s

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई ‘रातो झण्डा’

Year of Publication: 25 December 2019 | Kantipur

Published by: CESLAM

नारायण खड्का

अस्ट्रेलियाका दुई विज्ञले नेपाली विद्यार्थीहरुको बढ्दो संख्यालाई राेक्न अध्यागमन विभागले ‘रातो झण्डा’ देखाउनुपर्ने बताएका छन्।

उनीहरुकाे भनाइ उद्धृत गर्दैस्थानीय एक पत्रिकामा नेपाली विद्यार्थीहरु गरिब भएको, करिब ३ करोड जनसंख्या भएको देशबाट ५० हजार बढी विद्यार्थी अध्ययनका लागि आउनुअसहज भएकाे समाचार प्रकाशित भएको छ। उनीहरुको भनाइसहित आएको समाचारप्रति अस्ट्रेलियास्थित नेपाली दूतावासले शिक्षा मन्त्रालयसमक्ष चासो व्यक्त गर्दै ध्यानाकर्षण गराएको छ।

अस्ट्रेलियाको एक दैनिक पत्रिकाले नेपाली विद्यार्थी, उनीहरुको अध्ययन, संख्या, आर्थिक हैसियतलगायतलाई लिएर सिड्नी युनिभर्सिर्टीका एसोसिएट प्रोफेसर सालभाटोरे बारबोन्स र अस्ट्रेलियन नेसनल युनिभर्सिटीका प्रोफेसर एन्ड्रयु नर्टनको धारणासहित समाचार प्रकाशित गरेको छ।

समाचारमा उनीहरुले नेपाल धेरै जनसंख्या नभएको र अत्यन्तै गरिब देश भएकाले उनीहरु कसरी अस्ट्रेलियाको अध्ययनलाई धान्न सक्छन् भन्ने प्रश्न सिर्जना गरेको बताएका छन्। यसैगरी अस्ट्रेलिया आउने नेपाली विद्यार्थीहरु अधिकांश व्यावसायिक शिक्षा अध्ययनका लागि आउने र थोरै तलबमा धेरै काम गर्न बाध्य हुने जनाइएको छ। नेपाली विद्यार्थीहरुको बढ्दो संख्या रोक्नका लागि अध्यागमन विभागले ‘रातो झण्डा’ देखाउनुपर्नेसमेत उनीहरुले सुझाव दिएका छन्।

आइतबार प्रकाशित समाचारपछि क्यानबेरास्थित नेपाली दूतावासले अस्ट्रेलियाको शिक्षा मन्त्रालयमा औपचारिक पत्र लेखेर यसबारेमा ध्यानाकर्षण गराएको छ। दूतावासले प्रकाशित समाचारमा आएको धारणाप्रति चासो व्यक्त गर्दै यसबारेमा शिक्षा मन्त्रालयसँग विस्तृत जानकारी मागेको छ।
प्राध्यापक एन्ड्रयु नर्टन तस्बिर - द सिड्नी माेर्निङ हेराल्ड

‘हामीले समाचार प्रकाशित भएपछि नै यहाँको शिक्षा मन्त्रालयसमक्ष आधिकारिक रुपमा ध्यानाकर्षण गराएका छौं’, राजदूत महेशराज दाहालले भने, ‘शिक्षा मन्त्रालयबाट नेपाली विद्यार्थीहरु सबै कानुनी प्रक्रियाद्वारा अस्ट्रेलिया आएका र सबै पढिरहेकाले यसबारेमा आफ्नो धारणा परिवर्तन नभएको जनाएका छौँ।’ राजदूत दाहालले अष्ट्रेलियाको शिक्षा मन्त्रालयले प्रकाशित समाचार मन्त्रालयको आधिकारिक धारणा नभएको जानकारी दिएको बताएका छन्।

दूतावासले समाचार प्रकाशित भएपछि नेपाली विद्यार्थीहरुका बारेमा यस्तो धारणा दिने विज्ञहरुसँग बसेर छलफल गर्ने प्रयास गरिरहेको जनाएको छ। राजदूत दाहालले आफूहरुले दुवै प्रोफेसरहरुसँग यसबारेमा धारणा बुझ्नका लागि भेट्ने प्रयास गरिरहेको बताए। दाहालले दुई प्रोफेसरहरुको भनाइ उनीहरुको व्यक्तिगत भएको र कुनै अनुसन्धानबिना नै सार्वजनिक गरिएको धारणा भएकाले समेत यसले कुनै असर नगर्ने धारणा बताए।

यसैगरी ग्रिफिथ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरिरहेका विक्रम तिमिल्सिनाले दुई प्राध्यापकले अनुमानका भरमा आफ्नो धारणा राखेको प्रतिक्रिया दिएका छन्। तिमिल्सिनाले भने, ‘तोकिएका सबै प्रक्रिया पुरा गरेर अस्ट्रेलिया सरकारले भिसा दिएर आएका विद्यार्थीलाई उनीहरुको राष्ट्र, राष्ट्रियता र आर्थिक अवस्थाप्रति इङ्गीत गर्दै प्रस्तुत हुन आवश्यक थिएन।’

नेपाली विद्यार्थीको बढ्दो संख्यालाई ‘रातो झण्डा’ देखाउनुपर्ने सुझाव दिइएको यो मिडिया रिर्पोट मात्र भएको र यसले दुई देशबीचको सम्बन्धमा कुनै प्रभाव नपर्ने उनी बताउँछन्। नेपाल र नेपालीको अपमान गर्नुभन्दा पनि नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीको संख्या नियन्त्रण गर्नु अस्ट्रेलियाको हितमा हुने पक्षमा प्राध्यापकको धारणा आएको उनी बताउँछन्।

अस्ट्रेलियाली सरकारको तथ्यांकअनुसार ६५ हजार ७ सय ४६ जना नेपाली विद्यार्थीले अस्ट्रेलियामा विभिन्न विषयमा अध्ययनका लागि भर्ना गरेका छन्। शिक्षा विभागको तथ्यांकअनुसार अहिले अस्ट्रेलियामा उच्च शिक्षा अध्यययनका लागि ३२ हजार ७ सय ५१ विद्यार्थी भर्ना भएका छन् भने व्यावसायिक तालिमतर्फ २८ हजार १ सय ४९ छन्। यसैगरी अंग्रेजी अध्ययन गर्नका लागि (एलिकोस) मा ३ हजार ८ सय ९८ जना भर्ना भएका छन्। उपलब्ध तथ्यांकअनुसार गत वर्षको यही समयको तुलनामा नेपाली विद्यार्थी संख्या करिब १७ हजार बढी हो।

Published on: 25 December 2019 | Kantipur

Link

Back to list

;