s

अमेरिकी सपनाले इराकमा मारिए अनाराम

Year of Publication: 6 August 2021 | Kantipur

Published by: CESLAM

होम कार्की

काठमाडौँ — बेलाबखत कुराकानी भइरहेको थियो । कुलमान विश्वकर्मासँग ३४ वर्षीय कान्छा भाइ अनारामको गत भदौ २५ मा एकाएक सम्पर्क टुट्यो । इराकको स्वशासित क्षेत्र कुर्दिस्थानको राजधानी अर्विलमा काम गर्थे अनाराम । 

इराकमा मारिएका अनाराम विश्वकर्मा ।

उनी एकाएक सम्पर्कविहीन भएपछि कुलमानले खोजी सुरु गरे । अर्विलबाट उनलाई दुई थरी सूचना प्राप्त हुन्थ्यो । त्यहाँ कार्यरत आफन्तले भन्थे– ‘अनाराम जेलमा छन् ।’ अरू चिनेका साथीहरूले भन्थे– ‘उसलाई गोली लागेको छ ।’

अस्पष्ट सूचना आएपछि बागलुङको निसीखोला गाउँपालिका–१ किटेनीमा घरमा रहेका ६८ वर्षीय बुबा सन्ते कामी र ५५ वर्षीया आमा त्रिमलाको मुटुमा ढ्याङ्ग्रो बज्न थाल्यो । घरमा बिहान कुखुरा बासेदेखि बेलुका नसुतेसम्म अनारामकै विषयमा कुरा चल्थ्यो । बुबाआमाको चिन्ताले कुलमानलाई भाइको अवस्था पत्ता लगाउन दबाब बढ्दै गयो ।

‘इराकबाट चिनेजानेका साथीहरूले जे बताइदिन्छन्, त्यसलाई पत्याउनुभन्दा मसँग अर्को विकल्प नै थिएन । जेलमा परे त ढिलो–चाँडो आइहाल्छ भन्ने मनमा आउँथ्यो । गोली नै लागेको रहेछ भने के होला भन्ने चिन्ता हुन्थ्यो,’ कान्तिपुरसँग उनले भने, ‘सही पत्ता लगाउन ढोका ढकढकाउन जाने ठाउँ पनि भेटिनँ ।’

अनाराम बेपत्ता भएदेखि अर्विलामै रहेका ठूलो बुबाको छोरा पनि सम्पर्कविहीन भइदिए, जो १० वर्षदेखि कुर्दिस्थानमा काम गर्दै आएका थिए । उनैले अनारामलाई नेपालबाट लिएर गएका थिए । गैरआवासीय नेपाली संघ इराकले पठाएको खबर कुलमानले पाए । सम्पर्क टुटेकै दिन कोखामा तीन गोली लागेर भाइ मारिएको खबर आएको थियो । एनआरएनए इराकका सचिव विनोद श्रेष्ठका अनुसार बंगाली एजेन्टले अमेरिका लैजाने गरी इराकको सीमा पार गराउने क्रममा अनाराम मारिएका थिए । ‘दुई जना नेपाली बेपत्ता भएको खबर आयो । हामी अर्विलदेखि सुलेमानीसम्मका हरेक प्रहरी चौकीमा बुझ्ने क्रममा थियौं । सुलेमानीमा दुई जना पक्राउ परेको थाहा पाएपछि जेलमा उनीहरूलाई भेट्न गयौं,’ श्रेष्ठले भने । उनका अनुसार जेलमा विनोद पौडेल र जीएस तामाङ थिए ।

‘हामीलाई बंगाली एजेन्टले अमेरिका पठाउनका लागि इराकको बोर्डर पास गर्ने भनेको थियो । त्यही क्रममा भ्यानमा सुताएर लगिएको थियो । एक्कासि बाटोमा बन्दुकधारीले गाडी रोक्न लगायो । ड्राइभरले गाडीलाई भगायो । अनारामलाई गोली लाग्यो,’ पौडेलको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘हामी दुई जनालाई ड्राइभरले जंगलमा झारिदियो । उसलाई अस्पताल लैजान्छु भनेर लाग्यो । हामीलाई पहाड उक्लिने क्रममा प्रहरीले समात्यो ।’

अर्विलमा कार्यरत नेपालीसहित विदेशी कामदारलाई दलालले मेक्सिकोको रुटबाट अमेरिका लैजाने गरेका छन् । त्यसका लागि दलालले ४० लाख रुपैयाँसम्म लिने गरेका छन् । अनाराम र साथीहरू पनि ४० लाखसम्म तिर्ने सर्तमा अवैध रूपमा अमेरिका छिर्न जान तयार भएका थिए । ‘उनीहरूलाई अदालत लैजाने दिनमा म पनि अदालत पुगेको थिएँ । त्यहाँ अदालतमा अनारामलाई गोली लागेको रिपोर्ट पेस गरिएको थियो । रिपोर्टअनुसार अनारामलाई कोखामा तीन गोली लागेको थियो,’ श्रेष्ठले भने । कुलमानका अनुसार बुहारीको उपचार गर्दा लागेको ऋणको भारी बोकेर अनाराम तीन वर्षअघि इराक उडेका थिए ।

‘बुहारी एकदमै पढ्ने खालकी थिइन् । मानसिक रोगको सिकार भइन् । उपचार गर्न कहिले भरतपुर त कहिले काठमाडौंमा गइयो । यताउति गर्दागर्दा १२ लाख रुपैयाँ सकियो तर बुहारी बाँचिनन् । उनी बितेको ६ महिनापछि भाइ इराक गएको थियो,’ कुलमानले भने, ‘इराक उड्न मात्रै ७ लाख रुपैयाँ सकियो ।’

सरकारले वैदेशिक रोजगारीका लागि इराक जान रोक लगाएको छ । २०६१ भदौ १५ मा इराकमा १२ जना नेपालीको हत्या भएपछि त्यहाँका लागि बन्द भएको श्रम अनुमति खुलेको छैन । तैपनि मानव तस्करहरूले अवैध बाटो हुँदै नेपालीलाई इराक लैजाने गरेका छन् । कुर्दिस्थान राज्यको अर्विल र सुलेमानीमा मात्रै २५ हजार नेपाली कार्यरत छन् । जसमा १० हजारभन्दा बढी त महिला नै छन् ।

‘हाम्रा गाउँका धेरै दाजुभाइ त्यता नै गएपछि भाइ पनि गयो,’ कुलमानले भने, ‘आर्थिक अभावका कारण भाइको शव नेपाल ल्याउन सकिएको छैन ।’ परिवारका तर्फबाट गत साउन ११ मा मात्रै शव ल्याउन भन्दै कन्सुलर विभागको निवेदन दिइएको थियो । ‘घरको आर्थिक अवस्था निकै कमजोर छ । म पनि संयुक्त अरब इमिरेट्स (यूएई) मा कम्पनी टुटेर फिरेको थियो । यूएई जाँदा लागेको ऋण नै तिर्न सकिनँ,’ उनले भने, ‘शव ल्याउन नै ५/६ लाख लाग्छ रे । त्यत्रो पैसा कहाँबाट जुटाउने ?’ शव सुलेमानीस्थित तवारी शवगृहमा राखिएको छ । कुर्दिस सरकारले शव राख्दा प्रतिदिन लाग्ने शुल्कलाई मिनाहा गरिदिने बताए पनि लोडसेडिङ धेरै हुने गरेकाले अस्पतालले शव लैजान दबाब दिँदै आएको एनआरएनए इराकका सचिव श्रेष्ठले बताए ।

‘यहाँ पहिला नेपालमा हुनेजस्तै लोडसेडिङ हुन्छ । जसले शवलाई व्यवस्थापन गर्न सकिरहेको छैन,’ उनले फोनमा भने, ‘तुरुन्तै शव नलैजाने हो भने यतै नै दफन (गाड्ने) गरिदिने चेतावनी अस्पतालको छ ।’ शव ल्याउन आवश्यक खर्च जुटाउन थालिएको कुलमानले बताए ।

Published on: 6 August 2021 | Kantipur

Link

Back to list

;