s

अमेरिका अवैध पस्न खोजे बाटोबाटै फिर्ता: अब सिधै डिपोर्ट पनामा वा कोस्टारिकाबाटै

Year of Publication: 29 April 2016 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

 
चन्द्रशेखर अधिकारी
 
लाखौं रुपैयाँ खर्चंदै शारीरिक जोखिम मोलेर मानव तस्करको लहलहैमा अफ्रिकाबाट जल र स्थल मार्ग हुँदै अमेरिका प्रवेश गर्ने नेपालीहरू अब दक्षिण अमेरिकी मुलुकबाटै फर्काइने भएका छन् ।
 
खासै सुरक्षाजाँच नगरिदिने वा अध्यागमनले आँखा चिम्लिदिने गरेकै कारण नेपालीसहितका आप्रवासी दक्षिण अमेरिकी मुलुकबाट अत्यन्त कष्ट सहेर भए पनि अमेरिका प्रवेश गर्दै आएका थिए ।
 
अब दक्षिण अमेरिकी मुलुकहरूले अध्यागमन र सीमामा कडाइ मात्र होइन, सिधा डिपोर्टको नीति लिएपछि गैरकानुनी रूपमा अमेरिका जान प्रयास गर्नेहरू बीचैबाट स्वदेश फर्कनुपर्ने स्थिति आएको हो ।
 
हजारौं आप्रवासी अमेरिका प्रवेश गर्न थालेपछि अमेरिकाले चासो देखाउँदै कडाइ गर्न दक्षिण अमेरिकी मुलुकहरूलाई आग्रह मात्र होइन, आर्थिक सहयोग समेत दिने तयारी गरेपछि यो स्थिति आएको कोस्टारिकामा रहेका नेपालीले बताए ।
 
अमेरिकाको चासोपछि दक्षिण अमेरिकी मुलुकहरूले अध्यागमन कडाइ गर्नुका साथै पक्राउ पर्ने अवैधलाई सिधै उसकै मुलुक फर्काइदिने नीति अघि बढाएका हुन् ।
 
अमेरिकाले खर्च दिने सर्तमा उनीहरूले त्यो नीतिलाई अख्तियार गर्ने जानकारी अमेरिकास्थित नेपाली दूतावासले पाएको छ । यसअघि दक्षिण अमेरिकी मुलुकले पक्राउ परेकालाई हाजिर गरी रिहा गर्थे ।
 
अध्यागमनले पक्राउ गरेपछि दुईदेखि ३० दिनसम्म ‘डिटेन्सन सेन्टर’मा राख्ने र सामान्य हाजिरीमा छोड्ने गरेको थियो । सन् २०१५ मा मात्र त्यहाँ पक्राउ परेका नेपालीको संख्या एक हजार ४ सय थियो । पक्राउ नपरी जानेको संख्या यसको तीन गुणा रहेको अनुमान नेपाली दूतावास स्रोतले गरेको छ ।
 
दलालहरूले काठमाडौंबाट दिल्ली पुग्ने र त्यहाँबाट अफ्रिकी मुलुक केन्या/तान्जानिया हुँदै पानी जहाज/स्थलमार्गबाट विभिन्न दक्षिण अमेरिकी मुलुक प्रवेश गराउँथे ।
 
दक्षिण अमेरिकी अन्य मुलुक हुँदै मेक्सिको पुगेपछि त्यहाँको जंगली बाटो हिँडदै अमेरिकासँग जोडिएको तालमा पौडी खेलेर, सानो डुंगाको प्रयोग गरेर वा विभिन्न स्थानको पर्खाल नाघेर अमेरिका पस्ने गरिन्छ । अमेरिका प्रवेश गर्न जानेहरूको प्रमुख रुट भनेको केन्या/तान्जानिया, त्यसपछि पनामा/इक्वेडर, त्यहाँबाट कोस्टारिका, निकारागुवा र अन्त्यमा मेक्सिको नै हो ।
 
सबैभन्दा डरलाग्दो र कहालीलाग्दो हिँडाइ मेक्सिकोको जंगलमा हुन्छ । अनेक उपाय लगाएर मेक्सिको पुगेपछि त्यहाँबाट अमेरिका छिर्न अन्य स्थानबाट त्यहाँ पुग्न लगाइएको उपायको १० दोब्बर परिश्रम र जोखिम मोल्नुपर्ने हुन्छ ।
 
मेक्सिकोमा कालो जाति हुने हुँदा नेपाली तथा दक्षिण एसियालीहरू प्रस्टै चिनिन्छन् । अन्यमा भने उस्तै देखिने हुनाले खासै समस्या छैन । कतिपय जंगली जनावरको आक्रमण, सर्पको टोकाइमा परेका घटना समेत छन् ।
 
यदाकदा तोकेको स्थानमा पुर्‍याउन नसक्दा तस्करहरूले मेक्सिकोको जंगलमा मारेर फाल्न समेत सक्ने जानकारी आएको कोस्टारिकामा रहेका नेपालीले बताए । यसमा नेपाली दूतावासले त्यहाँको सरकारसँग मिलेर अध्ययन अघि बढाएको छ ।
 
पछिल्लो समय ६ सय अफ्रिकीलाई घर फर्काउन दक्षिण अमेरिकाले खर्च गर्न नसक्ने बताएपछि यसमा अमेरिकाले सहयोग गर्ने भएको दि टिको टाइम्सले जनाएको छ ।
 
उक्त अनलाइनले २४ वर्षे नेपाली कृष्णबहादुर खडकालाई उद्धृत गर्दै लेखेको छ, ‘क्युबियन आप्रवासीलाई जस्तै व्यवहार हामीलाई पनि होस्, हामी पनि जान सकौं ।’ कोस्टारिकाको उक्त अनलाइनमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरू धेरैको उदाहरण दिँदै लेखिएको छ । ‘अमेरिका, युरोपले समेत स्वीकार गर्न नसक्ने यस्ता माइग्रेन्ट्सलाई कोस्टारिका जस्तो साना मुलुकले कहाँ राख्न सक्छ भन्दै फर्काउने पहल भएको हो,’ दि टिको टाइम्सले लेखेको छ ।
 
यस्ता नागरिक कुन मुलुकको हो भन्ने नै पत्ता लगाउन समस्या हुने गरेको छ । कतिपय नबोल्ने हुनाले पनि समस्या पर्ने गरेको त्यसमा उल्लेख छ ।
 
कोस्टारिकामा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन गत महिना पुगेका राजदूत डा. अर्जन कार्कीले पनि राष्ट्रपति, विदेशमन्त्री तथा अन्य सम्बन्धित निकायका अधिकारीसँग नेपालीहरूको यो समस्याबारे छलफल गरेका थिए ।
 
यस्तो कठिन तवरले अमेरिका प्रवेशको बाटो रोज्नेहरू पढेलेखेका बुझेका व्यक्तिहरू नै रहेको आफूले पाएको कोस्टारिकाको विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका डा. मनीष थापाले कान्तिपुरलाई फोनमा बताए ।
 
उनी पक्राउ परेका नेपालीलाई जेलमा भेट्न समेत पुग्ने गरेका छन् । ‘मैले भेटेका नेपालीहरू शिक्षित छन् । काठमाडौं, पोखरा जस्ता सहरमा बसेर बाहिरी दुनियाँ बुझेका छन्, तर पनि अमेरिका मोहमा परेर यस्तो बाटोमा लागेको देख्दा आश्चर्य लाग्छ,’ उनले भने ।
उनका अनुसार अमेरिका पुग्न एक नेपालीले कम्तीमा पनि २५ लाख खर्च गरेका छन् । अधिकांशले अमेरिका पुग्ने बेलासम्म ५० लाख खर्चनुसमेत परेको छ ।
 
‘त्यो रकम कमाउन कति समय लाग्छ ? बीचमा शारीरिक र मानसिक पीडाको अवस्थाबारे कस्तो हुन्छ ? त्यसबारे ध्यान दिँदैनन्,’ उनले सुनाए ।
 
अहिले पनामा बोर्डरमा ४० जनाको समूह अध्यागमनको नियन्त्रणमा छ । त्यसमा केही नेपाली पनि रहेको जानकारी आएको उनले बताए । ‘कोस्टारिकाको जेलमा पनि तीन नेपाली छन्,’ उनले भने, ‘कतिपय नेपालीलाई त्यहाँ रहेका नेपालीले सहयोग गर्दै आएका छन्,’ उनले भने ।
 
कोस्टारिकामा सात/आठ परिवार मात्र नेपाली उच्चस्तरका काममा छन् । अहिले अमेरिका लैजान प्रयोग भएको रुट क्युबियनहरूले उपयोग गर्दै आएका रुट हुन् ।
 
ल्यान्ड रुटबाट अमेरिका प्रवेश गर्ने क्युबियनलाई त्यहाँ विशेष व्यवस्था हुने हुनाले पनि त्यो बाटो क्युबियनले उपयोग गर्दै आएका थिए ।
अहिले दक्षिण अमेरिकी मुलुकसँग तस्करको माध्यमबाट जाने नेपाली तथा अन्य नागरिकले क्युबियनलाई झैं व्यवहार गर्न दक्षिण अमेरिकी मुलुकसँग माग राख्न थालेपछि उनीहरूलाई घर फर्काइदिने गर्न थालिएको छ ।
 
यसअघि दक्षिण अमेरिकी मुलुकले यिनीहरू आफ्नो मुलुकमा नआएको तर ट्रान्जिटमा रहेको भन्दै वास्ता नगर्ने र समाते पनि केही दिन राखेर छोडिदिने गरेका थिए ।
 
Published on: 29 April 2016 | Kantipur

Back to list

;