविधाबारे जानकारी पनि हुँदैन। एजेन्टको बोलीको भरमा पैसा र पासपोर्ट दिइसकेका हुन्छन्। बिनाप्रमाण पैसा दिँदा उनीहरू ठगिए पनि एजेन्टहरू कारबाहीमा पर्दैनन्। 

नेपाल प्रहरीका अनुसार ठगीमा परेका अधिकांश युवासँग एजेन्टलाई पैसा दिएको प्रमाण हुँदैन। त्यही कारण, ठगी गरे पनि एजेन्टहरू खुलेआम घुमिरहेका हुन्छन्। वैदेशिक रोजगारीमा ठगी बढेपछि दुई वर्षअघिदेखि प्रहरीले पनि यससम्बन्धी उजुरी हेर्न पाउने व्यवस्था गरिएको थियो। गाउँगाउँमा रहेका प्रहरी चौकीमा पीडितले सिधै उजुरी दिन पाउने र प्रहरीले नै अध्ययन र अनुसन्धान अघि बढाउने अधिकार दिइएको थियो। तर, प्रहरीले वैदेशिक रोजगारीका ठगीसम्बन्धी उजुरीलाई गम्भीरतापूर्वक लिँदैनन्। कतिपय एजेन्टसँग मिलेमतो गर्ने र पीडितलाई थप अल्मल्याउन सक्रिय हुने गरेको आरोप लाग्ने गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार ६ वर्षको अवधिमा ९ हजारभन्दा बढी युवालाई म्यानपावर कम्पनी र उनीहरूका एजेन्टले ठगी गरेका छन्। संस्थागत र व्यक्तिगत रूपमा झन्डै साढे ६ अर्ब रकम ठगी भएको उजुरी विभागमा परेका छन्।

वैदेशिक रोजगार ऐनले झूटो आश्वासन दिएर कसैले ठगी गरेमा पाँच लाखसम्म जरिवाना र सात वर्षसम्म कैदको व्यवस्था गरेको छ। ऐनको दफा ४३ र ४४ मा ठगी गर्नेलाई दण्ड सजायको व्यवस्था छ। तर, वैदेशिक रोजगारीका क्रममा दिनदिनै युवा ठगिने गरे पनि म्यानपावर व्यवसायी र एजेन्टमाथि कारबाहीको प्रक्रिया भने सुस्त छ। अर्कोतिर यो व्यवसायमा लागेकाको राजनीतिक दल र सत्तासँग नजिकको सम्बन्ध हुन्छ। ठगीसम्बन्धी उजुरी वा मुद्दा परे पनि उनीहरूले राजनीतिक संरक्षण पाउँछन्। आर्थिक चलखेल र राजनीतिक संरक्षणमा सहजै उन्मुक्ति पाउँछन्। त्यसबाट पीडितले थप पीडा व्यहोर्नुपर्छ। यो शृंखलाको क्रमभंग गर्न र ठगी गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारले साहसिक कदम चाल्नै पर्छ।

Published on: 31 January 2022 | Annapurna Post

Link

Back to list

;