s

अस्ट्रेलियाको सपना इन्डोनेसियामा अलपत्र, बन्धक बनाएर लाखौं असुली

Year of Publication: 21 September 2019 | Nagarik

Published by: CESLAM

हरिकृष्ण गौतम

थोरै पैसामा सुरक्षित र छोटो समयमै समुद्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनाअघि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिताउन बाध्य भइन्। ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमार्फत नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेका खत्रीसँगै ६ जनालाई अस्ट्रेलिया पुर्याउनुको साटो एक अपार्टमेन्टमा बन्धक बनाइयो। इन्डोनेसियामा बन्धक बनाइएका उनीहरूले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुप¥यो। मानव तस्करका दलालहरूले चर्को यातना दिएर उनीहरूलाई अस्ट्रेलियाको बोर्डरमा पुगेको भन्दै घरबाट थप पैसा मगाउन दबाब दिन थाले। घरबाट पैसा मगाउन नसकेपछि दलाले उनीहरूलाई इन्डोनेसिया अध्यागमनको जिम्मा लगाए। दलालकै इसारामा प्रहरीलेसमेत कुटपिट गरेपछि हिरासतभित्रै बिरामी भएकी खत्रीले म्याग्दीका चन्द्रकुमार केसीलाई उद्धारका लागि अपिल गरिन्। सात महिना लामो कानुनी प्रक्रिया पूरा गरी उनीहरू हालै नेपाल फर्किएपछि यो विषय बाहिर आएको हो।

‘मिठा–मिठा सपना देखाएर अवैध तरिकाबाट अस्ट्रेलिया लैजाने नयाँ रूट इन्डोनेसिया बनेको छ। यसरी इन्डोनेसिया पु¥याइएका धेरै नेपाली मानव तस्करको जालोमा फसेका छन्,’ उद्धारपछि बेनी आएकी खत्रीले भनिन्, ‘इन्डोनेसिया पुर्याएपछि बन्धक बनाई पैसा असुल्ने गिरोह नै छ। ईश्वरका कृपाले, अन्तिम समयमा एउटा मोबाइलबाट हामीले नयाँ जीवन पायौं।’ उनले केसीलाई मोबाइलबाट आफ्नो तस्बिर पठाएर उद्धारका लागि सहयोग गर्न भनेकी थिइन्। खत्रीका अनुसार दलालहरूले अस्ट्रेलिया र क्यानडा लैजाने भन्दै इन्डोनेसिया पुर्याएर लाखौं रकम माग्छन्। नदिए त्यहीं बन्धक बनाएर यातना दिन्छन्। मानव तस्कर गिरोहले अस्ट्रेलिया र क्यानडाको सपना देखाएर इन्डोनेसिया पुर्याएर सयौं नेपालीलाई अलपत्र पारेको छ। इन्डोनेसियामा रहेका नेपाली दलाल शिव शर्मा र अस्मिरा चौलागाईले भारत पन्जाबको पठानकोट गुर्दासपुर घर भई इन्डोनिसियामै बस्दै आएका पुरुषोत्तमलालको सहयोगमा नेपालीलाई यातना दिने गरेको खत्रीसमेत ती पीडितले बताए। दलाले नेपालबाट १० लाख रुपैयाँमा अस्ट्रेलिया पुर्याउने भन्दै इन्डोनेसिया लैजाने र त्यहाँ पुर्याएपछि बन्धक बनाएर ३० लाखसम्म असुल्ने गरेको अन्य पीडितले बताएको जानकारी खत्रीले दिइन्। खत्रीका अनुसार दलाले मागेजति पैसा घरबाट मगाएर नदिए अलपत्र छाडिदिन्छन्। ‘नेपाली दलालको सहयोगमा भारतीयले थप पैसा माग्ने गर्थे। बन्धक बनाएर चर्को यातना दिएपछि नेपाली पैसा मगाउन बाध्य हुन्छन्,’ खत्रीसँगै उद्धार गरिएका अर्का विक्रम बरालले भने। बरालसँगै विजय लामा र गणेशप्रसाद रिजाल पनि नेपाल फर्किएका छन्।

उद्धार गरिएका उनीहरूको सहयोगमा नेपाली दलाल चौलागाई र शर्मालाई नेपाल आएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयबाट प्रहरीको जिम्मा लगाइएको इन्डोनेसियामा अलपत्र नेपालीको उद्धारमा सक्रिय केसीले बताए। त्यस्तै ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेजबाट सम्पर्कमा आएका थप नेपालीलाई लैजान नेपाल आएका पुरुषोत्तमलाललाई समेत मानव बेचबिखन तथा नियन्त्रण ब्युरोले पक्राउ गरेको केसीले बताए। ‘म्याग्देली चेलीको प्रयासमा एउटा अन्तर्राष्ट्रिय मानवतस्करको जालो तोड्न सफल भएका छौं,’ सामाजिक अभियन्ता समेत रहेका केसीले भने, ‘सयौं नेपाली युवालाई इन्डोनेसिया लैजाने तस्कर गिरोहको प्रयास असफल भएको छ।’ फेसबुक र मेसेजमार्फत नेपाली दलालको सहयोगमा बेलायत र युरोपका विभिन्न देशको नक्कली पासपोर्टमा नेपाली युवालाई इन्डोनेसिया पुर्याएर फसाउने गरेको पाइएको ब्युरोले जनाएको छ। प्रहरीका अनुसार इन्डोनेसियामा बन्धक बनाइएका युवाको सहयोगमा नेपालबाट त्यहाँ पुर्याउने दलालहरू बेनी नगरपालिकाका ३० वर्षीय डोलेन्द्र कार्की, दोलखा गैरीमुदी गाउँपालिका–१ का ३० वर्षीय शशी लामा, काभ्रे पनौती नगरपालिका–४ का २८ वर्षीय अर्जुन कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

तस्कर गिरोहले अस्ट्रेलियार, क्यानडालगायत मुलुकमा आकर्षक काम लगाइदिने भन्दै प्रतिव्यक्ति २० देखि ३० लाख रुपैयाँसम्म लिने गरेको खुल्न आएको छ। यसैबीच इन्डोनेसिया लगेर अलपत्र पार्ने मानव तस्करको गिरोहलाई पक्राउ गर्न साहसिक प्रयास गरेको भन्दै म्याग्दीकी मुना खत्रीलाई लायन्स क्लब म्याग्दीले सम्मान गरेको छ। उनकै प्रयासमा इन्डोनेसियामा लगेर बन्धक बनाइएका ६ जनासमेतको उद्धार भएको थियो।

Published on: 21 September 2019 | Nagarik

Back to list

;