s

अस्ट्रेलियामा कानुनी समस्या झेल्दै नेपाली

Year of Publication: 15 December 2019 | Kantipur

Published by: CESLAM

विभिन्न अपराधमा संलग्न करिब सयजना नेपाली हाल अस्ट्रेलियाका डिटेन्सन सेन्टर र ३५ भन्दा बढी जेलमा छन्

नारायण खड्का

अस्ट्रेलियाको सिड्नीस्थित एउटै घरमा कोठा सेयर गरेर बस्ने दुई जोडीबीच झगडा पर्‍यो । झगडा कुटाकुटसम्म पुगेपछि उनीहरू प्रहरीसम्म पुग्नुपर्‍यो । स्थानीय एक वकिलको सहायतामा अहिले उनीहरू जमानतामा रिहा भएका छन् । केही समयअघि सिड्नीमै रातको समयमा एकआपसमा झगडा गरेर कुटाकुट गर्दा नेपाली विद्यार्थी जेलमा पुग्न बाध्य भए ।यसैगरी, विदेशमा रहेकी आफ्नी प्रेमिकाको अन्तरंग फोटो सार्वजनिक गरिदिने धम्की दिएका एक नेपाली विद्यार्थीसमेत जेलसम्म पुग्न बाध्य भए ।

पछिल्लो समय नेपालीको जनसंख्या बढेसँगै अस्ट्रेलियामा विभिन्न कारणले कानुनी समस्यामा फस्ने नेपालीको उदाहरण मात्रै हुन् यी घटनाहरू । आधिकारिक तथ्यांक नभए पनि कानुनी राज्यमा अत्यन्तै कडा रूपमा स्थापित अस्ट्रेलियाका विभिन्न जेलमा अहिले पनि करिब ३ दर्जन नेपाली विभिन्न अपराधमा रहेको यस क्षेत्रमा काम गरिरहेका वकिलको भनाइ छ । विशेषत: घरेलु हिंसा, शारीरिक शोषण, यौन हिंसा, आपसी झगडालगायत मुद्दामा नेपालीहरू कानुनी समस्यामा पर्ने गरेका छन् । सिड्नीमा रहेर ‘क्रिमिनल ल’ विशेषता हासिल गरेका वकिल खिलेन्द्रराज तिम्सिनाका अनुसार श्रीमती कुट्नेदेखि यौनहिंसासम्मका घटनामा नेपाली जेलमा बस्न बाध्य छन् ।

नेपाली कानुन व्यवसायीहरूका अनुसार अहिले सबैभन्दा धेरै नेपाली अस्ट्रेलियास्थित अध्यागमन विभागको ‘डिटेन्सन सेन्टर’ मा रहेका छन् । भिसा नभएको, विभिन्न कारणले भिसाको सर्त पूरा नगरेको, नक्कली विवाहको शंकामा छानबिनमा परेको लगायतका विभिन्न भिसासम्बन्धी उल्झनमा परेकालाई विभागले यस्तो सेन्टरमा राख्ने गरेको छ । यथार्थ तथ्यांक उपलब्ध नभए पनि १ सय बढी नेपाली यहाँका विभिन्न डिटेन्सन सेन्टरमा रहेको उनीहरूको भनाइ छ । ‘नेपालीको संख्या बढेसँगै यस्ता घटनासमेत बढेका हुन ।’ यस्ता सेन्टरमा रहेका करिब ३० जना नेपालीलाई कानुनी सहायता पुर्‍याइरहेका तिम्सिना बताउँछन् । सिड्नीमै रहेर नेपालीलाई कानुनी सहयोग पुर्‍याइरहेका अर्का वकिल भरत पोखरेल सबैभन्दा ठूलो समस्या नै लापरबाही र हेलचेक्र्याइँ भएको सुनाउँछन् । ‘मुख्य कुरा अस्ट्रेलिया आइसकेपछि के गर्न हुन्छ, के गर्न हुँदैन भन्नेबारे बुझ्न र बुझे पनि व्यवहारमा ल्याउन नसकेकाले नै समस्या बढिरहेको हो ।’

पोखरेलका अनुसार नेपालीहरू दोहोर्‍याएर घरेलु हिंसा गरेका, यौनशोषणको आरोप लागेका, आपसी झगडा, लागूऔषध लगायतका मुद्दामा कानुनी समस्यामा फसेका छन् । अहिले पनि विभिन्न मुद्दामा जेलमा रहेका करिब १० जना नेपालीलाई कानुनी सहायता पुर्‍याइरहेको बताउने उनी नेपालीलाई जनचेतनाका साथै नेपाल र अस्ट्रेलियाको कानुनी प्रक्रियाका बारे बुझाउन आवश्यक भइसकेको धारणा राख्छन् । ‘नेपालको कानुनी प्रक्रिया र जुन संस्कारबाट आइएको छ त्यो संस्कार र प्रक्रियाभन्दा अस्ट्रेलियामा फरक हुन्छ भनेर बुझाउन आवश्यक भइसकेको छ,’ पोखरेल कान्तिपुरसँग भन्छन् ।

नेपालीहरू पछिल्लो समयमा विभिन्न कानुनी समस्यामा पर्ने क्रम बढिरहेको प्रति क्यानबेरामा रहेको दूतावाससमेत जानकार भए पनि आधिकारिक तथ्यांक संकलन र सहयोग पुर्‍याउन सकेको छैन । दूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटा आफूहरूको तथ्यांकमा करिब ७ जना नेपाली जेलमा रहेको बताउँछिन् । ‘हामीले विभिन्न माध्यमबाट जानकारी संकलन गर्ने कोसिस गरिरहेका छौं तर यथार्थ आउन सकेको छैन ।’

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल पछिल्लो समय यस्ता घटना बढिरहेको भए पनि आफूहरूले प्रत्यक्षरूपमा केही गर्न नसक्ने सुनाउँछन् । ‘हामीले अस्ट्रेलियाको कानुनी प्रक्रियाको उच्च सम्मान गर्नुपर्छ र केही घटना भए यहाँको नियमअनुसार नै हुन दिनुपर्छ ।’ दाहालको भनाइ छ । उनी घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विभिन्न सरोकारवालासँग दूतावासले छलफल गरिरहेको सुनाउँछन् ।

अस्ट्रेलियाका बारे धेरै अध्ययन गरेर नआउने र आइसकेपछि यहाँको कानुनलाई नेपालको कानुनजस्तै ठान्ने प्रवृत्ति नै कारक भएको सामाजिक संस्थाका प्रतिनिधिहरूको ठम्याइ छ । प्रवासी नेपालीहरूको संगठन एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल यहाँ आउने नेपाली विशेषत: विद्यार्थीहरूले अस्ट्रेलिया र नेपालको संस्कार र कानुनी फरकपनका बारे बुझ्न आवश्यक भएको बताउँछन् । ‘यो समस्या नेपाली समाजमा गम्भीर रूपमा आइरहेको छ र यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर हामीले दूतावास, वाणिज्य दूतावास तथा अन्य संघसंस्थासँग मिलेर जनचेतनामूलक कार्यक्रम ल्याउने तयारी गरिरहेका छौं,’ कँडेलले भने ।

Published on: 15 December 2019 | Kantipur

Link

Back to list

;