s

अमेरिकामा 'थोरै पाएँ, धेरै गुमाएँ'

Year of Publication: 2 February 2014 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

दिनेश कार्की

'थोरै पाएँ, धेरै गुमाएँ', चोरबाटो हुँदै झन्डै दुई वर्ष लगाएर अमेरिका आइपुगेका भक्तपुरका विजय खड्काले भने, 'अमेरिकामै एक वर्षको जेलसजायपछि बल्ल शरणार्थी हैसियतमा ग्रिनकार्ड त बनाएँ तर अगाडि चुनौती नै चुनौती छन्।'

ग्रिनकार्ड बनेपछि श्रीमती र छोरीलाई पनि अमेरिका ल्याएका उनलाई अहिले आफू र परिवार पाल्न हम्मे–हम्मे छ। नेपालबाट अमेरिका हिँडेदेखि कठोर यात्रा, ज्यानको जोखिम र एक वर्षको जेलबसाइले खड्का डिप्रेसनको सिकार बन्न पुगे।

'डाक्टरले झन्डै पागलपनको उपचार गर्न सिफारिस गरेका थिए। मैले नै नमानेपछि बल्ल डिप्रेसनको औषधी दिए,' खड्का भन्छन्, 'अहिले पनि मलाई निदाउन गाह्रो हुन्छ, औषधीको सहारा लिनुपर्छ।'

धेरै पैसा कमाउने आशमा अमेरिका सपना पालेका खड्काले ऋणसमेत गरी २८ लाख रुपैयाँ त दलाललाई नै बुझाएको बताए। अहिले उनी घन्टाको साढे आठ डलर कमाउँछन्, तर त्यसले खानेबस्ने खर्चै धान्न गाह्रो हुन्छ। 'कमाइले ऋण तिर्ने सम्भावना छैन, आधा पनि तिर्न सकेको छैन,' उनले दुखेसो गरे।

ट्रान्जिटमा परेका देशबाहेक भारत, दक्षिण अमेरिकाका इक्वेडर, एलसाल्भाडोर, ग्वाटेमाला र मेक्सिकोजस्ता देशहरुबाट लुक्दैछिप्दै र कहीँकहीँ जेल सजायसमेत भोग्दै उनी अमेरिका आइपुगे। उनका अनुसार चोरबाटोबाट अमेरिका छिर्न हिँडेकाहरु केही त त्यतैको जेलमा लामो समयसम्म पर्छन् भने कतिपयलाई अमेरिकी प्रशासनले सम्बन्धित देशमा डिपोर्ट गरिदिन्छ। आफूसँगै इक्वेडरबाट अमेरिका छिर्ने समूहमा बंगलादेशी र इथियोपियन पनि रहेको उनी बताउँछन्।

खड्काले झन्डै आठ महिना इक्वेडरमा बिताए। रेस्टुरेन्टमा काम गर्दा स्पेनिस भाषा पनि सिके। आफूलाई छिमेकीले चोरबाटोबाट अमेरिका पठाइदिने चाँजोपाँजो मिलाएको उनले जानकारी दिए। भारत हुँदै अमेरिका छिर्दासम्म बीचमा परेका इक्वेडर, एलसाल्भाडोर र ग्वाटेमालालगायत देशमा कुनै न कुनै रूपले सम्पर्क व्यक्तिहरु नेपाली नै रहेको उनले अनुभव बाँडे।

'सुरुमा न्युजिल्यान्डको भिसा लागेको छ, भारतबाट जानुपर्छ भनेर दिल्लीको पहाडगन्ज पुर्या इयो,' खड्काले अमेरिका यात्राको अनुभव सुनाए, 'त्यहाँ एक नेपालीको होटलमा बस्ने व्यवस्था मिलाए पनि खाना खर्च आफैं बेहोर्नुपर्थ्यो। एकमुष्ठ ७ लाख रुपैयाँ दिल्लीस्थित नेपाली दलाललाई बुझाएको थिएँ। एक महिना दिल्ली बसेपछि दुबई, ब्राजिल र पेरुको ट्रान्जिट हुँदै इक्वेडर पुर्याीए।'

इक्वेडर जान अनअराइभल भिसा पाउँछन् नेपालीले। तर त्यहीँ पुग्न पनि उनले ठूलै कष्ट बेहोर्नुपर्यो । त्यहाँ पुगेपछि दलालीको पनि काम गर्ने ती रेस्टुरेन्ट सञ्चालक नेपालीले खड्कालाई सुरुमा काम गरेबापत महिनाको ७ सय दिन्छु भने, तर उनले दैनिक ८ घन्टाभन्दा बढी काम गर्दा पनि एक पैसा दिएनन्।

उल्टै ती दलालले ५ हजार डलर दिने भए दुई महिनामा अमेरिका पुर्यािइदिने आश्वासन दिए। धेरै हन्डर खाइसकेका खड्कालाई भने नेपाल नै फर्कन मन लाग्यो। तर पनि नेपालीले नै आश्वासन दिएकाले केही भइहाल्छ कि भन्ठानेर केही पैसा मगाएर ती दलाललाई दिए।

आठ महिना इक्वेडर बसेपछि सानो पानीजहाजमा आठ नेपाली, बंगलादेशी र इथियोपियनसँगै आफू ग्वाटेमालातर्फ लागेको उनी सम्झन्छन्। माछा मार्ने जहाजमा एक छाक खानाको भरमा हिँडेका उनीहरुलाई पानीजहाजबाटै एलसाल्भाडोर प्रहरीले पक्राउ गरेको थियो।

त्यस क्रममा प्रहरीले गोलीसमेत चलाएको उनले बताए। अरूजस्तै खड्काले पनि त्यतिखेर भगवान पुकारे। त्यसपछि उनीहरुको पक्राउको समाचार बनाउन त्यहाँका मिडिया पनि आइपुगे। हतकडी लगाएको फोटो पनि खिचे। प्रहरीलाई सबैले दुःख पाएका कारण कमाउन अमेरिका जान लागेको बयान दिए। प्रहरीले केही सुनेन, चार महिनाका लागि जेल हालिदियो।

त्यहीँको सरकारले आफूहरुलाई शरणार्थी परिचयपत्र बनाइदिएको खड्काले बताए। त्यहीँको एउटा होटलमा एक महिनाजति बसेपछि दलालको सम्पर्कमा पुगेको उनले बताए। एलसाल्भाडोरबाट कहिले बस त कहिले पैदल यात्रापछि ग्वाटेमाला पुर्यालइयो उनीहरुलाई। देश ग्वाटेमाला भनिए पनि अनकन्टार स्थानमा लगेर दलालले राखेका कारण ठाउँ भने थाहा भएन। दलालले उनीहरुलाई फोन गर्न त दिन्थ्यो, तर त्यो पैसा माग्ने प्रयोजनका लागि मात्र। खड्काको पैसा बुझाउने भाका तीनपटक नाघिसकेको थियो।

'ग्वाटेमालाका दलालले अब पनि तेरो पैसा आएन भने तँ मर्छस् भनेर धम्की दिन्थ्यो। घरबाट भने बरु फर्की, पानी तताएर खाउँला भन्थे। कति दिऊन्? कहिलेसम्म दिऊन्?' उनले ती दिन सम्भि्कए, 'तैपनि नेपालबाट परिवारले ऋण गरेर पठाएको रकम दुबईका एक व्यक्तिमार्फत दलाललाई बुझायौं।' बल्ल आफूहरुलाई मेक्सिको पुर्या्उने तयारी भएको र यतिबेलासम्म करिब २५ लाख रुपैयाँ खर्च गरिसकेको उनी सम्झन्छन्।

मेक्सिको जाने क्रममा कहिले कार, कहिले दौडिने, कहिले जंगलको बाटो र कहिले बसको यात्रा जारी थियो। मेक्सिकोको सिमानामा छिरिसकेपछि त्यहाँको प्रहरीले उनीहरुलाई समात्यो। तर प्रहरीलाई ५ सय डलर प्रतिव्यक्ति घूस दिएपछि छाडिदियो। आफूजस्तै अमेरिका हिँडेका हजारौंलाई उनले त्यहाँ देखे। कठ्यांग्रिँदो जाडोमा पनि रेलको छतमा बसेर उनीहरुले घन्टौं यात्रा गरे। बिजुलीको लठारो र रुखको हाँगाबाट बच्दै।

'हाँगामा अड्किएर झन्डै ज्यान गएन, धन्न नेपाली साथीले च्याप्प समाते,' महिना दिनको कठिन यात्रापछि मेक्सिकोस्थित दलालको जिम्मामा पुगेको उनी सुनाउँछन्। दलालले मेक्सिको र अमेरिकाको एरिजोनाको सिमानामा लगिदियो। त्यहाँबाट चार दिन हिँडेपछि उनीहरु मानव बस्ती भएको ठाउँतिर आइपुगे जहाँ उनीहरु फेरि अमेरिकी प्रहरीको फन्दामा परेका थिए।

Published on: 2 February 2014 | Nagarik

Back to list

;