s

अब स्वदेशमै

Year of Publication: 7 September 2012 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

अनमोलमणि

उनलाई लाग्यो, एकपल्ट त छिरौं, त्यसपछि देखा जाला । परेको दुःख सहुँला, गरुँला । आखिर सबैले गरेकै त छन्  ममात्रै किन पछि ? त्यसपछि सन् २००९ को अन्त्यमा रोशनराज मेहताका सपनाले प्वाँख हाले । परिवार, साथीभाइलाई बाईबाई गरेर बेलायत पढ्न उडे ।

'तर सोचेजस्तो भएन,' नेपालको सेन्ट जोसेफबाट एसएलसी र भारतको बैंग्लोरबाट प्लस टु सकेका युवाले हालैको एक बिहान सुनाए, 'बेलायतमा सोचेजस्तो सजिलो छैन । नियम कुनै पनि बेला फेरिन्छ । हामीजस्ता विद्यार्थी सधैं समस्यामा पर्छौं । परिवारको लाखौं खर्चेर पढ्नै जाने भए ठीकै छ । कमाउँदै पढ्छु भन्नेले नगएकै राम्रो । दुःख पाइन्छ ।'

सामान्य मान्छेहरूले सोच्नेजस्तै उनलाई पनि लागेको थियो बेलायत ओर्लेपछि सारा कुरा ठीक भइहाल्छ, काम, दाम र पढाइ तीनै चीज । परिवारको खर्च केही समयका लागि हो । त्यसपछि आफ्नै खुट्टामा उभिइन्छ, कमाइन्छ र पढिन्छ । सहरमा छ्यास्छ्यास्ती खुलेका कन्सल्टेन्सीले त्यो सपनामा मलजल गरेका थिए । कन्सल्टेन्सीले आइपर्ने समस्या बताएनन्, सम्भावनामात्रै देखाए । काम र दाम दुवैको आकर्षक कुरा सुनाएर जाउँ जाउँ पारे । 'मैले यूकेबाहेक अरू देश जान्छु भनेर सोच्दै सोचिनँ,' बेलायतको सिटी अफ बि्रटिस कलेजबाट फर्केका उनले भने, 'परिवारको १५ लाखभन्दा बढी सकिएपछि मलाई लाग्यो योभन्दा नेपालै फर्किनु बेस । र म ३ वर्ष बेलायत पढेर एक वर्षको डिग्री बोकी नेपाल फर्कें ।'

आशिष ज्ञवालीको कथा पनि उस्तै छ । बीबीए पढ्न बेलायत गएका उनी दुई वर्षे बसाइपछि नेपालमै एमई गर्दैछन् । 'केही गर्छु भन्नेले जहाँ पनि गर्न सक्छ जस्तो लाग्यो,' लन्डन ग्रयाजुएट स्कुल अफ मेनेजमेन्टमा पढेर फर्केका विद्यार्थी बोले, 'त्यतै बस्छु भन्ने मेरो सोच थिएन । यति छिट्टै फर्कुंला भन्ने पनि लागेको थिएन । अलि समय बसेर पढुँला भन्ने थियो । छिनछिनमा बदलिरहने त्यहाँको नियम र त्यसले दिने झन्झट सम्झेर म नेपाल फिरें ।'

र, रश्ना शर्मा । ३ वर्षे बसाइपछि नेपाल फिरिन् । 'यहाँको डिग्रीमा पनि कुनै कमी छैन, अब यहीं पढ्छु,' उनले सुनाइन्, 'त्यहाँ होम सिक हुन्थ्यो । यहाँ परिवारसँगै सबेर पढ्न पाइन्छ । त्यहाँ खर्च धेरै हुन्थ्यो यहाँ स्वतः कम हुन्छ ।' सबै गएकै छन् जाउँ न त कै शैलीमा उनी पनि बेलायत पुगेकी थिइन् ।

समान हन्डर र ठक्करको अनुभव बोकेका तीनै जना 'यूके रिटर्न' हरू अहिले थापाथलीको बि्रटिस कलेज भर्ना भएका छन् । जुन बेलायतको उच्च विश्वसनीय मानिएको युनिभर्सिटी अफ बेस्ट अफ इङ्ल्यान्डसितको सम्बन्धना चलेको छ । यहाँ पढेकाले त्यही विश्वविद्यालयको डिग्री पाउने भएकाले उनीहरू उता छाडेर यता आए । 'स्वदेश बसीबसी कम पैसामा बेलायतकै डिग्री,' आशिषले भने, 'किन उताको तनाव खपिरहनु ?' कलेजका निर्देशक राजेन कँडेलले शैक्षिक सत्रको आधा यता र आधा उता -बेलायत गरेर) पढ्ने सुविधा पनि कलेजमा रहेको जनाए । यता भर्ना भएका विद्यार्थी फेरि उता गएर पढ्न उत्साही भने छैनन् ।

यी तीनै जनाले बेग्लाबेग्लै स्कुल पढे । फरक फरक प्लस टु । एउटै आकाशबाट उडे पनि छुट्टाछुट्टै आकांक्षा बोकेर बेलायत गए । छुट्टाछुट्टै कारणले नेपाल फिरे । फर्किनुको कारण जस्तो भए पनि यूके अनुभव भने तीनै जनाको समान छ, त्यहाँ कामको सम्मान छ । कामकै कारण कसैले कसैलाई खिस्याउँदैन, होच्याउँदैन । त्यही भएर जुनसुकै काम गर्न कोही हिचकिचाउँदैन । नेपालमा त्यो वातावरण सिर्जना हुन सकेको छैन ।

त्यहाँको पढाइ प्रयोगात्मक छ । व्यक्तिगत जीवनमा कामकाजी हुने खालको । सिर्जनात्मक र आलोचनात्मक सोच विकास गर्ने खालको । घोकेर, सारेर पढ्ने सम्भावना नै छैन । समस्या एउटै हो, तेस्रो विश्वका विद्यार्थीले काम गर्न पाउने समय कम छ । जति समय काम गर्न पाउँछन् त्यसको कमाइले पुग्दैन । सधैं घरबाट पैसा पठाएर बेलायत बसीबसी पढ्न सम्भव छैन । हप्ता दिन अघि एउटा विश्वविद्यालयलाई बेलायत सरकारले युरोपियन युनियन बाहिरका विद्यार्थी पढाउने स्वीकृति खारेज गरिदिएपछि ५ सय नेपालीसहित करिब ३ हजार विद्यार्थी बिचल्लीमा छन् । फर्केका तीन विद्यार्थीको भनाइमा 'यस्तो समस्या भइरहन्छ । अझ ओलम्पिक पनि सकिएकाले तेस्रो विश्वका विद्यार्थी लक्षित यस्तो समस्या झन् भइरहन्छ ।'

'उता होटलमा काम गर्न पनि अप्ठ्यारो लागेन, यहाँ त्यही काम पाए पनि गर्न सक्ने अवस्था छैन,' आशिषले भने, 'यहाँ सोच्ने तरिका नै गलत छ । समाजले व्यक्तिले गरेको कामलाई प्रोत्साहन दिँदैन । राज्यले काम गर्न चाहनेका लागि अवसर दिँदैन ।' रश्नाका शब्दमा राज्यले अवसर र समाजले प्रोत्साहन दिँदो हो त हजारौं युवा आफ्नो ऊर्जाशील समय यहीं खर्चिन्थे । पसिना बगाउँथे र कमाउँथे । नेपालबाट बेलायत जानेमध्ये पढ्नकै लागि जाने अत्यन्त कम छन् । सबैको पहिलो प्राथमिकता कमाउने हो । दोस्रो प्राथमिकतामात्रै पढ्ने हो । उनले उल्टै सोधिन्, 'देशमै कमाउने, काम गर्ने र पढ्ने वातावरण हुँदो हो त उता किन जानुपथ्र्यो, हैन ?'

उनको प्रश्नमा सही थप्दै आशिष र रोशनराजले भने, 'त्यही त ।'

'गर्न चाहन्छु भन्दा पनि यहाँ भनेजस्तो अवसर छैन,' रोशनराजले थपे, 'उद्योगधन्दा, कलकारखाना, होटल, रेस्टुरेन्ट तथा मल्टिनेसनल कम्पनी छैनन् । व्यापार चौपट छ । काम गर्न चाहनेका लागि त्यस्तो क्षेत्र छैन । लगानी गर्न चाहनेको लगानी संरक्षित छैन । त्यही भएर युवाहरू निराशजस्तो भएका छन् । उनीहरू बेलायत वा अन्य देश जान चाहनुको कारण पनि त्यही हो ।' बेलायतमा त्यस्तो छैन । चाहनेले अवसर पाएका छन् । 

नेपाल फर्केपछि उनीहरूलाई लाग्यो, हामीसित राष्ट्रियता पनि अत्यन्त कमजोर रहेछ । राष्ट्रियताको अर्थ झन्डा काखी च्यापेर, देशको नक्सा झोलामा बोकेर हिँड्नुमात्रै होइन । राष्ट्रियता भनेको भावना हो । 'अरू देशका मान्छेहरू भेटेपछि हाम्रो मनमा पनि त्यो कुरा खट्केको छ,' आशिषले भने, 'आफ्नो देशको सामान किन्ने, आफ्नोलाई प्राथमिकता दिने कुरा राष्ट्रियता हो । नारा वा राष्ट्रिय गानमात्रै होइन । हामीले आफूप्रति गर्व गर्न सकेका छैनौं ।'

रोशनराजका शब्दमा नेपाली किशोर र युवा विदेश भनेर मरिहत्ते गर्छन् । विदेश पुगेपछि बल्ल मेहनत र परिश्रमको महत्त्व थाहा हुन्छ । 'हामीले बेलायत गएर संस्कार सिक्यौं । अनुशासन सिक्यौं । व्यक्तिको सम्मान गर्न सिक्यौं,' उनले भने ।

अब आशिषले पराराष्ट्र सेवाको परीक्षा दिने र नेपालको कूटनीतिक क्षेत्रमा पाइला सार्ने तयारी गरेका छन् । रोशनराज दुर्गममा गएर सेवा गर्न चाहन्छन् । 'धेरैले अब गफ दियो भन्छन्,' उनले भने, 'नेपालमा धनी धेरै धनी भएर र गरिब झन् गरिब हुँदै गएकाले समाजमा दुई खालका मान्छेहरू पैदा भएका छन् । सबैले समान अवसर पाउनुपर्छ । म त्यसका लागि काम गर्छु ।' रश्ना एनजीओ खोल्न चाहन्छिन् । बैंकको सीईओ हुने उनको अर्को इच्छा हो । इच्छा पूरा होस् !

Published on: September 2012 | Kantipur

Back to list

;