s

आप्रवासन इतिहासको पुनरावृत्ति

Year of Publication: 18 December 2019 | Kantipur

Published by: CESLAM

केशव बस्याल

नेपाली आप्रवासनको इतिहास अर्को देशको अधीन भई उसका लागि जीवन दिने, विशेष गरी तत्कालीन बेलायती उपनिवेशसँग सोझै जोडिएको छ । यो प्रक्रिया अहिलेसम्म जारी छ । यो आलेखमा मुख्यतः नेपाली आप्रवासनको इतिहास, यसको प्रभाव र असरबारे छोटो विश्लेषणको प्रयास गरिएको छ ।

हाम्रो आप्रवासनको इतिहास काठमाडौंलाई मात्रै आधार मानेर लेखिएको पाइन्छ । तत्कालीन भारत र तिब्बतबीच भएको मानिसहरूको आवागमन र थोरै मात्रै हुने गरेको व्यापारलाई आधार बनाई तिब्बत र भारतको केन्द्रविन्दु नेपाल समृद्धिको पनि केन्द्र रहेको तर्क गरिएको पाइन्छ । यी र यस्ता व्याख्याले समग्र नेपालको आप्रवासनको इतिहासलाई ओझेलमा पार्छन् । लिच्छवि र मल्ल कालको व्यापार अनि तत्कालीन विकासलाई मात्रै आधार बनाएर गरिने व्याख्याले काठमाडौंबाहिरका समग्र जनताको प्रतिनिधित्व गर्न सक्दैन । त्यस बेलाको आप्रवासन आन्तरिक हो वा बाह्य हो भन्ने कुरा न आप्रवासीलाई थाहा हुन्थ्यो न त राज्य नै यसबारे सुसूचित हुने गर्थ्यो । आप्रवासीको निश्चित परिभाषा थिएन । समग्रमा हेर्‍यो भने यसबारे अहिले पनि द्विविधा देखिन्छ । खुला सिमानाका कारण भारतमा अहिले साँच्चिकै नेपाली प्रवासीको संख्या कति छ भन्ने यकिन हुन सकेको छैन ।

तत्कालीन समयमा काठमाडौंबाहिरबाट तालुकदारमार्फत कर उठाई केन्द्रमा पठाउने गरिन्थ्यो । तालुकदारहरू मूलतः राजाका नातेदार वा जमिनदार हुने गर्थे । उनीहरूबीच राज्यको सेवा गर्नेभन्दा राजालाई खुसी राख्न कसरी जनतासँग अधिकतम कर असुली गर्ने, दरबार पठाउने र आफ्ना लागि पनि सम्पत्ति थुपार्ने भनी होडबाजी चल्ने गर्थ्यो । यसले गर्दा जुन ठाउँ काठमाडौंबाट जति बढी दूरीमा छ, शोषण पनि त्यति नै अधिक हुने गर्थ्यो । चर्को कर र शोषणले सर्वसाधारणलाई घरबार त्याग्न र रोजगारीका लागि भौंतारिनुपर्ने बाध्यतामा पार्दै गयो । तराईमा कुनै कलकारखाना थिएन, न त त्यो उब्जाउ भूमिमा पानीको उचित प्रबन्ध थियो । त्यसमाथि मलेरियाको प्रकोप । यी यावत् कारणले उनीहरू तराईमा बस्न सकेनन् र मुग्लान अर्थात् भारतीय राजारजौटाकहाँ जान बाध्य भए । नेपाल राज्यले युद्धमा लगाएबापत थोरै मात्र रकम दिने तर भारतमा बढी ज्याला पाइने भएकाले पनि उनीहरू त्यतैतिर आकर्षित हुन थाले । नेपाली शासकले जति कोसिस गरे पनि उनीहरूलाई रोक्न सम्भव थिएन । त्यो समय नेपालमा बस्दा पनि अंग्रेजसँग लड्नुपर्ने, भारतीय राजारजौटाका तर्फबाट पनि अंग्रेजविरुद्ध लड्नुपर्ने, तर पैसा बढी पाइने । त्यति मात्र नभई, पछि वीरशमशेरको पालादेखि औपचारिक रूपमै अंग्रेजका तर्फबाट लड्नुपर्ने भयो । आफ्नो मुलुकमा रोजगारी नभएपछि जसले जे भन्यो त्यही गर्नुपर्ने, जहाँ लड्न पठायो त्यहीँ जानुपर्ने परिस्थिति बन्दै गयो । विडम्बना, अहिले पनि त्यही अवस्थाबाट नेपाली युवाहरूले गुज्रिनुपरेको छ । यसरी नेपालीको वैदेशिक रोजगार लामो समयसम्म बेलायती उपनिवेशवरिपरि नै घुमेको पाइन्छ । अहिलेको सन्दर्भ पनि त्योभन्दा धेरै भिन्न देखिँदैन ।

नेपालीको भारत प्रवास मुख्यतः रोजीरोटीका लागि भएको हो, चाहे ती केही संख्यामा रहेका गोर्खा सैनिकहरू नै किन नहोऊन् । बाध्यताले भारत जानुपरेका र रहरले गोर्खा रेजिमेन्टमा लाग्नेहरूको लहरो पनि बेलायती साम्राज्य र उसको उपानिवेशसँग जोडिन्छ । बाध्यताले जाने र राजीखुसी जानेबीच भिन्नता पाउन सकिँदैन; यो आपसमा अन्तरघुलित हुन्छ । सैनिक बन्न भारत वा बेलायत जानेबाहेक अन्य रोजगारीका लागि नेपालीहरू विदेश जाने क्रम अरू दक्षिण एसियाली मुलुकवासीका तुलनामा धेरैपछि सुरु भएको हो । यद्यपि नेपालीको संख्या सानै समयमा अत्यधिक बढेको पाइन्छ । पछिल्लो समयको तथ्यांक अझ भयावह छ । वैदेशिक रोजगारीमा कति नेपाली जान्छन् र कतिको शव दैनिक रूपमा देश भित्रिन्छ, यसको यकिन तथ्यांक पनि राज्यसँग छैन ।

खास गरी गन्तव्य मुलुकमा कस्तो रोजगारी छ, कति छ, कस्तो रोजगारीमा बढी आम्दानी हुन सक्छ, रोजगारी कति सुरक्षित छ भन्नेबारे राज्य बेखबर छ । उसले आफैले अध्ययन–अनुसन्धान गर्नुभन्दा वैदेशिक रोजगार कम्पनीले दिएको तथ्यांकमा भर पर्नुपर्ने अवस्था अहिले पनि छ । त्यस्ता अध्ययन सीमित छन्, अनि गुणस्तरहीन पनि । वैदेशिक रोजगार कम्पनीहरूले खोजेका र युवाहरू पठाइरहेका मुलुकलाई मात्रै आधार बनाएर धेरैपछि मात्र नेपाल सरकारले नीति बनाउने र तदनुरूप परिमार्जित गर्ने गरेको पाइन्छ । यस्तो सरकारी प्रवृत्तिले गर्दा अध्ययन–अनुसन्धान हचुवा ढंगले सानो संख्यालाई फाइदा हुने मनसायले आउने र यसैबीच भएका निर्णयले विदेश जान खोज्नेहरू पनि अन्योलमा पर्दै आएका छन् । सरकारका तर्फबाट न गन्तव्य मुलुकबारे गतिलो जानकारी पाउनसकिने स्थिति छ, न त मुलुकमै केही गरौं भनेर उत्साहित तुल्याइन्छ । यस्तो अन्योलले युवा वर्गमा नैराश्य आउने र यसले राष्ट्रलाई दूरगामी रूपमा अनिर्णयको बन्दी बनाइरहने सम्भावना देखिन्छ ।

अचेल धेरैको मुखबाट सुन्ने गरिन्छ— गाउँमा ज्यालामा मान्छे पाइँदैन; जताततै कृषि जमिन प्रायः बाँझो छ । तर किन यस्तो भयो, युवाहरू किन गाउँमा बस्न चाहँदैनन् भन्नेबारे अध्ययन भएको छैन । केवल पत्रपत्रिकाका समाचार र नेताका भाषणलाई मात्रै आधार बनाएर गरिने यस्ता टिप्पणीले हामी र हाम्रो मुलुकलाई यथास्थितिमा राख्न मलजल पुग्छ । नेपालका युवाहरू अल्छी छन्, काम नपाएर क्यारेम खेलेर दिन बिताउँछन् भन्ने गुनासो केही वर्षअघिसम्म सुनिन्थ्यो । ती युवाले आज ‘देशमा रोजगारी छैन, विदेश जान्छु’ भन्दा ‘गाउँमै काम छ, काम गर्ने मानिस छैनन्’ भनिन्छ । गाउँमा विकास र अवसरको कुरा गर्ने हो भने हिजो र आजमा तात्त्विक अन्तर छैन; फरक छ त केवल डोजरको । सबैलाई थाहा छ— खेती गरौं, कुनै सुविधा छैनÙ अनुदानजति पहुँच हुनेले मात्र पाउँछन्; आफ्नै खर्चमा उत्पादन गरौं, बजार छैन । यस्तो परिस्थितिमा वैदेशिक रोजगारीबाहेक उपाय हुन्न ।

हामीले के बिर्सन हुन्न भने, लाखौं नेपाली युवाका लागि गन्तव्य बनिरहेका मुलुकहरू भविष्यमा पनि विदेशीहरूलाई रोजगारी दिइरहन सक्षम रहँदैनन् । जस्तो— गत वर्ष भारतको केरलामा भएको अनुसन्धानले वैदेशिक रोजगारी १५ प्रतिशतले गुम्दै गएको देखाएको छ । नेपाल पनि चाँडै त्यस्तो अवस्थामा पुग्नेछ र त्यसको समाधान हो— आन्तरिक रोजगारी । सरकारले बेरोजगार युवाहरूलाई समेट्ने गरी केही कार्यक्रम त ल्याएको छ, तर आवश्यक अध्ययनको कमीले गर्दा ती त्यति प्रभावकारी हुन सकेका छैनन् । अहिलेको सबैभन्दा ठूलो चुनौती नै बेरोजगारी समस्या हो । रोजगारी पनि दीर्घकालीन र मर्यादित हुनु जरुरी छ ।

अन्त्यमा, मलेसिया सन् १९५७ मा स्वतन्त्र भयो । कतारले १९७१ मा मात्रै पूर्ण रूपमा बेलायतबाट स्वतन्त्रता प्राप्त गर्‍यो । संयुक्त अरब एमिरेट्स पनि १९७१ मै स्वतन्त्र भयो । अहिले यी तीनै देश नेपाली युवाहरूका लागि सबैभन्दा ठूला गन्तव्य हुन् र तिनैबाट प्राप्त रेमिटान्स नेपालको आर्थिक मेरुदण्ड बनेको छ । यसरी नेपाली आप्रवासन इतिहासको पुनरावृत्ति यो घडी वैदेशिक रोजगारीका रूपमा भइरहेको छ ।

Published on: 18 December 2019 | Kantipur

Link

Back to list

;