s

अब अनलाइनबाट श्रम स्वीकृति

Year of Publication: 8 December 2019 | Annapurna Post

Published by: CESLAM

तुलसी सुवेदी

वैदेशिक रोजगारीमा जाने कामदार छनोट र श्रम स्वीकृति अब अनलाइनबाटै हुने भएको छ। डिसेम्बर १५ देखि वैदेशिक रोजगारीका सबै काम अनलाइनबाटै गर्नेगरी वैदेशिक रोजगार विभागले तयारी पूरा गरेको छ। विभागका महानिर्देशक भीष्मकुमार भुसालले कामदार छनोट तथा श्रम स्वीकृतिमा पारदर्शिता ल्याउन अनलाइनमार्फत नै श्रम स्वीकृतिका सम्पूर्ण काम गर्न लागिएको जानकारी दिए।

म्यानपावर व्यवसायीले पूर्वस्वीकृति लिने, कामदार छनोट गर्नुपर्ने, विज्ञापन, अन्तिम स्वीकृतिलगायत सबै प्रक्रिया अनलाइनबाटै हुनेछ। यस व्यवस्थाको कार्यान्वयनसँगै कागजात बोक्दै कार्यालय जानुपर्ने अवस्थाको अन्त्य हुने भुसालले बताए।

विभागका अनुुसार छनोटमा परेका उम्मेदवारको विस्तृत विवरणसमेत सिस्टममा अपलोड हुुन्छ। सिस्टममा छानिएका र वैकल्पिक उम्मेदवारको समेत सूची राखिनेछ। छनोटमा परेका कामदारको मोबाइलमा सम्पूर्ण जानकारी आउनेगरी नयाँ प्रणाली अपनाउन थालिएको महानिर्देशक भुुसालले बताए।

म्यानपावर प्रक्रियाका लागि ताहाचल कार्यालयमा जानु नपर्ने भएपछि म्यानपावर तथा कामदारलाई सहज हुनेछ। ‘अब व्यवसायीले झन्झट बेहोर्नुपर्ने छैन’, उनले भने, ‘यसबाट पेपर रोकिन्छ।’ यसले कामदार छनोटमा समेत पारदर्शिता ल्याउनेछ।

व्यवसायीले पूर्वस्वीकृति लिई कामदार छनोट प्रक्रियामा चलखेल गर्ने गर्छन्। एउटा म्यानपावर व्यवसायीले अन्तर्वार्ता लिने र अर्कोले श्रम स्वीकृति निकालिदिने प्रथा पनि छ। छनोट प्रक्रियामा समावेशै नभएकाको पनि श्रम स्वीकृति निकाल्ने चलन रोक्न विभागले श्रम स्वीकृतिमा कडाइ गरेको हो। एउटा व्यवसायीले श्रम छनोट गरी अर्कोले स्वीकृति निकाल्ने प्रवृत्तिले कामदार ठगिने गरेका छन्। यसले उजुरीमा कारबाही प्रक्रियामा समेत कठिनाई भइरहेको थियो।

महानिर्देशक भुसालले वैदेशिक रोजगारीको ठगी रोक्न अन्तर्वार्ताको मिति अन्तर्वार्ता वा छनोट प्रक्रियाबाट उत्तीर्ण भएका कामदारको विवरण अनिवार्य रूपले विभागको वेबसाइटमा राख्नुपर्ने र अन्तिम श्रम स्वीकृति दिँदा अन्तर्वार्ता उत्तीर्ण नगरेको व्यक्तिको श्रम स्वीकृति नआउने व्यवस्था गरिन लागेको बताए।

‘वैदेशिक रोजगार कार्यालयमा प्रणालीबाट पूर्वस्वीकृतिको विवरण वेबसाइटमा आउँछ। त्यसको आधारमा पूर्वस्वीकृति पाउने व्यवस्था गरिएको छ’, उनले भने। पूर्वस्वीकृतिको विज्ञापन पनि सिस्टममा राख्नुुपर्छ। विभागले वैदेशिक रोजगार सुधार गर्न वैदेशिक रोजगार सूचना प्रणाली सञ्चालनमा ल्याएको छ। सम्बन्धित देशका दूतावासले नै मागपत्र प्रमाणित गर्दा नै उक्त सिस्टममा अपलोड गर्नुपर्नेछ। महानिर्देशक भुसालले उक्त प्रक्रियामा सहजीकरण गर्न दूतावासमा पत्राचार गरिएको उनले जानकारी दिएऴ।

यस्तो व्यवस्थाले स्मार्टफोन चलाउन सक्ने जोसुकै कामदारले वैदेशिक रोजगारीका लागि पूर्वस्वीकृति लिइएका कम्पनी, काम, तलब सुविधा, ती काममा पठाउने म्यानपावर एजेन्सी, जाँदा लाग्ने लागत जानकारी घरैबाट पाउन सक्छन्।

विभागले वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिसँग उक्त व्यवस्था कार्यान्वयनमा सघाउन छलफलसमेत गरेको छ। व्यवसायीले उक्त व्यवस्था कार्यान्वयन गर्न व्यवसायी तयार भएको उनले बताए। तर, उनीहरूले छनोटमा परेका कामदारको मोबाइल नम्बरसहित विस्तृत विवरण राख्न चुनौती हुने बताएका थिए।

Published on: 8 December 2019 | Annapurna Post

Link

Back to list

;