s

अस्ट्रेलियाको कानुन विद्यार्थीले जानुन्...

Year of Publication: 8 November 2019 | Setopati

Published by: CESLAM

संख्या बढेसँगै नेपाली विद्यार्थीसँग जोडिएका घटनाक्रमहरु पनि अस्ट्रेलियामा बढेको पाइन्छ।

सवारी दुर्घटना, समुन्द्र डुबान, यौन अपराध, झैझगडा, आपसी कलहजस्ता घटनाक्रमले कतिपय नेपाली विद्यार्थी प्रहरीको हिरासतमा पुगेका छन्। कयौं विद्यार्थीको भिसा समेत रद्द भएका उदाहरण छन् भने कतिपयले अदालतबाट जमानत पाएर राहतको सास फेरेका छन्।

रातभर ‘जाँड’ खाएर एकाबिहानै काममा कुद्ने हुन् वा १४ घन्टा काम गरेर गाडीमै सुत्ने हुन्। कथा र ब्यथाको कमी छैन यहाँ।

नेपाली लाइसेन्समा गाडी हुँइकाउनेहरुको आफ्नै रामकहानी छ। सक्कली भन्दा नक्कली लाइसेन्सको बिगबिगी भएको अस्ट्रेलियामा राज्यले दिएको सुविधा भरपुर मनोरन्जन गरेका छन् युवा पींढीले।


दुर्घटना नहुन्जेल त ठिकै छ, तर दुर्घटनापछि नक्कली लाइसेन्सले पिरोलेर उठिबास लाग्नेहरुको कमी छैन। अर्वन पार्कमा एक विदेशीको बच्चा बोक्दा अनाहक प्रहरीको खोरमा पुगेका आकाश (नाम परिर्वतन)ले आफुलाई यहाँको कानुनबारे स्पष्ट जानकारी नभएको बताएका थिए।

यस्तै सिड्नी ट्रेनमा हर्षभीलबाट सिटी आउँदै गर्दा केटीलाई जिस्काएका कारण मनोज (नाम परिवर्तन) प्रहरीको खोरमा पुगे।

लापरबाही गरी गाडी चलाउनु अपराध बन्न सक्छ भन्ने विषयमै नेपाली विद्यार्थीमा अनविज्ञता देखियो। पछिल्ला केही घटनाक्रमलाई नै हेरौं, कुमाको दुर्घटनामा दुई नेपाली विद्यार्थीले ज्यान गुमाउँदा चालक सागर अहिलेसम्म पुर्पक्षका लागि थुनामा छन्।

दुर्घटनाबाट बाचेर आमा बुबा भेट्न स्याङ्जा हिँडेका उनी सिड्नी विमानस्थलबाटै पक्राउ परे। लापरबाहीपूर्वक गाडी चलाउनेलाई कानूनले अपराध मान्छ भन्ने थाहा नभएका उनी पक्राउपछि अचम्मित भए।


त्यस्तै पानीमा डुबेर ज्यान गुमाउने नेपालीको संख्या अस्ट्रेलियामा मनग्गे छ। समुन्द्री बहावसँग घुलमिल हुन नसक्ने र लापरबाही गरेका कारण दुर्घटना बढेको देखिन्छ। वर्षमै ५ नेपाली विद्यार्थीले पानीमा ज्यान गुमाएका छन्।

राज्यको कानूनी प्रकृयाका बारेमा अनविज्ञ हुँदा नेपाली विद्यार्थी जरिवानामा परेका उदाहरण दिनहुँ भेटिन्छन् विमानस्थलको अध्यागमनमा।

अस्ट्रेलियन भूमी टेक्दै गर्दा अध्यागमन फर्ममा घोषणा नगरिकन, चुरोट, गुन्द्रुक, सुकुटी र दूधबाट बनेका समान ल्याएकाले पछिल्लो समय कयौं अभिभावक समेत अप्ठ्यारोमा परेका उदारहण छन्।

दुई हप्ताअघि मात्र अस्ट्रेलियाको अध्यागमन विभागले बिना घोषणा दुई किलो सुकुटी र चार किलो बंगुरको मासु ल्याएको अभियोगमा भियतनामी महिलाको भिसा रद्द गरिदिएको समाचार चर्चामा रह्यो।

अस्ट्रेलिया आएको डेढ वर्षमै श्रीमतीले सानोतिनो झगडामा प्रहरी बोलाइदिएपछि पैसाको खोलो बगाएका सुरज अहिले अप्ठेरोमा छन्।

श्रीमती गइन्, पैसा हालेर डिपेन्डेन्डमा आएका सुरज नेपाल फर्किउँ कि ऋण खोजेर फेरी कलेज भर्ना होउँ भन्ने अलमलमा छन्। यो पनि आफ्नो आवेग र कानुनी झमेलाको मामिला नबुझेकै कारण भएको उनको ठम्याई छ।

भ्रमण भिसामा आएर यतै विद्यार्थी बन्छु भन्नेको लागि पनि अबका दिन ‘फलामको चिउरा’ बन्दै छ। एक भारतीय विद्यार्थीले टुरिष्ट भिसामा आउँदा आफ्नो शैक्षिक तथा चारित्रिक प्रमाणपत्र सँगै ल्याएकाले अध्यागमनले मेलवर्न विमानस्थलबाटै फर्काइदिएको छ।

यति मात्र होइन पछिल्लो हप्ता एक वर्षे मल्टीपल टुरिष्ट भिसा पाएर सिड्नी आएका एक नेपाली तीन महिना बितिसकेपछि पुनः भिसा थप्न बाली गएर फर्कने क्रममा बिमानस्थलबाटै पक्राउ परे। उनलाई नेपाल पठाउने तयारी गरिएको छ। उनको मोबाइल चेकजाँच गर्दा काम खोजेको प्रमाण भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

उच्च अध्ययनमा आएका विद्यार्थीको पहिलो ध्येय भनेको पढाइ नै हुनुपर्ने सिड्नीका कानुन व्यवसायी भरत पोखरेल बताउँछन्।

क्षतिपूर्ति सम्वन्धी विशेषज्ञता हासिल गरेका पोखरेल भन्छन् ‘कतिपय विषयमा अन्जान र अनाहकमा पनि नेपाली विद्यार्थी प्रहरीको निशानामा पर्न सक्छन्, त्यसमा सहयोग गर्दै आएको छु।’

यस्ता थुप्रै महत्वपुर्ण विषयहरुमा अध्ययन र प्रचारको खाँचो छ। पछिल्लो पटक दुर्घटनाको शिकार बनेका नेपाली विद्यार्थीमा आधाजसोको बीमासम्वन्धी काम पोखरेलले गरिदिएका थिए।

‘विद्यार्थीहरु सम्वन्धित विज्ञको सहयोग लिँदैनन्, आफै समाधान गर्नेतिर लाग्छन्’ पोखरेलले भने ‘त्यसले उनीहरुलाई कालान्तरसम्म पिरोलेको देख्छु।’

कानुन र नीति नियम मात्र होइन, क्षतिपूर्ति सम्वन्धी जानकारी समेत नेपाली विद्यार्थीमा नरहेको देखिन्छ। गाडी दुर्घटना हुँदा, काममा क्रममा घाइते हुँदा , राज्यले तोकेको भन्दा कममा ज्याला लगाएर श्रम शोषण हुँदा, काममा यौन शोषण हुँदा पाइने क्षतिपूर्तिका सम्वन्धमा नेपाली अनविज्ञ रहेको पाइन्छ।

विद्यार्थीहरु दुर्घटनामा ज्यान गुमाउँदै गर्दा लास उठाउन र पठाउन हात थाप्दै हिँड्नु पर्ने परिपाटी पनि बन्द गर्नुपर्छ। विद्यार्थीले गरेको बीमामार्फत दुई लाख डलरको हाराहारीमा क्षतिपूर्ति पाइने विषय विस्तारै उजागर भएको छ।

पढ्ने र मेहनत गर्नेका लागि स्वर्ग पनि छ अस्ट्रेलिया। मोजमस्तीमा डुब्नेका लागि नर्क पनि खोज्न जानु पर्दैन यहाँं। विश्वविद्यालयका टपरदेखि सम्पत्तिका सेतुसम्म, 'जोकर'देखि लागू पदार्थमा झुम्ने केतुहरुको कमी छैन अस्ट्रेलियामा।

त्यसैले पनि उच्च अध्ययनका लागि सुन्दर भविष्य बोकेर आउने विद्यार्थीहरु अस्ट्रेलिया आउँदै गर्दा सुमन्द्री तट र गगनचुम्बी भवन हैन, यहाँको नीति नियम र संभावनाका आयामहरुलाई नियाल्नु जरुरी देखिन्छ।

Published on: 8 November 2019 | Setopati

Link

Back to list

;