s

अल्जेरियामा नेपाली कामदार बन्धक बनाएको आरोप

Year of Publication: 13 March 2018 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

कमल खत्री

रोजगारीका लागि अल्जेरिया पुगेका नेपाली श्रमिकलाई बन्धक बनाएर राखेको आरोप आफन्तले लगाएका छन् । सुर्खेत चादनी चोकका रञ्जित विसी र बाँके डुडुवा गाउँपालिका कम्दीका प्रेमबहादुर बुढा गत मंसिरमा रोजगारीका लागि अल्जेरिया पुगेका थिए । अल्जेरिया जानका लागि रञ्जित र प्रेमसँगै गत मंसिर १४ मा अल्जेरिया जानका लागि २१ जनाले श्रम स्वीकृति पाएका थिए।

स्वीकृति पाएपछि मंसिरमा रञ्जित, प्रेमसँगै अन्य नेपाली कामदार एच आर इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिसेस प्रालिमार्फत अल्जेरियाको चाइना पेट्रोलियम जिलिन केमिकल प्रालिमा काम गर्न गएका हुन्। 

लेबर पदमा मासिक ३ सय युएसडी तलब पाउने सर्त अनुसार प्रेम बहादुर अल्जेरिया पुगेका थिए । कम्पनीसँग गरेको सम्झौता पत्रमा खानबस्न कम्पनीले उपलब्ध गराउने लगायत दैनिक आठ घन्टा काम गर्नुपर्ने, यातायात सुविधा कम्पनीले उलब्ध गराउने, मेडिकल, बिमा गर्ने सर्तमा उनी दुई वर्षका लागि अल्जेरिया पुगेका थिए । तर, सर्तअनुसार कम्पनीले काम नलगाएर बन्धक बनाएर राखेको आरोप प्रेमबहादुरकी श्रीमती क्रान्ती बुढाथोकीले लगाएकी छन् । आफ्नो श्रीमानसँगै २७ नेपाली कामदारलाई बन्धक बनाएको आरोप क्रान्तीले लगाइन । र अहिले उनी आफ्नो श्रीमानलाई  नेपाल फर्काउन स्थानीय प्रशासन धाइरहेकी छन्। 
 
तर एच आर इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिसेस प्रालिका प्रमुख नरेश गेलालले सामान्य कुरामा असन्तुष्टि जनाउँदै कामदारले हडताल गरेका कारण अप्ठ्यारो भएको बताए । ‘कामदारलाई बन्धक बनाएर राखेको भन्ने कुरा झुठा हो । हामी अल्जेरियामै गएर वास्तविक कुरा बुझेर आएको छौं । सुरुमा खाना राम्रो भएन भन्ने जस्ता सामान्य कुरालाई लिएर कामदारले हडताल गरेका थिए । पछि केही कामदार काममा फर्कनु भयो । केही अझै काममा फर्कनु भएकौ छैन,’ गेलालले भने,‘उहाँहरुले सत्य कुरा नबुझेर आरोप लगाइरहनु भएको छ । नेपाल फर्कन चाहने कामदारको वर्क परमिट रद्द गरेर नेपाल फर्काउने तयारी गरिरहेको छौं । उहाँहरु नेपाल फर्कदा कम्पनीले खर्च गर्नुपर्ने भएकाले काम गरेको तलब रोकिएको हो।’
 
सुर्खेतका रञ्जितलाई अल्जेरिया पठाउनका लागि मानबहादुर खड्काले एजेन्टका रुपमा काम गरेका थिए । मानबहादुर नातामा रञ्जितका भिनाजु हुन् । सम्झौता अनुसार काम नगरेकाले कम्पनीले तलब दिन रोकेको मानबहादुरले नागरिकलाई बताए । उनले भने, ‘अन्य कामदारले काम गरिरहेको छन् । बाँकेका दुईजनाले मात्र काम नगरेको भनेर कम्पनीले भनेको छ । तर उहाँहरु नेपाल आउन चाहनु भएको छ भने हामी फिर्ता बोलाउन तयार छौं । कम्पनीलाई नेपाल फिर्ता बोलाइ दिनका लागि मैले भनिसकेको छु । कम्पनीसँग गरेको सम्झौता अनुसार तलब र सुविधा पाउने हो । काम नै नगरेर बसेपछि कम्पनीले तलब दिँदैन।’ 
 
सुर्खेत चादनी चोकका रञ्जितले प्रेमसँगै रोजगारीका लागि अल्जेरिया गएका थिए । तर सम्झौता पत्रमा उल्लेख गरे अनुसारको काम नपाएको उनका आफन्तले बताए ।
 
क्रान्तिसँगै सीता पनि अहिले श्रीमानलाई नेपाल फर्काउनका लागि प्रशासन र पठाउने कम्पनीसँग अनुरोध गरिरहेको छन् । तर प्रहरी प्रशासनले सहयोग नगरेको उनीहरुको गुनासो छ।
 
श्रम स्वीकृति लिने बेला नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभागले विभिन्न सात सर्त उल्लेख गरेको हुन्छ । सर्त नम्बर २ मा कानूनबमोजिम कसुर बिना करार पत्रमा उल्लेख गरिए अनुसार सुविधा नपाए कामदारले पाउने सेवा र सुविधा उपलब्ध गराउने दायित्व पठाउने कम्पनीको हुने उल्लेख छ। 
 
क्रान्तिले दुई महिनादेखि कम्पनीले तलबसमेत नदिएर श्रीमानलाई घरमा सम्पर्क गर्नबाट वञ्चित गरिरहेको बताइन् । उनले भनिन्, ‘फोनमा कुराकानी गर्न नदिएको दुई महिना भयो । इमोमा कुरा हुँदा कम्पनीले काममा नलगाएर बन्धक बनाएर राखेको थाहा भयो । हामीलाई कम्पनीको सर्त अनुसारको तलब सुविधा होइन । श्रीमानलाई घरमा फर्काइदिए पुग्छ ।’
 
कम्पनीले १५ दिनदेखि नेपाल फर्काइदिन्छु भनेको थियो तर अहिलेसम्म कुनै चासो नदेखाएको क्रान्तिले गुनासो गरिन। उनले भनिन्, ‘सर्तअनुसार काम र सुविधा नपाएको बारेमा कम्पनीलाई भन्दा केही वास्ता गर्दैन । तपाईंहरु जे गर्न सक्नुहुन्छ गर्नु भन्छ । प्रहरीले कम्पनीको प्रतिनिधिलाई बोलाएर कुरा गर्छु भन्छ । तर गर्दैन।’
 
कम्दीका प्रेम स्थानीय एजेन्ट दुर्गा पौडेलमार्फत अल्जेरिया गएका हुन् । रञ्जितलाई उनका भिनाजु मानबहादुरले एजेन्टसँग सम्पर्क गराएका थिए । अल्जेरियामा मासिक एक लाख तलब पाउने भन्दै रञ्जित आफन्तमार्फत विदेश थिए । निःशुल्क भिसा खर्च लाग्ने भएपनि कम्पनीले तीन लाख रुपैयाँमा अल्जेरिया पठाएको सीताले बताइन् । सीताले भनिन्, ‘ऋण लिएर पठाएका हौं । ब्याज तिर्न गार्हो भइरहेको छ । ऋण तिर्न समस्या परिरहे पनि श्रीमानलाई नेपाल फकार्उन पाए पुग्छ ।’   
 
Published on: 13 March 2018 | Nagarik

Back to list

;