s

बढ्यो पारपाचुके

Year of Publication: 3 March 2015 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

पति विदेश थिए, पत्नी स्वदेशमै जागिरे। जागिरबाट साँझको क्याम्पस गएर घर र्फकन थालेपछि आफन्त र छिमेकका केहीले 'घर ढिला आएको, केटासँग गएको' जस्ता कुरा उनका पतिलाई लगाउन थाले। त्यसपछि पतिको व्यवहार फेरियो। सधैं बिदामा आउँदा कुट्ने र फोनमा अनेकथरि आरोप लगाएर तनाव दिन थाले। यसरी नै चार वर्ष हिंसा सहेकी उनलाई बच्चा पेटमा हुँदासमेत कुटेपछि सँगै बस्न सकिनन् र जिल्ला अदालत कास्की पुगिन्। एउटा परिवार कानुनी प्रक्रिया पुर्‍याएर अलग भयो।

'लोग्ने विदेश थिए, अनि जागिर खान र पढ्न बाहिर निस्कन पर्‍यो,' उनले भनिन्, 'छोरीमान्छेले निस्कनै नहुने भन्दिए कसरी व्यवहार चल्छ?'

'खासमा महिला शिक्षा र आत्मनिर्भरतर्फ जुन गतिमा अघि बढे त्यो तुलनामा हाम्रो सामाजिक सोच परिवर्तनको गति ढिलो भयो,' पृथ्वीनारायण क्याम्पस समाजशास्त्र विभागीय प्रमुख शान्ति भुसालले भनिन्, 'आत्मनिर्भरतातर्फ अघि बढेकाहरू हिंसा सहेर बस्न सक्दैनन्। त्यसैले धेरै परिवारमा सम्बन्धविच्छेद बढेको हो।'

त्यस्तै कथा छ, सावित्री दाहालको पनि। राम्रो घर र केटा पाएको भन्दै १० वर्षअघि उनलाई ऋण गरेर माइतीले दाइजोमा मोटरसाइकल पनि दिई पठाएका थिए। ज्वाइँको जागिर नभएपछि माइतीले नै बेल्जियम पठाए। जब उनी त्यहाँ राम्रो कमाइ गर्न थाले, अर्की विवाह गरेर बाहिर राख्न थाले। दाहालले भनिन्, 'विवाह गरेको प्रमाण छैन तर आउँदा सँगै बस्छन्। विदेश पनि उसैलाई लाने गरेपछि कसरी सँगै बस्ने?' उनले अंशमुद्दासहित सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा निवेदन दिइन्।

कास्की जिल्ला अदालतमा एक महिनामा दर्जन हाराहारी सम्बन्धविच्छेदका निवेदन दर्ता हुन्छन्। आर्थिक वर्ष ०७०/७१ मा ५ सय ४८ वटा यस्ता मुद्दा परेका थिए भने साउनयता ३ सय ३८ वटा निवेदन दर्ता भएका छन्। मुलुकमा राजधानी काठमाडौंपछि पोखरा सर्वाधिक यस्ता मुद्दा पर्ने सहरमध्येको हो। 'पतिले हिंसा गरे, खान लाउन दिएनन् आदि मुल कारण भए पनि भित्री समस्या अरू पनि हुन्छन्,' अदालतका स्रेस्तेदार दिनबन्धु बरालले भने।

बालबालिकाको बिजोग

पति वैदेशिक रोजगारीमा रहेका बेला गत वर्ष पर्वतको पिपलटारीकी सीता विकले जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराइन्। पत्नीले आफूसँग बस्न नसक्ने बताउँदै मुद्दा हालेपछि त्यसैको अन्तिम टुंगोका लागि साउदी अरबबाट ओमप्रकाश विक घर फर्किए। गत जेठ १४ मा मुद्दा टुंगोमा त पुग्यो तर परिवारका दुई बालबालिकाको भविष्य बेटुंगो भयो। बाबु-आमा छुट्टनिुको असर उनीहरूको भविष्यमाथि परेको छ।

पिपलटारीकै अर्जुन पौडेल र शान्ति पनि सम्बन्धविच्छेदको प्रक्रियामा छन्। दुवै छुट्टनि तयार छन् तर हाल आमाका साथ रहेको चार वर्षे छोरोलाई के गर्ने भन्ने प्रस्ट छैन। जिल्ला अदालत पर्वतका अनुसार पछिल्लो तीन वर्षमा यस्ता मुद्दा बढेका छन्। ०६९/७० मा ४१, ०७०/७१ मा ४५ र चालु वर्षको गत साउनदेखि पुससम्ममा २५ वटा यस्ता मुद्दा दर्ता भएका छन्। अदालतका डिट्ठा शारदा शर्माका अनुसार अधिकांश मुद्दाका कारण वैदेशिक रोगजारीसँग जोडिएर उत्पन्न परिस्थिति छन्।

'धेरै परिवारमा लोग्ने-स्वास्नी राजीखुसीले छुट्टन्िछन्, असर नानीहरूलाई पर्छ,' अधिवक्ता भोलानाथ शमर्ाले भने, 'यसको सुदूर असरलाई ठ्याम्म केही मापकले नापेर देखाउन सकिँदैन।'

जे परेपनि महिलाले सहनुपर्छ भन्ने मान्यता पुरानो भएको उनले बताए। 'बढ्दो चेतना र महिलाका लागि कानुनमा धेरै अधिकार दिएपछि सम्बन्धविच्छेद पनि बढेको हो,' उनले भने। पछिल्लोसमय अदालतमा पर्ने महिलासम्बन्धीका मुद्दामध्ये ७० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदकै हुने गरेको दाबी उनले गरे। 'कानुनले १६ वर्षमुनिको बालबालिका आमाले पाल्ने र बाबुले खर्च बेहोर्ने त भनेको छ,' उनले भने, 'बालबालिकालाई मातृ वात्सल्य र अभिभावकत्वको अभाव देखिन्छ। कानुनले माया दिन त सक्दैन।' बाबुआमाको साथ नपाएका बालबालिका बरालिएर हिंड्ने गर्दा भविष्य नै अन्योलमा रहेका धेरै उदाहरण रहेको उनले बताए।

मुलुकी ऐन लोग्नेस्वास्नीको महल ३ मा उल्लेख भएअनुसार सम्बन्धविच्छेदपछि नाबालक केटाकेटीलाई आमाले राख्ने र उनीहरूको भरणपोषण बाबुले गर्नुपर्ने व्यवस्था छ। सोही महलमा आमाको आम्दानी बाबुको भन्दा बढी भए आमाले नै भरणपोषण गर्नुपर्ने व्यवस्था छ।

कारण फरक-फरक

गत माघ पहिलो साता म्याग्दी सदरमुकाम बेनीकी एक महिलाले राति १ बजे प्रहरीलाई फोन गरिन्, 'तुरुन्त आइदिनुपर्‍यो।' प्रहरी उनको घरमा पुग्दा फोन गर्नेकी बुहारी छिमेकीको कोठामा भेटिइन्। ८ वर्षे एउटा छोराकी आमा ती २५ वर्षे महिला पति विदेश हिंडेपछि छिमेकतिर जान थालेकी थिइन्। परिवारले बुहारी अस्वीकार गरेपछि प्रहरीले ती महिलालाई उनको माइतीलाई बुझायो।

कलिलै उमेरमा विवाह गर्दा पनि पछि सम्बन्धविच्छेदको अवस्थामा पुग्नु परेका धेरै उदाहरण छन्। म्याग्दी जिल्ला अदालतका अनुसार ०६९/७० मा ४७, ०७०/७१ मा १ सय ९ र चालु वर्षको पहिलो ६ महिनामा ७४ वटा यस्ता मुद्दा सम्बन्धविच्छेदका छन्।

सम्बन्धविच्छेद गराउनेमा मुद्दामा परेका १६ देखि २७ वर्ष उमेर समूहका महिला नै बढी हुन्छन्। १४ वर्षमा विवाह गरी १६ वर्षमा बच्चाको नाता कायम गराउने र सम्बन्धविच्छेद रोज्ने पनि छन्। 'धेरै मुद्दामा खानलाउन नदिएको, कुटपिट गरेको, बेवास्ता गरेको वा दोस्रो विवाहजस्ता बहाना बनाए पनि यथार्थमा सम्बन्धविच्छेदको भित्री कारण भने यौन अविश्वास नै मुख्य हुन्छ। 'बाहिर नभने पनि यो चुरो कुरो हो,' अधिवक्ता ठहरबहादुर भण्डारीले भने।

कलिलो उमेरमा विवाह, रेमिटयान्सको सदुपयोग नजान्नु र अनपेक्षित आर्थिक स्वतन्त्रताले अविश्वास बढाएर यस्ता घटना हुने बुझाइ समाजशास्त्रीको छ। 'मेलाजात्रामा किसोर उमेरमै रमाइलो गर्ने चलनले बालविवाह संरक्षित गर्नुका साथै यौन स्वच्छन्दता बढ्दा सामाजिक सम्बन्धहरू भत्केका छन्,' म्याग्दी बहुमुखी क्याम्पसका समाजशास्त्रका सहप्रध्यापक गोरखबहादुर जीसीले भने, 'कलिलो उमेरका किशोरीलाई बिहे गरी यौन लत लगाएर पति विदेश हिंड्दा पारिवारिक यौन अविश्वास बढेको छ।' मोबाइल फोन र इन्टरनेटका सामाजिक सञ्जालको दुरुपयोगले पनि विकृति बढाएको उनले बताए।

परदेशीको घरै अभरमा

कमाएर घरपरिवार सुखी गराउने भन्दै डेढ वर्षअघि कतार पुगेका गुल्मीको दर्लामचौर ६ का बिनबहादुर विक गएको ऋण तिर्न नपाउँदै घर र्फकन बाध्य भए। दुई वर्षका लागि गएका उनी छिटै काम छाडेर फिर्नुको बाध्यता थियो पत्नीले दोस्रो विवाह गर्नु।

घरमा चार छोराछोरी। आफूले दुःख गरेर कमाएको जग्गासमेत पत्नीकै नाममा भएकाले उनी आत्तिए। पत्नी हिंडेको खबर पाएपछि छिटै घर फिरे। 'आएपछि पत्नीले नपाए पनि मैले दुःख गरी कमाएर उनको नाममा पास गरेको मेरो जग्गा फिर्ता गराएँ,' उनले भने, 'के गर्नु कमाएर पत्नी र छोराछोरीका लागि राम्रो गरौंला भनेको, उल्टै आफैं दुःखी हुनुपर्‍यो।' आफूसँग भन्दा अर्कैसँग राम्रो हुन्छ भनेपछि अदालतबाट मंसिरमा सम्बन्धविच्छेद गरेको उनले बताए।

गुल्मीकै हरेवा ८ का दीपक कार्कीले १७ वर्षको उमेरमा आफ्नै उमेरकी सुमित्रा थापासँग प्रेम विवाह गरे। विहेलगत्तै रोजगारीका लागि साउदी पुगेका उनी पनि एक वर्षमै फर्किए। दुई वर्षका लागि गएका उनको पनि छिटो र्फकनुपर्ने बाध्यता थियो पत्नीसँगको सम्बन्धविच्छेद।

पत्नीले घरपरिवारसँग बस्न नसक्ने र आफूले सम्बन्धविच्छेद नै गर्न चाहेको भन्दै फोन गरेपछि छिटो र्फकनुपरेको कार्कीले बताए। 'सम्झाइ बुझाई गर्दा पनि सफल हुन सकिनँ,' उनले भने, 'सम्बन्ध नै नहुने भनेपछि अदालतबाटै छुटानाम गरिदिएँ।' सुमित्राले भने सानो उमेरमै प्रेम विवाह गरे पनि अहिले जीवन बुझेपछि सम्बन्धविच्छेद

गरेको बताइन्।

गुल्मीमा सम्बन्धविच्छेदका पछि मुल कारक वैदेशिक रोजगारी र कम उमेरमा भएको वैवाहिक सम्बन्ध छ। बिहे गरेर विदेश गएकाहरूका पत्नीको सम्बन्ध परिवारका अरू सदस्यसँग दिगो रहन समस्या हुने गरेपछि विवाद बढ्ने र अन्त्यमा साइनो टुट्नेसम्मको अवस्थामा पुगेका मुद्दा धेरै छन्। यसले परदेसीका घरमा कलह र बिखण्डन पनि बढाएको छ। पति विदेशमै भएका बेला छोराछोरी छाडेर कमाएको रकम नै लिएर हिंड्ने महिलाको संख्या पनि बढेको छ। यस्ता उजुरी गुल्मी प्रहरीमा मासिक सरदर १० वटा पर्ने गरेका छन्।

'वैदेशिक रोजगारी आम्दानीका लागि राम्रै देखिए पनि यसले पारिवारिक बिखण्डन भने बढाउने रहेछ भन्ने हेर्न हाम्रो समाजलाई राम्ररी नियाले पुग्छ,' दर्लामचौरका समाजसेवी तोयनारायण सापकोटाले भने, 'धेरैको सम्बन्ध केही महिनामात्रै टिकेको छ।'

गुल्मी जिल्ला अदालतका निमित्त स्रेस्तेदार रामबहादुर कुँवरका अनुसार अदालत आइपुगेकामध्ये अधिकांश घटना वैदेशिक रोजगारीसँग जोडिएर आएका छन्। उमेर पनि कलकलाउँदा, घर गरिखानेहरूको छुटानाम भएको छ। गुल्मीमा ०६९/७० मा ७७, ०७०/७१ मा ८७ र चालु वर्षको पुससम्ममा यस्ता मुद्दा ५४ वटा दर्ता भएका छन्।

मिलापत्र गरेर विच्छेद

सम्बन्धविच्छेदका केही घटना गोरखामा अलि नौला छन्। केही परिवारमा बहुविवाहका कारण आपसी लेनदेनमा सहमति बनाएपछि अदालतबाट सम्बन्धविच्छेद गरिएको पाइएको छ। मिरकोटका दुई छोराका बाबुको विदेशबाट फर्के लगत्तै पत्नीसँग झगडा हुन थाल्यो। छोराहरूको भविष्यको कारण उनले पत्नीलाई मिलाएर राख्न खोजे। 'उनले आफैंले सम्बन्धविच्छेद गर्न चाहेपछि मैले रोक्न सकिनँ,' उनले भने। ५ लाख रूपैयाँ लिएर सम्बन्धविच्छेद गरेकी पत्नीले केही महिनापछि नै अर्को विवाह गरिन्।

ताकुकोटका राजेन्द्र बराम विदेशबाट र्फकदा पत्नी सम्पर्कका थिइनन्। कमाएर पठाएको पैसासमेत लिएर हिंडेकी पत्नीलाई उनले घर फर्काउन खोजे। सम्बन्धविच्छेद चाहेपछि उनले मिलेर बस्न पारिवारिक सहयोग लिनपर्‍यो।

'छोराछोरीको भविष्यको कारण बाध्यताले मिलेर बस्नपरेको छ,' उनले भने। जिल्ला अदालतमा सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका छन्। तिनमा मिलापत्र गरेर सम्बन्धविच्छेद गर्नेको संख्या

बढी रहेको स्रेस्तेदार महेन्द्रप्रसाद भट्टराईले बताए।

मुद्दा दर्ता भएर अदालती प्रक्रिया अघि बढेपछि जोडीहरू मिलापत्र गरेर सम्बन्धविच्छेद गर्ने गरेको उनले बताए। जिल्ला अदालतमा गत वर्षमा दर्ता ८९ वटा यस्ता मुद्दामा ५८ जोडीले मिलापत्रमार्फत सम्बन्धविच्छेद गरेका थिए। बाँकी दुई मुद्दा वादी उपस्थित नभएकाले अदालतले खारेज गरिदिएको थियो।

मुद्दा दर्ता भएपछि बाहिरै छलफल गरेर पति/पत्नीले सम्बन्धविच्छेदको सहमति गर्ने गरेको उनले बताए। साउन यताका २५ सम्बन्ध विच्छेदका मुद्दामा ३ वटा मात्रै अदालतबाट फैसला भएका छन्। बाँकी २२ मध्ये २१ मुद्दामा जोडीले समझदारीमा सम्बन्धविच्छेद गरेका छन्। त्यसका लागि महिलाले नै अदालतमा मुद्दा दिनुपर्छ। पुरुषले सम्बन्ध तोड्न चाहे गाविस वा नगरपालिकाबाट सिफारिससमेत लिएर अदालत आउनु पर्छ। मिलापत्रबाट बढी सम्बन्धविच्छेद हुने हुँदा आपसी सहमतिमा पत्नीले मुद्दा दिने गरेको पाइएको छ।

-पोखराबाट वसन्ती बाँस्तोला, पर्वतबाट अगन्धर तिवारी, म्याग्दीबाट घनश्याम खड्का, गुल्मीबाट घनश्याम गौतम र गोरखाबाट सुदीप कैनी)

के भन्छ कानुन ?

मुलुकी ऐन लोग्नेस्वास्नीको महलमा लोग्नेले सम्बन्धविच्छेद गर्न पाउने चार कारण उल्लेख छ। जसअनुसार लगातार तीन वर्ष लोग्नेलाई छोडेर अन्यत्र बसेमा, लोग्नेको ज्यान जाने गरी आक्रमण वा अन्य कुनै प्रपञ्च गरेमा, स्वास्नीलाई निको नहुने कुनै रोग लागेमा र परपुरुषसँग करणी गराएको पाइएमा लोग्नेले मुद्दा दर्ता गराउन सक्छ।

महिलाले सम्बन्धविच्छेद गर्न पाउने ९ कारण छन्। जसअनुसार, पतिले अर्की ल्याएमा, घरबाट निकालेमा, खानलाउन नदिएमा, लगातार तीन वर्ष आफूबाट अलग बसेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, लोग्ने नपुंसक भएमा पत्नीले सम्बन्धविच्छेद गराउन पाउँछिन्। त्यसैगरी, महिलाले सम्बन्धविच्छेद गर्न पाउने अन्य

बुँदामा लोग्नेलाई निको नहुने यौनसम्बन्धी रोग लागेमा, लोग्नेले परस्त्रीसँग करणी गरेमा र स्वास्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा भन्ने पनि छ।

कानुनमा उल्लेख भएअनुसार पुरुषले यस्ता मुद्दा दर्ता गर्ने घटना निकै कम हुने अदालतले जनाएको छ। पर्वत अदालतकी डिट्ठा सविता ढुंगानाका अनुसार गएको तीन वर्षमा पुरुषले दर्ता गराएका यस्ता मुद्दा एकाध मात्रै छन्।

Published on: 3 March 2015 | Kantipur

Back to list

;