s

अत्याधुनिक बन्दै अध्यागमन

Year of Publication: 5 August 2019 | Nagarik

Published by: CESLAM

अर्जुन सुवेदी

नक्कली पासपोर्टमा नक्कली भिसा, नक्कली कागजात देखाएर अध्यागमन पास, अध्यागमन अधिकारीको अभद्र व्यवहार, ढिलासुस्ती, प्रविधि अभावका कारण मेसिन रिडेबल पासपोर्ट पनि पढ्न नसक्नु, विमानस्थलमा आपराधिक पृष्ठभूमिका व्यक्तिको सहजै प्रवेश नेपालको अध्यागमनका लागि सामान्य विषय हुन्। अब भने केही महिनामै अध्यागमन अत्याधुनिक प्रविधि जडित र सुविधा सम्पन्न बन्दैछ। अध्यागमन विभागले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै केही महिनाभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक बनाउन काम थालेको हो। विभागले बेलायत, भारत, अमेरिकालगायतले अवलम्बन गर्दै आएको प्रविधि त्रिभुवन विमानस्थल अध्यागमनमा प्रयोग गर्न लागेको हो। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले मंसिरभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनलाई अध्याधुनिक प्रविधियुक्त बनाउन काम भइरहेको बताए। ‘विमानस्थललाई उच्च प्रविधियुक्त बायोमेट्रिक्स, फोटोक्याप्चर, डाटाबेस प्रणालीसहितको बनाउने काम अघि बढिरहेको छ,’ पौडेलले भने, ‘विमानस्थललाई अत्याधुनिक प्रविधिमैत्री, सुविधासम्पन्न बनाउनुका साथै अध्यागमन अधिकारीहरुको कार्यशैलीमा परिवर्तन पनि ल्याइनेछ। ’

अध्यागमन आफैंले ‘नेपाली पोर्ट’ नामको सफ्टवेयर बनाई अध्यागमनलाई प्रविधियुक्त बनाउन लागेको हो। नेपाली इन्जिनियरहरुले बनाएको ‘नेपाली पोर्ट’ नामको सफ्टवेयर प्रविष्ट सम्पूर्ण डाटा (विवरण) सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सुरक्षित रहनेछन्। यसअघि अमेरिका र भारतले विमानस्थलमा आफ्नो सफ्टवेयर प्रयोग गर्न दबाबमूलक लबिङ गर्दै आएका थिए। भारतले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई, सुशील कोइराला, शेरबहादुर देउवा र गृहमन्त्रीहरु वामदेव गौतम र विमलेन्द्र निधिमार्फत अध्यागमन ४० वर्षका लागि लिजमा लिन लबिङ गर्दै आएको थियो। अमेरिकाले ‘पाइसेस’ नामक सफ्टवेयर प्रयोग गर्न दबाब दिँदै आएको थियो। सफ्टवेयर र आवश्यक हार्डवेयर निःशुल्क दिने प्रस्ताव अमेरिकाले गरेको थियो। अमेरिकी अनुदानमा आफ्नो अध्यागमनमा पाइसेस सफ्टवेयर प्रयोग गरेका देशहरु अहिले सूचना चुहिएको भन्दै धमाधम आफ्नै सफ्टवेयर विकास गरिरहेका छन्।

निर्वाचनपछि नयाँ सरकार आएलगत्तै अध्यागमनको डाटा अन्यत्र भण्डारण हुँदा खतरा हुने र यो राष्ट्रिय हितविपरीत प्रयोग हुने भन्दै नेपालमै सफ्टवेयर निर्माणको काम थालिएको थियो। केही महिनाभित्रै अध्यागमनलाई आधुनिक बनाउन भौतिक स्तरोन्नतिसमेत थालिएको छ। भुइँ, भित्ता र सिलिङको मर्मत सम्भारका अतिरिक्त सरसफाइमा पनि जोड दिइएको महानिर्देशक पौडेलले बताए। डाटा सेन्टर, उपकरण जडान, नेटवर्किङ, कर्मचारीलाई तालिम दिने काम भइरहेको छ। अध्यागमन विभागका कर्मचारीले बेलायत पुगेर नेसनल क्राइम एजेन्सी, युके बोर्डर फोर्स र नक्कली कागजात पहिचान गर्न ‘फोर्जर युनिट’ का पदाधिकारीबाट तालिमसमेत लिइसकेका छन्। उनीहरुले लन्डनको हिथ्रो विमानस्थलको अध्यागमन कसरी सञ्चालन भइरहेको छ भनी निरीक्षणसमेत गरेका थिए। त्रिभुवन विमानस्थल अध्यागमनलाई भौतिक रुपमा सुविधा सम्पन्न बनाउने मात्रै नभई प्राविधिक रुपमा पनि विदेशी अध्यागमनजस्तै बनाइने विभागको भनाइ छ। जसअनुसार तोकिएको पोसाक र ब्याच लगाएका अध्यागमन अधिकारीले अध्यागमन पास गरेर भित्रिने र बाहिरिने यात्रुलाई स्वागत गर्नेछन्। विमानस्थलभित्र पर्यटकका लागि सूचना केन्द्र, पर्याप्त प्रतीक्षालय विकास गरिनेछ। अध्यागमन अधिकारीले जाँच गर्ने बेलामा विदेशी अध्यागमनमा झैं अटोमेटिक पासपोर्ट रिड गर्नेछन् भने उभिएकै बेलामा अत्याधुनिक स्वचालित क्यामेराले यात्रुको उच्चस्तरको तस्बिर लिनेछ। सोही ठाउँमा यात्रुको बायोमेट्रिक पनि लिइनेछ। अध्यागमन जाँच सकिएपछि पार गर्न र जाँचका बखत लाइनमा बस्न बत्तीजडित स्वचालित गेटको व्यवस्था हुनेछ।

विमानस्थलमा नक्कली कागजात पहिचान गर्न ‘फर्जरी डिटेक्सन युनिट’ समेत स्थापना गर्ने तयारी गरिएको छ। त्यसमा उच्चस्तरीय ल्याब राखिनेछ। आउनेजाने कसैमाथि शंका लागेमा त्यसले कागजात जाँच गर्नेछ। कसैमाथि शंका लागेको अवस्थामा केरकार गर्न केरकार कक्ष (आइसोलेसन रुम) समेत स्थापना गर्ने तयारी छ। जसमा दक्ष अध्यागमन अधिकारीलाई कसैमाथि शंका लागे केरकार गर्नेछन्।‘हामीले केही समयमै दुई सयजति अध्यागमन अधिकृतलाई यसबारे तालिम दिँदैछौं,’ पौडेलले भने, ‘अबको केही महिनाभित्रैमा हाम्रो अध्यागमनले रुप फेर्नेछ, यसको भौतिक र प्राविधिक रुपमा मात्रै नभई कर्मचारीले सेवाग्राहीप्रति गर्ने व्यवहारमा पनि परिवर्तन आउनेछ। यो प्रविधि लागू भएसँगै विमानस्थलमार्फत हुने आपराधिक गतिविधि नियन्त्रण हुन सघाउ पुग्ने विभागले जनाएको छ।

Published on: 5 August 2019 | Nagarik

Back to list

;