s

अष्ट्रेलिया जान प्रेमी-प्रेमिका मिलेर उपत्यकामा श्रृंखलाबद्ध चोरी

Year of Publication: 26 June 2023 | Setopati

Published by: CESLAM

गत जेठ २८ गते ललितपुरको मानभवनमा ग्लोवल लिंक टेक्नोलोजीमा चोरी भयो।

जिल्ला प्रशासन कार्यालय सामुन्नेबाट ल्यापटपहरू चोरी भएपछि संचालक ओमप्रकाश प्रधानले प्रहरीमा उजुरी गरे।

ललितपुरका अन्य स्थानमा पनि यस्तै प्रकारको चोरीको उजुरी आइरहेपछि प्रहरीले चोरीमा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन अनुसन्धान अघि बढायो।

झण्डै २ साताको अनुसन्धानपछि प्रहरीले शनिबार काठमाडौंको कलंकी नजिकै रहेको सोल्टीसिटी अपार्टमेन्टबाट काठमाडौं-१ नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका काठमाडौं-१६ की १९ वर्षीया रोशनी महर्जनलाई पक्राउ गर्यो।

ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धीबिक्रम शाहका अनुसार उनीहरू दुबै जना लिभिङ टुगेदर बस्ने गरेका थिए। महर्जनले श्रेष्ठसँग मिलेर चोरी गर्ने गरेको शाहले बताए।

सुवोध श्रेष्ठ २०६१ सालमा चोरीकै मुद्दामा ९ महिना जेल बसेर छुटेको प्रहरी रेर्कडमा उल्लेख छ। जेलबाट छुटेपछि उनले महाबौद्धमा आइटीसम्बन्धी काम सिकेर आफ्नै पसल समेत खोलेका थिए।

आइटीको काम सिकेपछि उनले काठमाडौंमा संचालनमा रहेका विभिन्न आइटीकै कम्पनीमा सामान खरिद गर्न दिउँसो गएर कुराकानी र रेकी गर्ने रातको समयमा भने चोरी गर्ने गरेको एसएसपी शाहले बताए।

उनीहरूले चोरी गरेको सामान हाम्रो बजार डट कममा हालेर बेच्ने गरेको खुलेको शाहले जानकारी दिए। श्रेष्ठ जोडीले ललितपुर र काठमाडौंमा गरेर ४ स्थानमा चोरेको बयान दिएका छन्।

तर प्रहरीले भने यी दुई जिल्लामा उनीहरूले ८ स्थानमा चोरी गरेको दाबी गरेको छ।

उनीहरूले चोरी गरेकै पैसाले अपार्टमेन्टलाई मासिक ६० हजार भाडा तिर्ने गरेको, खाना पनि हरेक दिन रेष्टुरेन्टबाट मगाउने गरेको प्रहरी समक्ष बताएका छन्।

एक स्थानमा चोरी गर्न जाँदा उनीहरूले ३ वटा सम्म पठाओ बुक गर्ने गरेका थिए। प्रहरीबाट उम्कन सकियोस् भनेर उनीहरूले एक पटक पठाओ बुक गरेपछि त्यो मोबाइल नम्बर अर्को पटक प्रयोग गर्दैनथे।

अष्ट्रेलिया जानका लागि आइएलटिएस गरिरहेको र त्यहाँ जान लाखौं रुपैयाँ लाग्ने भएपछि चोरी कार्यमा लागेको उनीहरूले प्रहरी समक्ष दिएको बयानमा भनेका छन्।

पुतलीसडकको एक आइटी कम्पनीमा उनीहरू रातको ११ बजे छिरेर बिहान ५ बजे निस्किएको एसएसपी शाहले बताए।

प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ।

Published on: 26 June 2023 | Setopati

Link

Back to list

;