s

असह्य भएपछि सरकारविरुद्ध उत्रिए साउदीका अलपत्र नेपाली

Year of Publication: 9 September 2020 | Kantipur

Published by: CESLAM

‘सात महिनादेखि काम नपाएर अलपत्र छौं । एउटा कोठामा ११ जनालाई कोचेर राखिएको छ । भुइँमै सुताइएको छ । पुग्ने खाना दिँदैनन्, थपेर खान पाइँदैन । खाना नपुगेर सधैं झगडा हुन्छ । कहिलेकाहीँ नुहाउने पानी नै पिउनुपर्छ ।’

होम कार्की

काठमाडौँ — साउदी अरबका विभिन्न क्याम्पमा रहेका सयौं नेपाली श्रमिक घर फर्कन नपाएको भन्दै नेपाल सरकारविरुद्ध उत्रिएका छन् । ७ महिनादेखि कामविहीन भई बसेका उनीहरूले स्वदेश फिर्ती अनिश्चित भएपछि पर्याप्त उडानको माग गर्दै विदेशी भूमिमा आफ्नै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

स्वदेश फर्कने आसमा बसेका नेपाली साउदी अरबको राजधानी रियादको एक्जिट ६ स्थित साउदी म्यानपावर सप्लाई कम्पनी (समस्को) को क्याम्पमा ।

स्वदेश फिर्तीका लागि साउदी अरबमा मात्रै दिनमा ५ वटा उडान हुनुपर्ने उनीहरूको माग छ । सरकारले भने सेप्टेम्बरका लागि १३ वटा उडान मात्रै स्वीकृति दिएको छ । ‘घर फर्कने दिन पर्खेको ७ महिना भयो । कहिले जान पाउने हो, अझै निश्चित भएन । दूतावासमा फोन गर्दा कम्पनीलाई देखाउँछन्, कम्पनीलाई भन्दा दूतावासमा बुझ्नु भन्छन्,’ मकवानपुरका सन्दीप गोलेले मंगलबार टेलिफोनमा कान्तिपुरलाई भने, ‘हामी बाध्य भएर आफ्नै देशलाई तल पार्ने गरी नाराबाजीमा उत्रनुपर्‍यो । सडकमा जानुपर्‍यो ।’

गोले आबद्ध साउदी म्यानपावर सप्लाई कम्पनी (समस्को) ले मात्रै झन्डै एक हजार नेपालीलाई स्वदेश फर्काउन रियादस्थित क्याम्पमा राखेको छ । समस्को साउदीका विभिन्न कम्पनीको मागअनुसार श्रमिक उपलब्ध गराउने ठूलो कम्पनी हो । ‘क्याम्पका ११ वटा भवनमा झन्डै ६ हजार श्रमिक छन् । तिनमा सबैभन्दा बढी नेपाली नै छन् । काम दिन नसकेपछि क्याम्पमा ल्याएर राखिएको हो । यसबीचमा एकसुको तलब दिइएको छैन । खाना र बस्न मात्रै दिइन्छ । हामी कति दिनसम्म यसरी खाँदिएर बस्ने ?’ गोलेले भने । आफ्नो समस्याका विषयमा नेपाल सरकारले वास्ता नगरेको उनले गुनासो गरे । ‘त्यही भएर साउदीमै चर्को नाराबाजी गर्नुपर्ने बाध्यता आइपर्‍यो । प्रहरी पनि आए । केही साथीलाई समातेर पनि लगे तर पछि छाडिदिएछन् ।’ गोलेका अनुसार उक्त कम्पनीमा झन्डै दुई सय जना नेपाली महिला छन् ।

‘एउटा कोठामा ११ जनालाई कोचेर राखिएको छ । भुइँमै सुताइएको छ । खाना खाने बेला भीड हुन्छ । पुग्ने खाना दिँदैनन्, थपेर खान पाइँदैन । खाना नपुगेर सधैं झगडा हुन्छ । पिउने पानी पनि आफैंले किनेर ल्याउनुपर्छ । कहिलेकाहीँ नुहाउने पानी नै पिउनुपर्छ,’ खोटाङका पदमबहादुर भुजेलले भने, ‘अहिले पैसा पनि छैन, कति दिनसम्म यसरी सहने ?’

मरुभूमिको बीचमा रहेको यो क्याम्पमा रहेका केही कामदारमा मानसिक समस्यासमेत देखिन थालेको वीरगन्जका एमडी इमान साहले बताए । ‘मन भुलाउन डाटा किनेर युट्युब हेर्दै दिन कटाउँछौं । एक जना साथीले त आत्महत्या पनि गरे,’ उनले भने ।

श्रमिक आपूर्ति गर्दै आएको महरा कम्पनीमा कार्यरत श्रमिकले पनि सरकारविरुद्ध नाराबाजी गरेका छन् । ‘कम्पनीको मान्छे आएर तिमीहरूलाई दूतावासले पठाउँदैन त हामी के गर्न सक्छौं भन्छन् । टिकट कम्पनीले नै दिने हो । दूतावासलार्ई सोध्दा उडान नै छैन भन्ने जवाफ आउँछ,’ महरामा कार्यरत इलामका पेम्बा राईले भने, ‘कि हामीलाई नेपाल पठाइदिनुपर्‍यो, कि तलब दिएर राख्नुपर्‍यो । बिरामी पर्दा औषधि उपचार गर्ने पैसा पनि छैन । कबाडी खाना खाएर बस्नुपरेको छ ।’

दूतावासमाथि दबाब बढाउँदै कम्पनी

कम्पनीहरूले पनि नेपाली दूतावासमाथि दबाब बढाउन थालेका छन् । क्याम्पमै नाराबाजी हुन थालेपछि सोमबार समस्कोले ४ वटा बसमा नेपाली श्रमिकलाई दूतावास पठाएको थियो । ती श्रमिकले दूतावास परिसरबाहिर नाराबाजी गरेका थिए ।

घर फिर्ती प्रक्रिया सुरु गरेको ३ महिनामा साउदीबाट ८ हजार ५ सय २५ नेपाली मात्रै स्वदेश फर्केका छन् । रियादस्थित नेपाली दूतावासले घर फिर्ने प्रतीक्षामा रहेका थप साढे १४ हजार जनाको नामावली प्रकाशन गरेको छ । त्यसबाहेक विभिन्न कम्पनीका तर्फबाट ३ हजार जनाको सूची पेस भएको छ । थप एक हजार जनाले स्वदेश फिर्न दूतावासमा फाराम नै भरेका छन् । सरकारले भने सेप्टेम्बरमा २ हजार ५ सय ८० जनालाई मात्रै स्वदेश फर्काउन अनुमति दिएको छ ।

श्रमिकहरू विरोधमा उत्रिएपछि समस्कोले ५ सय ८० जनालाई तत्काल पठाउनुपर्ने भन्दै नेपाली दूतावासमा नामावली बुझाएको छ । उडानको सबै खर्च कम्पनीले नै बेहोर्ने जनाइएको छ । कम्पनी, श्रमिक र दूतावासबीच मंगलबार भएको त्रिपक्षीय बैठकमा अबको पहिलो उडानमा समस्कोका श्रमिकलाई पठाउने सहमति भएको छ । श्रमिकले भने लगातार तीन वटा उडानमा समस्कोका मात्रै श्रमिकलाई स्वदेश फर्काउनुपर्ने माग राखेका छन् ।

यीबाहेक दर्जनौं कम्पनीले उडानको प्रबन्ध मिलाइदिन दूतावासलाई अनुरोध गर्दै आएका छन् । रियादस्थित नेपाली दूतावास भने कम्पनी र श्रमिकको मागअनुसार साउदीमा पर्याप्त उडान नै नभएको बताउँछ । ‘हामीले हरेक दिन उडान गरियोस् भन्दै परराष्ट्र मन्त्रालयलाई भनिरहेका

छौं तर उताबाट उडान स्वीकृति नै मिल्दैन,’ साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रसिंह राजपुतले भने, ‘नेपाल सरकारले उडान पठाइदेओस्, हामी मान्छे पठाइदिन्छौं ।’

उडान स्वीकृति ढिलाइले समस्या

साउदीको रियाद र जेद्दास्थित विमानस्थलबाट नेपाल एयरलाइन्सले र दमामबाट हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने अनुमति पाएका छन् । दूतावासले नामावली सार्वजनिक गर्नेबित्तिकै दमाम र रियादस्थित अधिकार प्राप्त ट्राभल एजेन्सीमा टिकट लिन जाने क्रम बढेको छ । भीड बढी हुनेबित्तिकै प्रहरीले ट्राभल एजेन्सी नै बन्द गरिदिने गरेको छ ।

उडान संख्या कम भएकाले पनि दूतावासले एउटै कम्पनीका श्रमिकलाई एउटै उडानमा मात्रै पठाउन सकेको छैन । ‘कतिपय कम्पनीले नेपाल एयरलाइन्सको विमान चार्टर गर्न चाहे लाग्ने शुल्क रियादमा भुक्तानी गर्ने प्रबन्ध छैन । त्यसका लागि कम्पनीले नेपालमै पैसा पठाउनुपर्छ,’ राजपुतले भने । उनले कम्तीमा तीन महिनाको उडान तालिका सार्वजनिक गर्न सरकारलाई अनुरोध गरे । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भने केही दिनअघि मात्रै तालिका सार्वजनिक गर्दै आएको छ । छोटो समय दिँदा सबै प्रक्रिया

पूरा गरेर यात्रु पठाउन निकै समस्या हुने गरेको नेपाली दूतावासका एक अधिकारीले बताए । ‘हामीलाई मंगलबारको उडानबारे शुक्रबार मात्रै जानकारी आयो । यसबारे कम्पनीलाई शनिबार जानकारी दियौं । कम्पनीले आइतबार नै एयरलाइन्सको एजेन्टको खातामा टिकट खर्च पठायो । साउदीबाट प्रक्रिया पूरा गरेर जाँदा ५ दिन लाग्दोरहेछ,’ ती अधिकारीले भने, ‘समयमा सूचना नआउँदा तोकिएको उडानमा यात्रु पठाउन कठिन भइरहेको छ । फेरि यात्रुको पीसीआर नेगेटिभ रिपोर्ट पनि जुटाउनुपर्‍यो ।’

सेनाको सहजता हेर्दा कामदारलाई मर्का

स्वदेश फर्किनेको व्यवस्थापनमा नेपाली सेनालाई सजिलो हुने हिसाबले मात्रै स्वदेश फिर्नेको कोटा निर्धारण गरिएको पर्यटन मन्त्रालयको बुझाइ छ । कोटा निर्धारण गरिएकाले साउदी दूतावासले मागेअनुसार उडान राख्न नसकेको नेपाल एयरलाइन्सले जनाएको छ । सरकारले विदेशबाट दिनमा ८ सय जना मात्रै यात्रु ल्याउन पाउने निर्णय गरेको थियो । ‘दिनमा स्वदेशी तथा विदेशी गरी १५ वटा एयरलाइन्स कम्पनीमार्फत ८ सय जना मात्रै यात्रु ल्याउने अधिकार छ । साउदीको मात्रै माग पूरा गर्न दिनमा ५ वटा उडान गर्नुपर्छ,’ नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले भने, ‘उडान सीसीएमसीले निर्धारण गर्ने हो । हामी एउटा अपरेटर मात्रै हो । जति उडान दिन्छ, त्यति बोक्ने हो ।’

ती अधिकारीका अनुसार कम उडान हुँदा एजेन्टहरूबीच चलखेल ओपन भइरहेको छ । ‘टिकटको कालोबजारी रोक्न उडान संख्या नै बढ्नुपर्छ,’ उनले भने । सरकारले टिकट काट्ने बेला नै होटलको खर्च पनि लिन लगाएको थप समस्या देखिएको उनको भनाइ छ । ‘दूतावास र हामीबीच समन्वय भइरहेको छैन । हामी यात्रुको पीसीआर नेगेटिभ आएको रिपोर्ट खोज्छौं । यसो हुँदा यात्रुलाई होटलमा राख्नु पर्दैन । त्यसमा एक जना मात्रै यात्रुको पीसीआर नेगेटिभ नभए सबै यात्रुलाई ७ दिनसम्म होटलमा राख्ने जिम्मेवारी एयरलाइन्सको हुन्छ । त्यसो हुँदा २०–२५ लाख रुपैयाँ खर्च एयरलाइन्सले बेहोर्नुपर्छ,’ ती अधिकारीले भने ।

‘तालिकाअनुसार उडान आइदिनुपर्‍यो’

उडान तालिकाअनुसार आउँदैन । विमानस्थल पुगेपछि मात्रै उडान छ कि छैन थाहा हुन्छ । उडान हाम्रो हातमा पनि छैन । जान नपाएकाले आफ्नो बासस्थानभित्र जिन्दावाद, मुर्दावाद भनिरहेका छन् ।

सबैभन्दा बढी नाजुक अवस्था साउदीमा छ । टिकट लिन १२ सय, १५ सय किमि टाढाबाट श्रमिक दाजुभाइ आउँछन् । उडान उपलब्ध नहुँदा उनीहरूले दुर्दशा भोग्नुपरेको छ । यहाँबाट विदेशी उडान छैन । स्वदेशी उडानमा मात्रै भर पर्नुपर्छ । साउदी एयरको व्यवस्था भइदिएको भए धेरै सजिलो हुन्थ्यो । घर जाने श्रमिकको संख्या धेरै छ । अन्य देशबाट विदेशी उडान पनि जान्छ । हामीसँग विकल्प भएन ।

विकल्पहीन अवस्थामा दिइएको उडान नआउँदा झन् विकराल समस्या उत्पन्न भइदियो । सबैभन्दा कठिन नियोग साउदीकोलाई भनिन्छ । तर यो नियोगलाई प्राथमिकता दिइएन । हामीले बारम्बार अनुरोध गरिरहेका छौं । हामीले सुरुदेखि नै २० हजार पठाउनुपर्ने देखिएको छ, थोरै भए पनि उडान नियमित भइदिनुपर्‍यो भनिरहेका छौं । यस्तै भए एउटै कम्पनीबाट पठाउन ६ महिना लाग्ने देखियो । श्रमिक दाजुभाइको गाली हामीले दिनहँॅ खाइरहेका छौं । समस्याबारे लिखित र मौखिक रूपमा सम्बन्धित ठाउँमा पुर्‍याइसकिएको छ । कार्यान्वयनमा हामी आशावादी छौं । कसलाई दोष दिऊँ ? विदेशी मुलुकमा नेपालीको बिचल्ली भयो ।

Published on: 9 September 2020 | Kantipur

Link

Back to list

;