s

वैदेशिक रोजगारमा महिला

Year of Publication: 13 May 2013 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

देवी सापकोटा    

स्वदेशमा अवसर नभएको भन्दै विदेशतिर काम गर्ने जानेहरुको संख्या उल्लेख्यरूपमा बढ्दै गएको छ। प्रत्येक वर्ष ४ लाख युवा श्रम बजारमा आउँछन्। त्यसमध्ये ३ लाखभन्दा बढीले विदेशी मुलुकलाई नै गन्तव्य बनाउँछन्। देश ४० हजार युवाका लागि पनि रोजगार दिन सक्ने अवस्थामा छैन। त्यसो त युवा आफैँ केही गर्नतिर पनि चासो दिँदैनन्। बरू रोजगारी दिन नसकेको भनेर सरकारलाई गाली गर्दै विदेशिने गर्छन्।

पुरुषको तुलनामा वैदेशिक रोजगारमा जाने महिलाको संख्या कम छ तर जोखिममा पर्नेमा भने महिला बढी छन्। भारतको बाटो भएर रोजगारका लागि अन्य मुलुक जानेहरु अझ धेरै जोखिममा परिरहेका छन्। दलालले थोरै रकममा विदेश पठाइदिने लोभ देखाउँछन् भने प्रलोभनमा परेर धेरै महिला ठगिने र अलपत्रसमेत पर्ने गरेका छन्। कति दलालले त प्रेम र विवाहको समेत आशा देखाएर महिलामाथि शोषण गर्ने गरेका छन्। र, काममा लगाइदिने भन्दै विदेश लगेर बिक्री गरेका छन्। कतिपय महिला, जो घरेलु कामदारका रूपमा गएका छन्, उनीहरु सबैभन्दा धेरै हिंसाको शिकार भइरहेका छन्। श्रम तथा रोजगार मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा जाने महिलामध्ये ७० प्रतिशतभन्दा बढी समस्या कुनै रेकर्ड नभएका कामदारको देखिएको छ, जसमा भारत हुँदै लुकेर जानेहरु पर्छन्। दैनिक औसतमा तीन वटा शव नेपाल आउने गरेको रेकर्ड वैदेशिक रोजगार विभागसँग छ, जसमध्ये दुई वटा शव कुनै रेकर्ड नभएका कामदारको आउने गरेको पाइएको छ।

महिला श्रमिकको कुरा गर्ने हो भने जसको घरमा काम गरिरहेका छन्, उनीहरुबाटै शोषित भएका छन्। कति नेपाली महिला कामकै सिलसिलामा गएकाहरु नेपाल फर्कंदा अनिच्छित गर्भ वा बच्चासमेत लिएर आउन बाध्य छन्। जसले गर्दा महिलालाई त कठिन हुन्छ नै, घर परिवारबाट समेत निकालिने घटना हुने गरेका छन्। अहिले यस्तो डरलाग्दो अवस्था सिर्जना भइसक्यो कि वैदेशिक रोजगारबाट फर्केपछि एकले अर्र्कोलाई नस्वीकारेका घटना दिन/प्रतिदिन बढिरहेका छन्। हातमा सीप नभई जानेहरु बढी जोखिममा पर्ने गरेका छन्। हतार गरेर जस्तो काम भए पनि गर्न सकिहालिन्छ नि भनेर जाँदा जोखिमस्थलमा खट्नुपर्छ। रोजगारमा जानेहरु पूर्णरूपमा सुरक्षित छैनन्। गन्तव्य सुरक्षित नहुँदा/नहँुदै पनि स्वदेशमा अवसर कम र आर्थिकरूपमा राम्रो कमाइ गर्न सक्ने भन्दै विदेश जानेको संख्या दिन/प्रतिदिन बढ्दो छ।

वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सले देशको आर्थिक अवस्थामा केही राहत थपेको छ। तर त्यहाँ भएको कठिनाइ हटाउन भने सरकार गम्भीर भएको छैन। वैदेशिक रोजगारमा विशेषगरी घरेलु कामदारका रूपमा जाने महिला अनेकन समस्याबाट पीडित छन्। महिला कामदारको सुरक्षित रोजगारको प्रभावकारी प्रक्रियाबाट आवश्यक जानकारी तालिमपछि मात्र विदेश जाने व्यवस्था मिलाउनु आवश्यक छ। रोजगारमा जाने महिलाले पनि कानुनी प्रक्रिया पुर्‍याएर मात्र वैदेशिक रोजगारमा जानुपर्छ। आवश्यक प्रक्रिया पुर्‍याएर गएको खण्डमा पछि आउन सक्ने जोखिमबाट केही भए पनि बच्न सकिन्छ। र, जोखिम परेको खण्डमा केही राहत पनि प्राप्त गर्न सकिन्छ। त्यसैले पनि यसतर्फ चनाखो हुन जरुरी छ। कम खर्चमा लुकेर वा प्रक्रिया पूरा नगरीकन जाँदा धेरै जोखिममा पर्ने सम्भावना हुन्छ। रोजगारका लागि जाने महिलालाई उनीहरु जाने देशको भाषा, धर्म, सस्कृति, कानुनी अधिकारबारे पर्याप्त जानकारी नहँुदा जोखिममा पर्ने सम्भावना बढेको छ।

नेपालबाट रोजगारका लागि भन्दै विदेशिनेहरु अधिकांशले खाडी मुलुकलाई गन्तव्य बनाउने गरेका छन्। शहरको तुलनामा ग्रामीण भेगबाट खाडी मुलुकमा जानेहरुको संख्या बढ्दो छ। रोजगारका लागि जाने महिला पनि खाडी मुलुकलाई नै आफ्नो गन्तव्य बनाउने गरेका छन्। यसरी विदेश जानेहरुमा आर्थिक, सामाजिक हिसाबले पछाडि पारिएका महिलाको संख्या बढी छ। शिक्षा, व्यावसायिक तालिम नभएका महिला बढी छन्। रोजगारमा जानेहरु अधिकांश पहाडी भेगबाट छन्। रोजगारमा जाने महिललाई हेर्ने हो भने सामाजिक, आर्थिक हिसावले पछाडि पारिएका वर्गको संख्या अन्यको तुलनामा बढी छ। त्यसमध्येमा पनि घरेलु कामदारमा बढी छन्।

वैदेशिक रोजगारमा जानुपूर्व केही जान्नैपर्ने कुरा छन्, जुन प्रक्रिया पूरा गरेर जाँदा विदेशको काम र बसाई सहज बनाउन सकिन्छ । मानसिकरूपमा तयार भएर घर/परिवारसँग सरसल्लाह गरेरमात्र प्रक्रियाको थालनी गर्नुपर्ने हुन्छ। सरकारले निषेध गरेका मुलुकमा जानुहुँदैन। विदेशमा आइपर्ने सम्भावित जोखिमबारे मानसिकरूपमा तयार हुनुपर्छ। अधिकांशले विदेश भन्नासाथ ठूलो अपेक्षा गर्ने र पछि समस्या पर्दा अत्तालिएर आत्महत्यासमेत गरेका घटना पनि छन्। अनिवार्यरूपमा अभिमुखीकरण तालिम भनिए पनि त्यसलाई प्रभावकारी बनाउन नसक्दा लुकिछिपी भारतको बाटो भएर रोजगारमा जाने हँुदा यसले झनै जोखिम बढाएको छ। आफ्नो देश छोड्नुअगावै जुन देशमा जान लागेको हो, त्यहाँ गएर गर्ने कामबारे जानकार हुने, केही सिप सिकेको, आफूले  गर्ने काम सिकेको विवरण, प्राप्त गर्ने तलबबारे बुझेरमात्र जानुपर्छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति  लिएर मात्र वैदेशिक रोजगारमा जानुपर्छ। रोजगारकै क्रममा ठगीमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ। काम गर्न जाने देशको नेपाली राजदूतावास गैरआवासीय नेपाली एवम नेपाली संघ/संस्थाको सम्पर्क ठेगाना थाहा पाइराख्नुपर्छ। किनकि कुनै अप्ठ्यारो पर्दा उजुरी र कानुनी प्रक्रिया अगाडि बढाउन सहज हुन्छ।

Published on: 13 May 2013 | Nagarik

Back to list

;