s

अमेरिका छिराउन नयाँ अवैध रूट

Year of Publication: 25 September 2014 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

नेपालीलाई मोटो रकम लिएर अवैध रूपमा अमेरिका पुर्यााउने मानव तस्कर गिरोहले आफ्नो रूट परिवर्तन गरेका छन्। अन्तर्राष्ट्रिय सञ्जालका रूपमा फैलिएको उक्त गिरोहले यसअघि काठमाडौंबाट कतार र ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका छिराउने गरेको थियो। अहिले भने भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र पनि घुमाउन थालेको छ।

पुरानो रूट धेरै प्रचलनमा आएर बीच बाटोबाटै पक्राउ पर्ने र 'डिपोर्ट' हुनेको संख्या बढेपछि तस्कर गिरोहले नयाँ बाटो प्रयोग गर्न थालेको हो। अवैध रूपमा अमेरिका जाँदै गर्दा पक्राउ परी डिपोर्ट गरिएका नेपालीका अनुसार नयाँ रूटमा काठमाडौंबाट कतार लगिँदैन। संयुक्त अरब इमिरेट्स (युएई) को दुबईलाई नयाँ 'ट्रान्जिट' बनाइएको छ। त्यहाँ पनि सोझै नलगेर भारतसहित चार देश घुमाइन्छ।

सबभन्दा पहिला काठमाडौंबाट भारतको नयाँदिल्ली लगिन्छ। त्यहाँबाट थाइल्यान्डको बैंकक, कम्बोडिया र भियतनाम हुँदै दुबई पुर्यााइन्छ। त्यसपछि दुबईबाट ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराउने गरिन्छ। कतारले कडाइ गरेपछि तस्करहरूले नेपालीको निम्ति नयाँ रूट प्रयोग गरेका हुन्। 

'म काठमाडौंबाट नयाँदिल्ली हुँदै बैंककबाट कम्बोडिया गएको हुँ। थाइल्यान्डबाट बसमा कम्बोडिया लगेका थिए। त्यसपछि हामी भियतनाम गयौं। भियतनामबाट दुबई हुँदै ब्राजिल पुर्याबइएको थियो,' केही साताअघि ब्राजिलबाट डिपोर्ट गरिएका लक्ष्मण जुगजलीले अध्यागमन विभागसँगको बयानमा भनेका छन्।

उनीसँगै डिपोर्ट भएका सबैले यही रूटबाट ब्राजिल पुगेको बताएका छन्। पुरानो रूटमा नेपालबाट अमेरिका जाँदा बीचमा १२ देश पर्थे भने नयाँमा १६ देश पर्छन्। नेपालबाट ब्राजिलसम्म पुर्यायउने जिम्मा नेपाली तस्करको हो। ब्राजिलबाट अमेरिका पुर्यााउने जिम्मा भने बीचमा पर्ने देशकै तस्करले लिन्छ। एउटा देशको तस्करले सीमा कटाइदिएपछि अर्कोले जिम्मा लिन्छ। 

डिपोर्ट भएका नेपालीका अनुसार तस्करले भारत, थाइल्यान्ड, कम्बोडिया र भियतनाममा रहेका ल्याटिन अमेरिकी राष्ट्रका दूतावासमा भिसाको आवेदन दिन्छ। भिसा लागे सिधै जहाजमा लगिन्छ, नलागे स्थलमार्ग हुँदै यही रूट प्रयोग गरिन्छ। तस्करले अमेरिकासँग सीमा जोडिएको मेक्सिकोको भिसा लगाउने प्रयास दक्षिणपूर्वी एसियाली राष्ट्रमा गर्छन्। 'मेक्सिकोको भिसा नलागेपछि थाइल्यान्डबाट कम्बोडिया, भियतनाम, दुबई हुँदै हामीलाई ब्राजिल लगिएको थियो,' साउनमा ब्राजिलबाट डिपोर्ट भएका शंकर शर्माले भने।

यसरी लगिने सबैलाई पहिला ब्राजिलको साओ पाओलो पुर्याभइन्छ। त्यहाँबाट बोलिभिया लगिन्छ। केहीलाई अर्जेन्टिना र चिली पनि पुर्याइन्छ। बोलिभियाले नेपालीलाई 'अनअराइभल' भिसा दिने गरेको छ। त्यसपछि राहदानीसहित परिचय खुल्ने सबै कागजात च्यातेर फ्याँक्न लगाइन्छ।

महिनामै १२ जना डिपोर्ट मानव तस्करको प्रलोभनमा परी अवैध तरिकाले अमेरिका जानेहरू निकै कम पक्राउ पर्छन्। पक्राउ परेका पनि तस्करकै सहयोगमा छुट्छन् र फेरि अमेरिका यात्रा तय गर्छन्। 'ब्राजिलबाट १२–१३ देश यात्रा गरेर अमेरिका छिर्दासम्म बीचमा ३–४ वटा देशमा पक्राउ परिन्छ। केही ठाउँमा पक्राउ नपरी अघि बढ्नै सकिन्न। दलालले नै सबै सेटिङ मिलाउने हुँदा केही पैसा खर्चेपछि सबै छुट्छन्,' एक वर्षअघि मानव तस्करलाई ४५ लाख रुपैयाँ बुझाएर अमेरिका छिर्न सफल पर्वतका दिनेश केसी (नाम परिवर्तन) ले नागरिकसँग टेलिफोनमा भने।

कतिलाई भने पक्राउ गरेर डिपोर्ट गरिएको छ। जुगजलीसहित गुरुप्रसाद भट्टराई, दीपक रामदाम र श्रीकुमार बुढाथोकी केही साताअघि ब्राजिलबाटै डिपोर्ट भई काठमाडौं आइपुगेका हुन्। उनीहरूले अवैध बाटो अमेरिका लैजाने भन्दै ब्राजिल पुर्यााउने दलालको नाम पनि दिएका छन्– रुकुमका लालबहादुर केसी।

हालसालै ब्राजिलबाट डिपोर्ट भई आउनेमा सरोज गौतम, दिनेशराज शर्मा र मिकमार तामाङ पनि पर्छन्। उनीहरू बिनाभिसा काठमाडौंबाट ब्राजिल उडेका थिए। उनीहरूले पनि बयानमा आफूहरू अमेरिका हिँडेको स्विकारेका छन्। अध्यागमनको तथ्यांकअनुसार साउन र भदौमा विभिन्न देशबाट जम्मा ७४ जना डिपोर्ट भएर काठमाडौं आइपुगेका छन्। त्यसमध्ये अमेरिका हिँडेका २४ जना ब्राजिलबाट मात्रै डिपोर्ट भएका छन्। अरू महिना पनि औसत १२ जना नेपाली ब्राजिलबाट डिपोर्ट हुने गरेको अध्यागमनले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कोस्टारिकाबाट समेत ३२ जना डिपोर्ट गर्ने तर्खर भइरहेको छ। उनीहरूलाई यही भदौमा अमेरिका जाने तयारी क्रममा तस्करसहित पक्राउ गरिएको थियो।

बिनाभिसा हिँडेका उनीहरूलाई त्रिभुवन विमानस्थलमा कसैले रोक्दैन, जबकि अवैध गतिविधि रोक्न विमानस्थलमा ५० भन्दा बढी सरकारी निकाय परिचालित छन्। यसमा चारवटै सुरक्षा निकाय र अध्यागमन कर्मचारीसमेत पर्छन्। डिपोर्ट भएर आएकाले अध्यागमनको नाकमुनिबाटै बिनाभिसा उडेको बयान दिए पनि अध्यागमन कर्मचारीमाथि कुनै छानबिन हुँदैन। अवैध जानेलाई छाडे पनि कागज पुर्यािएर रोजगारनिम्ति ल्याटिन अमेरिकी राष्ट्र जान लागेकालाई भने अध्यागमनले रोक्ने गरेका प्रशस्तै उदाहरण छन्।

पर्वतका केशवप्रसाद बास्तोला भदौ २४ गते काठमाडौंबाट दिल्ली, पेरिस हुँदै सुरीनेम जाँदै थिए। सुरीनेम ब्राजिलसँग सिमा जोडिएको राष्ट्र हो।बास्तोलासँग दिउँसो १:१५ बजे एयर इन्डियाको टिकट थियो। अध्यागमन अधिकारीले भने जान दिएनन्। उनले भिसा, हवाई टिकट, वर्क पर्मिटलगायत सबै कागजपत्र देखाए। अध्यागमनले साथमा पाँच सय डलर नभएको भन्दै छाडेन। बास्तोलाले लामो समय विदेशमा काम गरेकाले आफूसँग डलर खाता रहेको प्रमाण पेस गर्दा पनि धर पाएनन्। 

उनले भोलिपल्ट बिहान १० बजेको दिल्ली जाने टिकट लिए। भोलिपल्ट भने उनलाई अध्यागमन कर्मचारीले रोकेनन्। अहिले उनी सुरीनेम पुगिसकेका छन्। 'तस्करले सेटिङ मिलाई अवैधलाई सहजै छिराउँछन्, वैध रूपमा जानेलाई दुःख दिन्छन्,' बास्तोलाले सुरीनेमबाट नागरिकसँग भने। उनलाई पाँच वर्षअघि तस्करले अमेरिका लैजाने भन्दै ब्राजिल पुर्यानएर अलपत्र छाडिदिएका थिए। उनले त्यहीँ सघर्ष गरेर आफूलाई स्थापित गरेका हुन्।

अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकाल भने अवैध तरिकाले जान लागेको भेउ पाउनै गाह्रो हुने बताउँछन्। 'भिसा र पाँच सय अमेरिकी डलर भएपछि छाड्ने कार्यविधि छ। यसरी जानेहरू कुनै एक देशको भिसा लिन्छन्, अनि ट्रान्जिटबाटै छड्किन्छन्,' महानिर्देशक ढकालले भने, 'यस्ता गतिविधि रोक्न प्रहरीसँग संयुक्त टिम बनाएर अध्यागमनलाई प्रभावकारी बनाउने सोच छ।' 

डिपोर्ट भएका अधिकांशले ब्राजिलसम्म पुग्दा दलाललाई दिएको र आफ्नो खर्च गरी औसत १५ लाख रुपैयाँ खर्च भएको बयानमा सकारेका छन्। यस आधारमा ब्राजिलबाट डिपोर्ट हुने वार्षिक १ सय ४४ जनाले बेफ्वाँकमा २१ करोड ६० लाख रुपैयाँ दलाल र अन्य खर्चमा सक्ने गर्छन्। 

जोखिमपूर्ण यात्रा

बोलिभियाबाट अमेरिकासम्मको यात्रा सहज छैन। कुनै पनि बेला ज्यान जान सक्छ। बोलिभियामा सबैलाई राहदानीसहित परिचय खुल्ने कागजात च्यातेर फ्याँक्न लगाइन्छ। 'सानो गल्ती भए कहाँ मरिने हो ठेगान हुन्न,' एक वर्षअघि पुरानो रूटबाट अमेरिका छिरेका दिनेश केसीले सम्झे, 'म त आइहालेँ, अरूलाई यो बाटो आउन भन्दिनँ।' केसीका अनुसार कतै पैदल हिँड्नुपर्छ त कतै ट्रकमा। कतै डुंगामा त कतै रेलमा यात्रा गर्नुपर्छ। कतै त सीमित अवधिका लागि पुग्ने अक्सिजन राखिएको पेट्रोल ट्यांकरमा समेत राखेर लगिन्छ। केही भएर बीच बाटोमा रोकिनुपर्योन र अक्सिजन सकियो भने सबैको एकै चिहान हुन्छ। साथमा मोबाइलसमेत बोक्न दिइँदैन। खास–खास ठाउँमा पुगेपछि मात्र परिवारसँग कुराकानी गर्न मोबाइल उपलब्ध गराइन्छ। 

रूटमा पर्ने प्रत्येक देशमा छुट्टाछुट्टै तस्कर हुने केसीले बताए। एउटाले आफ्नो देश कटाई अर्कोको जिम्मा लगाउँछ। अमेरिका छिरेपछि भने सबै व्यवस्था आफैं मिलाउनुपर्छ। प्रत्येक तस्करले आफ्नो जिम्मामा आउनेबित्तिकै आधा रकम लिन्छन्। बाँकी रकम सिमा कटाएर अर्को तस्करको जिम्मा लगाएपछि असुलिन्छ। तस्करलाई दिने पैसा नेपालबाट हुन्डी गरेर उनीहरूले भनेको ठाउँमा पुर्यािइदिनुपर्छ। सबैभन्दा बढी रकम मेक्सिकोबाट अमेरिका छिराउने तस्करले लिने गर्छन्। मेक्सिकोमा एक जना नेपालीले तस्करलाई १० हजार डलरसम्म बुझाउने गर्छन्।बोलिभियाबाट अमेरिका पुग्दासम्म बीच बाटोमा कतिको मृत्यु हुन्छ गणना हुँदैन। केसीसँगै अमेरिका हिँडेका एक नेपाली पानामामा डुंगा यात्रा गर्दा बितेका थिए। उनलाई त्यहीँ छाडेर अन्य नेपाली अघि बढेको केसी सम्झन्छन्। साथमा परिचय खुल्ने कागजात नहुँदा कुन देशको नागरिक मर्यो भन्ने अत्तोपत्तो हुन्न।

मानवअधिकारवादी संस्था 'नो मोर डेथ' को तथ्यांकअनुसार सन् २००० यता ब्राजिलदेखि मेक्सिकोसम्म अमेरिका हिँडेका तर पहिचान नखुलेका २ हजार ६ सय ४९ जनाको शव भेटिएको छ। 

संख्या बढ्दै

अवैध तरिकाले अमेरिका जाने नेपालीको संख्या बर्सेनि बढ्दै गएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको तथ्यांकअनुसार सन् २००४ देखि २०११ सम्म ६ सय ६६ जना नेपाली मेक्सिकोबाट अवैध तरिकाले अमेरिका छिर्दै गर्दा सिमामा पक्राउ परेका छन्। यसरी अमेरिका छिर्नेले तस्करलाई कम्तीमा ४० लाख रुपैयाँ बुझाएका हुन्छन्। केसीले पनि ४५ लाख रुपैयाँ सकिएको बताए। यो तथ्यांकलाई आधार मान्दा वार्षिक ४४ करोड ६० लाख रुपैयाँ त मेक्सिको–अमेरिका सिमामा पक्राउ पर्ने नेपालीले मात्र तस्करलाई बुझाउने गरेका छन्।

अवैध रूपमा अमेरिका छिर्ने नेपाली बढेको अमेरिकी होमल्यान्ड सेक्युरिटीको शरणार्थीसम्बन्धी वार्षिक प्रतिवेदनले पनि देखाउँछ। अमेरिका छिर्नेबित्तिकै नेपालीले शरणार्थी भएको दाबी गर्दै मुद्दा लड्ने गर्छन्। प्रतिवेदनअनुसार सन् २०१३ मा अमेरिकामा शरणार्थीको 'स्ट्याटस' पाउनेमा नेपाल चौथो ठूलो राष्ट्र हो। सन् २०१३ मा ८ सय ५४ नेपालीलाई अमेरिकाले शरणार्थीको स्ट्याटस दिएको छ। यो संख्या सन् २०१२ मा ९ सय ७५, २०११ मा ७ सय ४० र २०१० मा ७ सय ५५ थियो।

Published on: 25 September 2014 | Nagarik

Back to list

;