s

अवैध रुपमा अमेरिका पुगेका पाँच नेपालीलाई फर्काउन चार्टर्ड विमान, जहाजभित्र पनि उनीहरूलाई हत्कडी

Year of Publication: 19 December 2019 | Setopati

Published by: CESLAM

स्थायी आप्रवासको आश्वासनमा दलालमार्फत चोरी बाटो हुँदै अमेरिका पुगेका पाँच नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ। लामो समय अध्यागमनको हिरासतमा रहेका नेपाली युवालाई त्यहाँको अदालतले गैरआप्रवासी ठहर गरेपछि अमेरिकाले नेपाल ‘डिपोर्ट’ गरेको हो।

डिपोर्ट भएका ती नेपालीलाई छोड्न बुधबार चार्टर्ड बिमान काठमाडौं आएको थियो। अमेरिकी सरकारले चार्टर्ड गरेर पठाएको निजी बिमानमा अबैध बाटो हुँदै अमेरिका पुगेका नेपाली युवासहित तीन जना पाकिस्तानी नागरिक पनि थिए।

नेपाली युवालाई काठमाडौं उतारेर ‘डिपोर्ट’मा परेका तीन नागरिक छोड्न उक्त बिमान पाकिस्तान गएको नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले बताए।कार्कीका अनुसार नेपालस्थित अमेरिकन दूतावासले पहिले नै नेपाललाई उनीहरूको ‘डिपोर्ट’को जानकारी दिएको थियो।

यसरी फर्काइएका नेपालीमा रूकुम स्यालापाखा-९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल क्षेत्री छन्। उनीहरूलाई अहिले ब्युरोले संरक्षणमा राखेको छ।

नेपाल आइपुगेका युवाले विमानमा नेपाल आउँदा पनि धेरै कष्ट पाएको बताए। ‘प्लेनमा चढ्दा हत्कडी लगाइएको थियो, काठमाडौं उत्रेपछि मात्र खोलियो,’ पीडित युवामध्ये रूकुमका रेउलेले भने, ‘खाना पनि बाँदरले जसरी खानुपर्‍यो।’नेपाल तथा भारतका दलालमार्फत स्थायी आप्रवासको आश्वासन पाएर उनीहरू चोरी बाटो हुँदै अमेरिका पुगेको ब्युरोले जनाएको छ। प्रहरीका अनुसार नेपाल आइपुगेका पीडित युवाले दलालको नाम बताइसकेका छैनन्।

अमेरिका पुग्न लाखौं खर्च गरेको बताएका उनीहरूले त्यहाँ पुगेपछि लामो समय हिरासत बसेको बताएका छन्। अमेरिका छिर्नेवित्तिकै पक्राउ परेका उनीहरूले त्यहाँको अध्यागमन हिरासतमा रहँदा धेरै दु:ख-कष्ट भोगेको प्रहरीलाई बताएका छन्। थुनामै रहेर उनीहरूले मुद्दा लडेका थिए। अदालतले उनीहरूलाई गैरआप्रवासी ठहर गरेपछि ‘डिपोर्ट’ गरिएको हो। ‘पीडितहरू अहिले राम्ररी बोल्न सक्ने अवस्थामा नरहेकाले सबै कुरा बुझ्न पाइएको छैन,’ ब्युरोका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले भने, ‘सोधपुछ तथा अनुसन्धान भइरहेको छ।’

पीडितले प्रहरीमा प्रारम्भिक सूचना भने दिएका छन्। ‘म २०१४ जुलाई ३१ मा अमेरिका गएँ, नेपालबाट दुबई र त्यहाँबाट अमेरिका गएँ। विद्यार्थी भिसामा गएको थिएँ, आउट अफ स्टाटस भएपछि अध्यागमनको प्रक्रियामा जाँदा उतै थुनिएँ,’ नवलपरासीका पीडित अर्जुन क्षेत्री पौडेलले प्रहरीसँग भनेका छन्।

रूकुमका प्रमोदकुमार पुन मगरले आफू २०७४ साल असोजमा नेपालबाट गएको उल्लेख गरेका छन्। उनी भारत, दुबई, कोलम्बिया, पानामा, कोस्टारिका, होण्डुरस,ग्वाटेमाला र मेक्सिको हुँदै अमेरिका पुगेका थिए।‘करिब चार महिनाको यात्रापछि मेक्सिको क्रस गरेर अमेरिका पुग्दै थिएँ प्रहरीले पक्राउ गर्यो,’ उनले भने। पक्राउपछि आफू ११ महिना हिरासतमा परेको उनले बताएका छन्। ‘यो समयमा मुद्दा लडेँ तर अन्तिममा डिपोर्ट गरिदियो,’ उनले भने।

यसक्रममा आफ्नो पचास लाख रुपैयाँ खर्च भएको उनले दाबी गरेका छन्। उनले आफूलाई लैजाने एजेन्ट भारतीय भएको बताए। ‘मलाई ती एजेन्टको नाम थाहा छैन, यहाँका सिबी गुरूङ भन्ने व्यक्तिले उनीसँग सम्पर्क गराइदिए। पैसा उनै भारतीयलाई दिएँ,’ उनले भने। रूकुमकै रेउलेले पनि २०७४ सालमा आफू नेपालबाट अमेरिकाका लागि हिँडेको बताएका छन्। उनी नेपालबाट सुरूमा भारत गएका थिए। भारतमा एक महिना बसे। त्यसपछि रसिया, होण्डुरस, पानामा, ग्वाटेमाला र मेक्सिको हुँदै अमेरिका पुगेको उनले बताए। ‘मेक्सिकोबाट अमेरिकाको वाल नाघेको पाँच मिनेटमै पक्राउ परेँ,’ उनले भने।

पक्राउपछि आफू २२ महिना हिरासतमा बसेको उनले बताए। ‘यहीबीचमा म नेपाल डिपोर्ट भएँ। जाँदा र अदालतको खर्च गरी करिब एक करोड खर्च भएको छ,’ उनले प्रहरीमा दाबी गरेका छन्।

बाग्लुङका देवेन्द्रबहादुर क्षेत्रीले आफू १५ महिनाअघि भारत, बोलिभिया, पेरू, इक्वेडर, कोलम्बिया, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेको बताएका छन्। ‘मेक्सिकोबाट अमेरिका पुगेलगत्तै पक्राउ परेँ। सात महिना हिरासतको बसाइपछि नेपाल डिपोर्ट भएँ। मलाई लैजाने एजेन्टको बारेमा थाहा छैन,’ उनले भने।

घोराहीका अभिश्वर बुढामगरले आफू २०७४ सालमा नेपालबाट अमेरिकाको लागि भारत गएको बताएका छन्। भारतबाट सुरीनाम, ब्राजिल, कोस्टारिका, पानामा, निकारागुवा, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेको बताएका छन्। नेपाल आइपुगेपछि नेपाली युवाले आफूहरूजस्तै कयौं युवा अमेरिकी अध्यागमनमा हिरासतमा रहेको बताएका छन्। रौलेले भने, ‘हामीजस्तै त्यहाँ कम्तीमा ७० नेपाली मुद्दा लडिरहेका छन्।’अबैध बाटोबाट अमेरिका जाने नेपाली युवाको लर्को नै रहेको देखिएको प्रहरीले जनाएको छ।

नेपालस्थित दूतावासले ‘डिपोर्ट’ भएका नेपालीबारे अनुसन्धान गर्न आवश्यक परे प्रक्रिया थाल्न भनेपछि ब्युरोको टोलीले युवालाई कार्यालय ल्याएको थियो। एसएसपी कार्कीका अनुसार पीडितले जाहेरी दिए चोरी बाटोबाट अमेरिका लैजाने दलालबारे अनुसन्धान गरिने बताए। ‘पीडितले अहिले केही खुलाएका छैनन्, उनीहरूलाई परामर्श दिइरहेका छौं, दलालको नाम उल्लेख गरे हामी खोजी गर्छौं,’ कार्कीले भने। अबैध बाटोबाट विदेश पुर्याउनेविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा आकर्षित गरेर कारबाही गर्न सकिने कार्कीले बताए।

Published on: 19 December 2019 | Setopati

Link

Back to list

;