s

अफ्रिकामा बन्धक बनाइएका युवाको उद्धार

Year of Publication: 13 November 2019 | Nagarik

Published by: CESLAM

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका छ युवालाई अमेरिका लैजान्छु भनेर अफ्रिकाको मलावीमा लगेर बन्धक बनाउने कार्यमा संलग्न भारतीय नागरिक नाजिर अहमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले विगत एक वर्षदेखि अमेरिका लैजाने भनी भियतनाम, इथियोपिया, मडागास्कार, जोर्डन, दुबई, अजरबैजान हुँदै अफ्रिकाको मलावी पुर्‍याएर बन्धक बनाएको जानकारी दिए।

'ब्यूरोको टोली र मलावीको सीआईडी पुलिसको समन्वयमा मलावीको गाउँबाट उद्धार गरी स्वदेश फर्काउन सफल भएका छौँ,' उनले भने। उद्धार गरिएका मध्ये पर्वतका चार युवालाई स्वदेश ल्याइसकिएको र बाँकी दुईलाई ल्याउने क्रममा रहेको ब्यूरोले जनाएको छ।

मानव तस्कर गिरोहले अजरबैजान लाने क्रममा नेपालबाट भियतनाम लगेर २० दिन राखेको, इथियोपियामा चार महिना, मडागास्कारमा २५ दिन, जोर्डनमा एक महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको अनुसन्धानमा खुलेको छ।

मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहको मलावी प्रहरी तथा मानव बेचविखन अनुसन्धान ब्यूरोबाट अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही हुने प्रवक्ता थपलियाले बताए। रासस

Published on: 13 November 2019 | Nagarik

Link

Back to list

;