s

अमेरिका पस्न खोज्दा अलपत्र

Year of Publication: 30 November 2019 | Kantipur

Published by: CESLAM

जनकराज सापकोटा

तस्करलाई पछ्याउँदै अमेरिका छिर्न खोज्दा नेपालीहरू अफ्रिकीलगायत विभिन्न देशमा अलपत्र पर्ने क्रम बढेको छ । अध्यागमन विभागको पहलमा शुक्रबार दिउँसो मात्रै इन्डोनेसियाको अध्यागमनको नियन्त्रणमा परेका ५ जना काठमाडौं फर्किर्एका छन् । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको समन्वयमा एक महिनायता मात्रै मलावीबाट चार र इथियोपियाबाट ६ जनालाई फर्काइएको छ ।

इन्डोनेसियाबाट फर्किएका पाँचमध्ये दुई जना गत फागुन १६ गते र तीन जना फागुनकै पहिलो साता अमेरिका जान भन्दै इन्डोनेसिया उडेका थिए । उनीहरूमध्ये तीन जना रुकुमका हुन् भने रोल्पा र बाँकेका एक–एक जना । इन्डोनेसियाको अध्यागमनको नियन्त्रणमा १४ दिन बिताएर फर्किएकाहरूमध्ये एक जना १९ वर्षका मात्रै छन् । संगठित मानव तस्करको गिरोहले उनीहरूलाई काम हुँदैछ भन्दै महिनौंसम्म इन्डोनेसियामा अलपत्र पारेर राखेको थियो । फर्किएकामध्ये दुईले आफूहरूलाई एजेन्टले इन्डोनेसियाबाट इथियोपिया पुर्‍याएर ३६ दिनसम्म राखेर इन्डोनेसिया नै फर्काएको बताए । ती दुईलाई एजेन्टले फेरि सिंगापुर छिराउने प्रयास गरे पनि कागजात नमिलेपछि पुन: इन्डोनेसिया फर्किएका थिए । अन्य तीनलाई भने काठमाडौंबाट मलेसिया हुँदै इन्डोनेसिया पुर्‍याइएको थियो ।

छ महिना अलपत्र परेका उनीहरू नेपाल फर्किन खोजेपछि ओभरस्टे भएका कारण अध्यागमनको नियन्त्रणमा परेका हुन् । उनीहरूलाई अध्यागमन विभाग र नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको पहलमा नेपाल ल्याइएको हो । खर्च अभावमा अलपत्र परेका उनीहरूलाई परिवारका सदस्यले जहाज टिकटको प्रबन्ध मिलाइदिएका थिए ।

अवैध रूपमा मेक्सिको हुँदै अमेरिका छिर्ने सपना बोकेका उनीहरूमध्ये दुईले २७ लाख रुपैयाँ गुमाएका छन् भने दुई जनाले करिब २० लाख र एक जनाले १५ लाख रुपैयाँ सिध्याएका छन् । ‘कुकुरले नपाउने दु:ख पाएर फर्कियौं,’ उनीहरूमध्येका एक जनाले भने । आफूहरूसँगै अमेरिका छिर्ने भन्दै हिँडेकामध्ये केही मेक्सिको, पानामा र कोस्टारिका पुगेको उनीहरूले जानकारी दिए ।

मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार अफ्रिकी देश मलावीमा अझै सात नेपाली अलपत्र छन् । उनीहरू भियतनाम, मादागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै त्यहाँ पुगेका हुन् । यसरी नै गएका केही भने थप पैसा दिए मेक्सिको हुँदै अमेरिका छिर्न पाइने आसमा बसेका छन् ।

मलावीबाट फर्केका एक पीडितका अनुसार त्यहाँसम्मको यात्रामा प्रत्येकले २० लाख रुपैयाँ हाराहारी बुझाएका छन् । ‘यत्तिको पैसा त फसिहाल्यो, अब एक–दुई लाख थपे अगाडि बढ्न सकिन्छ भनेर कतिपय उतै लुकेर बसिरहेका छन्,’ उनले भने । इथियोपियाबाट मंसिर पहिलो साता फर्केका चार जनाले पनि जनही २० लाखभन्दा बढी गुमाएको ब्युरोले जनाएको छ । कात्तिक २६ मा ब्युरोले मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका ४ नेपालीको उद्धार गरेको थियो । ब्युरोका डीएसपी नरहरि रेग्मीले व्यक्तिगत चिनजानका आधारमा मलावी प्रहरीका एक उच्च अधिकारीलाई सूचना दिएपछि उद्धार सम्भव भएको हो । उनीहरूले नेपाल छाडेको एक वर्ष भएको थियो ।

केही महिनाअघि मात्रै अमेरिका हिँडेका दाङका ११ जना यस्तै अर्को रुटमा फसेका थिए । उनीहरूलाई काठमाडौंबाट भारत, भियतनाम हुँदै रुसको मस्को पुर्‍याइएको थियो । मस्कोमा केही साता बसेपछि एजेन्टकै सल्लाहमा दुबई हुँदै नेपाल फर्केका एक पीडितले सँगै गएका कोही दुबई अध्यागमनको नियन्त्रणमा त केही भियतनाममा अलपत्र रहेको सुनाए । उनका अनुसार पहिलो पटक मेक्सिको पुर्‍याइदिने भन्दै रुसबाट फर्काएको उक्त एजेन्टले दोस्रो पटक काठमाडौंबाट दिल्ली हुँदै भियतनाम पुर्‍याएको थियो । त्यहाँबाट अघि बढाउन नसकेपछि काठमाडौं नै फर्काइएको हो । ‘तेस्रो पटक पनि काठमाडौंबाट दुबईका लागि उडायो । तर त्यहाँबाट अगाडि बढाउन नसकेपछि ओभरस्टेको शुल्क तिरेर आफन्तहरूले नै नेपाल फर्काए,’ उनले भने ।

दाङ तुलसीपुरका लोकराज पराजुली पनि ओभरस्टे भएपछि दुबई अध्यागमनको नियन्त्रणमा परेका थिए । अमेरिका छिर्ने सपनामा उनले १६ लाख गुमाए । उनलाई आफन्तले रकम तिरेर फर्काएका हुन् ।

Published on: 30 November 2019 | Kantipur

Link

Back to list

;