s

आवुधावीमा सात महिनादेखि डेढ सय नेपाली कामविहीन

Year of Publication: 11 January 2019 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

होम कार्की

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा डेढ सय नेपाली ७ महिनादेखि बिचल्लीमा छन् । अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरू कम्पनीले नयाँ ठेक्का नपाएपछि कामविहीन भएका हुन् । यो कम्पनीमा नेपाली, भारतीय, बंगाली र श्रीलंकाली गरी झन्डै एक हजार श्रमिक छन् ।

कम्पनीले काम नभएकाले बाँकी तलब दिन नसकिने जनाएको छ। भिसा नवीकरण र टिकट खर्च दिन पनि असमर्थता जनाउँदै कम्पनीले श्रमिकलाई आफ्नो व्यवस्था आफैं गर्न भनेको छ। श्रमिकले ७ महिनादेखिको तलब पाउन बाँकी छ। तीन महिनादेखि खानाको व्यवस्था गरिएको छैन। चिनजानका साथीभाइले खुवाइरहेको सुर्खेतका विष्णुप्रसाद कोइरालाले बताए।
 
‘सात महिनादेखि बिनाकाम बस्नुपरेको मानसिक तनाब त छँदै छ। त्यसमाथि अहिले आफैंले जे गर्न सक्छ गर भन्दै कम्पनी पन्छियो,’ सुर्खेतका रवीन्द्र श्रेष्ठले कान्तिपुरलाई भने, ‘कैयौं साथीहरूको भिसा सकिएको छ। उनीहरूको दैनिक जरिवाना लागिरहेको छ। चाहेर पनि आफैं स्वदेश फिर्न सकिरहेका छैनौं।’ कम्पनीले डिसेम्बरभित्र पर्खन भनेकाले सुरुमै दूतावास नगएको उनले बताए।
 
श्रमिकका अनुसार सुरुमै नेपाली दूतावास वा श्रम अदालत गएको भए कम्पनीको आर्थिक कारोबार रोकिन्थ्यो। ‘त्यतिखेरै अदालत गएको भए हामीले पाउने तलबसहितको सुविधा पाइन्थ्यो होला। आफ्नो सबै हिसाबकिताब मिलाइसकेर हामीलाई अन्याय गर्‍यो,’ श्रेष्ठले भने, ‘हामी भने सोझो हिसाबले मुलुक फिर्ने दिन कुरेर बसिरह्यौं।’ उनीहरूले मासिक ९ सयदेखि ४ हजार दिरामसम्म तलब पाउँथे।
 
अहिले क्याम्पबाट समेत निकालिन थालेपछि पीडितहरू दूतावासको शरणमा पुगेका हुन्। यूएई प्रहरीले क्याम्पबाट ननिस्कन र बाहिर हिँडडुल नगर्न अनुरोध गरेको छ। उनीहरू कुक, वेटर, स्टोरकिपर, क्लिनर, सुपरभाइजरलगायत पदमा कार्यरत थिए। काम दिन नसकेपछि कम्पनीले उनीहरूलाई आबुधाबीको मुसाफा–४० मा ल्याएर राखेको छ।
 
कम्पनीले यूएईको सीमा सुरक्षा फौज, तेलखानी, अस्पताललगायत क्षेत्रमा कार्यरत श्रमिकका लागि खाना उपलब्ध गराउने काम गर्दै आएको थियो। हरेक दिन एक लाख प्याकेट खाना उत्पादन तथा वितरण गर्दै आएको कम्पनीको वेबसाइटमा उल्लेख छ।
 
नेपाली दूतावासले श्रमिकको अवस्था बुझ्न बुधबार श्रम काउन्सेलर भेषबहादुर कार्कीको नेतृत्वमा टोली क्याम्प पठाएको थियो। कम्पनीका मानव संसाधन प्रमुखले आफूले पनि तलब नपाएको र कम्पनी मालिकबाट मात्र समस्या सुल्टिने भन्दै पन्छिएको कार्कीले बताए। कम्पनीका मालिक सम्पर्कबाहिर छन्।
 
दूतावासले यसबारे यूएईका परराष्ट्र र श्रम मन्त्रालयलाई पत्र लेखेको कार्यवाहक राजदूत सागर फुयालले जानकारी दिए। उनले यूएई सरकार र कम्पनीसँग समन्वय गरी उद्धार गरिने बताए।
 
Published On: 11 January 2019 | Kantipur

Back to list

;