s

अब स्वदेश फर्कन सहज

Year of Publication: 9 October 2020 | Kantipur

Published by: CESLAM

उडान नियमित भएपछि घर आउन चाहनेले दूतावासमा नाम दर्ता गराएर अनुमति लिनैपर्ने नियम निष्क्रिय

होम कार्की

काठमाडौँ — नियमित उडान भएपछि खाडीका मुलुक तथा मलेसियाबाट घर फर्कने नेपालीलाई सहज भएको छ । हवाई उडान नियमित भएपछि त्यहाँस्थित नेपाली दूतावासले स्वदेश फिर्न चाहने नेपाली श्रमिकले अनुमति लिनुपर्ने व्यवस्था हटाएको छ ।

प्रमुख गन्तव्यस्थित नेपाली दूतावासहरूका अनुसार कोभिड–१९ को संक्रमण बढ्नुपूर्व जसरी नै सामान्य अवस्थामा स्वदेश फिर्न सक्ने वातावरण बनेको हो । ‘हामीले नामावली प्रकाशन बन्द गरिसक्यौं । अब स्वदेश फिर्न चाहनेले दूतावासमा नाम दर्ता गर्ने र अनुमति लिनैपर्ने बाध्यता छैन,’ संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले फोनमा कान्तिपुरसँग भने, ‘पहिलाजस्तो जान पाइएन भन्ने अवस्था अहिले छैन ।’

कोरोनाले यूएईको सेवा क्षेत्रलाई ठूलो असर परेको थियो । रोजगार गुमाएर स्वदेश फिर्न सक्ने नेपालीको चाप थेग्न दूतावासलाई निकै कठिन परेको थियो । यूएईमा मात्रै झन्डै ५० हजार जनाले घर फिर्तीका लागि नाम दर्ता गराएका थिए । असोज २० सम्म यूएईबाट २७ हजार ४ सय ३८ जना स्वदेश फिरेका छन् । यसरी फिर्नेमा झन्डै १० प्रतिशत महिला रहेको दूतावासले जनाएको छ ।

‘अब जरिवाना तिर्न नसकेर रोकिएकाहरूका केस मात्रै दूतावासले हेर्नुपरेको छ,’ राजदूत ढकालले भने, ‘जरिवाना तिर्न नसकेर विमानस्थलबाट फर्कनुपरेकाको जरिवाना मिनाहा गर्नका लागि यूएई सरकारसँग समन्वय भइरहेको छ ।’ बुधबार दूतावासले १५ जनाको ओभरस्टेबापत लागेको ६० हजार दिराम (झन्डै १८ लाख रुपैयाँ) जरिवाना मिनाहा गरेको थियो ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले घर जान पाइएन भनेर श्रमिकहरू दूतावासमा आउन छाडेको बताए । कतारबाट स्वदेश फिर्नका लागि नाम दर्ता गरेका २४ हजारमध्ये १४ हजार ४ सय ७८ जना स्वदेश आइसकेका छन् । कतारबाट यसरी फिर्नेमा ४ सय ६८ जना महिला छन् । ‘अहिले हामीले कन्सुलर सेवामा केन्द्रित गर्न पाएका छौं । तलब नपाएका केसहरू हेर्न थालेका छौं । पहिलाजस्तो दिनरात स्वदेश फिर्न चाहने नेपालीको पहिचान गर्नु परेन । प्राथमिकताका आधारमा छुटाउनुपरेन,’ उनले भने, ‘नियमित उडानमा पनि स्वदेश फिर्नेको चाप छैन ।’

उनका अनुसार टिकटको अभावमा स्वदेश फिर्नबाट कोही वञ्चित छैन । ‘नेपाली दूतावास, नेपाली व्यवसायी र गैरआवासीय नेपाली संघ मिलेर संयुक्त रूपमा २७ लाख रुपैयाँ बराबरको कोष बनाएका थियौं । टिकट जुटाउन नसक्नेलाई यही कोषबाट टिकट दिने योजना थियो । यो कोषबाट धेरैलाई टिकट नै दिनुपरेन,’ उनले भने, ‘हामीसँग अझै कोषमा रकम छ । वैदेशिक कल्याणकारी कोषलाई प्रयोग गर्नु परेन । कल्याणकारी कोष प्रयोग निकै झन्झटिलो थियो । उताबाट पनि कार्यविधिलाई सहज बनाएर पठाएन । हामीले पनि यसबारे धेरै चासो राखेनौं ।’

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले स्वदेश फिर्नेको चाप स्वाट्टै घटेको बताए । ‘अहिले पर्याप्त उडान छ । कतिपय उडानले त यात्रु नपाएर तालिका नै सार्नु परेको छ । स्वदेश गइसकेपछि फेरि आउन निश्चित छैन । घर जानैपर्ने मात्रै जान चाहेको देखिन्छ,’ उनले भने, ‘घर जान पाइएन भन्ने गुनासो दूतावासमा आउने गरेको छैन, बरु कम्पनीले एक्जिट मेमो ननिकालिदिएको वा ढिलो गरेको गुनासो आउँछन् । त्यो हामीले सल्टाइदिन्छौं ।’ मलेसियामा घर फिर्नका लागि दूतावासमा आवेदन दिने १७ हजारमध्ये १३ हजार ६ सय ५९ जना स्वदेश आइसकेका छन् । यसरी फिर्नेमा झन्डै ५ सय जना महिला छन् ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले स्वदेश फिर्ने प्रक्रियामा देखिएको जटिलता हटेको बताए । ‘नियमित उडान हुनासाथ स्वदेश फिर्ने प्रक्रियामा सामान्य अवस्था भइदियो । त्यत्रो कोलाहाल एकाएक हट्यो । अहिले कसैको गुनासो छैन । हामीले पनि नाम निकाल्ने काम बन्द गर्‍यौं,’ उनले भने । साउदीबाट स्वदेश फिर्नका लागि झन्डै २१ हजार जनाले नाम दर्ता गराएका थिए । त्यसमध्ये १५ हजार २ सय ९८ जना आइसकेका छन् । ‘नियमित उडान भइदिएपछि हामी घर जान पाइन्छ भन्ने विश्वास पलाएको छ । त्यो भएपछि कुनै दबाब दूतावासमा नआउने रहेछ,’ उनले भने ।

Published on: 9 October 2020 | Kantipur

Link

Back to list

;