s

अनिशका नाममा बचेको रकम प्रेमका लागि खर्चिन आग्रह

Year of Publication: 9 February 2018 | Madhyanha

Publication Type: NEWS

Published by: CESLAM

साउदी अरबमा चोरीको अभियोगमा  जेल परेका इलामको माइ नगरपालिकाका प्रेमबहादुर राईको जेल मुक्तिका लागि अनिश खालिङका नाममा संकलन भएको रकमको खोजी शुरु भएको छ । करीब ६ वर्ष अघि सन् २०१२ मा साउदी गएका राई चोरी अभियोगमा २०१६ मार्चमा जेल परेका थिए ।
 
राई काम गर्ने कम्पनीको सामान चोरी भएपछि अदालतले शुरुमा राईलाई नै दोषी ठहर गर्दै जेल र ५० कोर्रा सहितको सजाय सुनाए पछि बिगो भराइ पाऊँ भन्ने कम्पनीको निबेदन अनुसार अदालतले राई विरुद्ध तीन लाख १० हजार रियाल झण्डै ९५ लाख रुपैयाँ बिगो बुझाउनुपर्ने फैसला गरिएको थियो ।
 
९५ लाख रुपैयाँ जरिवाना स्वरुप बुझाए मात्रै जेलमा रहेका राईको जीवन रक्षा हुनेछ । अत्यन्तै विपन्न परिवारका राई अदालतले मागेको बिगो बुझाउन सक्ने अवस्थामा छैनन् । नेपालमा रहेकी राईकी श्रीमती श्रीमानलाई बचाइदिन हारगुहार गर्दै हिडेकी छिन् ।
 
साउदीमा रहेका संघ संस्थाले अनिश खालिङ राई बचाऊ अभियानका क्रममा संकलन भएर बचेको रकम प्रेमको जीवन रक्षाका लागि प्रयोग गर्न माग गरेका छन् । यूएईमा पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका राई बचाउन संकलन भएको रकम मध्ये दुई करोड ३६ लाख रुपैयाँ बचत रहेको दाबी गरिएको छ ।
 
सोही रकमको ब्याज मात्रै सहयोग गरेपनि प्रेम राईको उद्धार हुने संघसंस्थाहरुको दाबी छ । बचेको रकम अनिश खालिङ प्रतिष्ठानमा राखिएको बताइन्छ । सोही रकमले प्रेमको उद्दार गर्नुपर्ने भन्दै जेद्धास्थित नेपाली संघसंस्थाहरुले सार्वजनिक रुपमै विज्ञप्ति जारी गरेका छन् ।
 
Published on: 9 February 2018 | Madhyanha

Back to list

;