s

अब श्रमसम्बन्धी काम पोखराबाट

Year of Publication: 10 January 2019 । Gorkhapatra

Publication Type: NEWS

Published by: CESLAM

सीता शर्मा
 
बिहीबारदेखि गण्डकी प्रदेशको पोखरा श्रम कार्यालयबाट श्रम तथा रोजगारसँग सम्बन्धित सेवा शुरु गर्नेभएको छ । पुस १५ गतेबाट प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलका श्रम कार्यालयबाट उक्त सेवा दिन शुरु गरिसकेको श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलिदेखि पोखराको श्रम कार्यालयबाट पनि सो सेवा दिने भएको हो । अहिलेसम्म वैदेशिक रोजगारका सबै प्रकारका सेवाका लागि काठमाडौँ आउनुपर्ने बाध्यता थियो । 
 
गण्डकी प्रदेशमा दिइने उक्त सेवाको तयारीका लागि वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठ र प्राविधिक विपुल पराजुली पोखरा पुगिसक्नुभएको विभागले जनाएको छ । 
 
श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार बाँकी तीनवटा प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट श्रम तथा रोजगारसँग सम्बन्धित सेवा दिने तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै वितरण हुने भए पनि छिट्टै पूर्वस्वीकृतिको काम पनि प्रदेश कार्यालयबाट हुने मन्त्रालयका प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । मन्त्रलयका अनुसार विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढी रहेका श्रम तथा रोजगार कार्यालयहरूले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ बमोजिम वैदेशिक रोजगारमा श्रमिक पठाउन निश्चित सङ्ख्यामा माग निर्धारण गरी पूर्वस्वीकृतिका लागि निवेदन लिने र पूर्वस्वीकृति दिन सक्नेछन् । 
 
प्रदेशको श्रम कार्यालयलाई पुनः श्रम स्वीकृति, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी तथा अभिमुखीकरण तालिम दिने संस्थाहरूको अनुगमन र नियमन गर्ने, वैदेशिक रोजगारीसम्बन्धी सूचना जानकारी दिने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको छ । 
 
काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार कार्यालयबाट मात्रै वैदेशिक रोजगारसँग सम्बन्धित सेवा दिइँदै आएकोमा सरकारले नयाँ व्यवस्था गरेको हो । सबै प्रदेशबाट श्रम र रोजगारसँग सम्बन्धित सेवा दिन शुरु गरेसँगै हाल रहेको ताहाचलको वैदेशिक रोजगार कार्यालयको भीड घट्ने अपेक्षा सरकारको छ । 
 
Published on: 10 January 2019 । Gorkhapatra

Back to list

;