s

अव विभागले प्रमाण विनाका उजुरी नलिने

Year of Publication: 16 July 2018 | Madhyanha

Publication Type: NEWS

Published by: CESLAM

वैदेशिक रोजगार विभागले हालको उजुरी लिने प्रणालीमा परिवर्तन गरी प्रष्ट प्रमाण भएमा मात्र उजुरी दर्ता गर्ने भएको छ । वैदेशिक रोजगारमा गई वा नजाँदै ठगिएको भन्दै आउने व्यक्तिले लिएको जुनसुकै उजुरी दर्ता गरिरहेको विभागले ठगिएको देखिने प्रष्ट प्रमाण देखाएपछि मात्र उजुरी दर्ता गर्ने नीति लिएको विभागको उजुरी तथा अनुसन्धान शाखाका निर्देशक रामकुमार थापाले बताए ।
 
विभाग वरिपरि रहेका लेखापढी व्यवसायीहरुलाई समेत राखी यस विषयमा छलफल गर्ने विभागको तयारी छ । निर्देशक थापाका अनुसार आगामी साउन पहिलो हप्ता देखि नै उजुरीको नयाँ शैली अपनाइने भएको छ । विभागमा उजुरी लिएर आउनेहरु प्रष्ट प्रमाण विना नै आउने र विभाग वरिपरि वस्ने लेखापढी व्यवसायीले समेत प्रमाण नभएपनि उजुरी लेखि दिने गरेको विभागको विश्लेषण छ । नयाँ प्रणाली लागू भएपछि मुद्दा जित्ने पक्का प्रमाणभएकाहरुले मात्र उजुरी दर्ता गराउने छन् ।
 
ठोस प्रमाण नभएपनि हाल विभागमा करोडौ रुपैयाँ विगो दावी गरिएका उजुरी रहेका छन् । तीन वर्षे भीषा लिएर रोजगारीका लागि मलेसिया गएका एक कामदार दुई बर्ष काम गरी सकेपछि केही दिनअघि नेपाल फर्केर मेडिकल फेल भएपछि क्षतिपूर्ति पाउँ भन्दै विभागमा उजुरी दर्ता समेत गराएका थिए ।
 
कतिपय उजुरीकर्ता विभागमा उजुरी दिएर पुनः वैदेशिक रोजगारीमा गएर उतै वेपत्ता भएका छन् । तर, विभागमा त्यस्ता व्यक्तिले दिएको उजुरी अहिलेपनि गणनामा रहेका छन् । विभागका निर्देशक थापाका अनुसार अव उजुरी दिँदा प्रतिवादीले वैदेशिक रोजगार ऐनको कुन दफा अनुसारको कसुर गरेको र कुन दफा अनुसार सजायँ वा क्षतिपूर्ति पाउने हो स्पष्ट खुलाउनु पर्ने छ ।
 
हाल दर्ता भइरहेका उजुरी कसुर सजाँय किटान नगरिएका सोलोडोलो वैदेशिक रोजगार ऐन २०६४ अनुसार भन्ने गरिएको छ । कतिपयले रकम लिएको विषय मोवाइल फोनको म्यासेन्जरमा रहेको, कतिपयले रकम लिएका व्यक्तिको भ्वाइस म्यासेज रहेको, कतिपयले रकम आदान प्रदान गर्दाको फोटो रहेको, कतिपयले बैंक खातामा रकम जम्मा गरिदिएको जस्ता प्रमाण देखाउने गरेका छन् । तर विभागले देखाइएको विवरण सत्य नै भएपनि त्यस्ता विषयलाई प्रमाणमा लिएर उजुरी दर्ता नगर्ने निर्देशक थापाले बताए । थापाले सर्वोच्च अदालतबाट प्रतिपादित नजीरका आधारमा उजुरी नलिइने बताए ।
 
विभागमा चालु आर्थिक बर्षको जेठ मसान्तसम्म मात्र विभागमा व्यक्तिगत ठगीका १ हजार १५ र संस्थागत ठगीका ७ सय ८६ वटा उजुरी परेका छन् । व्यक्तिगत ठगी अन्तरगत परेका उजुरी मध्ये १ सय ७८ वटा फर्छौट भएका छन् भने विभागले २ सय ८ जना विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार ठगीका मुद्दा दायर गरेको छ ।
 
संस्थागत तर्फ परेका ७ सय ६८ उजुरीमध्ये ७ सय १८ वटा फर्छौट भएका छन् । विभागमा संस्थागत अर्थात म्यानपावर कम्पनी विरुद्ध मुद्दा परेपछि विभागले मेलमिलाप समितिमा पत्र पठाउने र त्यहाँ सहमति नभए म्यानपावर कम्पनीलाई ७ दिन भित्र उपस्थित हुन पत्र काट्ने गरेको छ ।
 
उक्त सात दिनमा म्यानपावर सञ्चालक हाजिर नभए पुनः ३ दिन र तिन दिनमा पनि उपस्थित नभए २४ घण्टे पुर्जी काट्ने गरिएको छ । म्यानपावर कम्पनी विरुद्ध उजुरी परेमा म्यानपावर कम्पनीले ११ दिन भित्रमा विभागमा आफै वा आफ्नो प्रतिनिधि पठाएर जवाफ दिनुपर्ने व्यवस्था विभागले गरेको छ ।
 
पछिल्ला दिनमा विभागले उजुरीकर्ता र व्यवसायीलाई राखेर छलफल गराई मेलमिलाप गराइदिने गरेको छ । विभागको छलफलपछि फ्रि भीषा, फ्रि टिकटको व्यवस्था भएपनि म्यानपावर कम्पनीबाट कामदारको भएको वास्तविक क्षति भराई मेलमिलाप गराइदिने गरेको छ । जसका कारण हाल विभागमा म्यानपावर कम्पनी विरुद्धका थोरै मुद्दामात्र फर्छौट हुन वाँकी रहेको निर्देशक थापाको भनाइ छ ।
 
त्यसैगरी विभागले म्यानपावर कम्पनी माथि परेको उजुरीको आधारमा थपिएको विगो फिर्ता दिन थालेको छ । विभागमा कुनै म्यानपावर कम्पनी विरुद्ध ठगीको उजुरी परेमा विभागले म्यानपावर कम्पनी दर्ता गर्दा राखेको ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टीमा उजुरीमा उल्लेखित विगोपनि धरौटी राख्न लगाउने गरेको थियो ।
 
निर्देशक थापाले हाल म्यानपावर कम्पनीले दर्ता गर्दा राखेको धरौटी नै पर्याप्त छ भन्ने विश्लेषण गरी म्यानपावर कम्पनीको निवेदन परेमा उजुरीवापत थपिएको धरौटी फिर्ता गर्ने गरिएको बताए ।
 
Published on: 16 July 2018 | Madhyanha

Back to list

;