s

आन्दोलन गरेर कोरिया पुगे, दुई वर्षमा कति कमाए?

Year of Publication: 20 June 2024 | Setopati

Published by: CESLAM

सुन्दर भविष्यका लागि ऊर्जाशील वर्तमान साट्न वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या ठूलो छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार दैनिक दुई हजार हाराहारी युवा कामको खोजीमा परदेश पुगिरहेका छन्। अहिलेसम्म ४० लाखभन्दा धेरै वैदेशिक रोजगारीमा गएको श्रम मन्त्रालयको अनुमान छ। तिनमा बाध्य भएर बिदेसिनुपर्ने नियति धेरैको छ। उनीहरूकै जीवनको उतारचढाव र परदेशको अनुभव हामी यो शृंखलामा प्रकाशन गर्नेछौं। आजको अंकमा दुई वर्षदेखि कोरियामा काम गरिरहेका दैलेखका अजय सोडारीको कथा —

दुई वर्षअघि उनी बडो उत्साह बोकेर दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए।

बाहिर निस्कनासाथ उनको उत्साह दुगुना भयो। किनभने, कोरियाको मानव संशाधन विकास सेवाका प्रतिनिधि उनलाई विमानस्थलमै लिन आएका थिए।

विमानस्थलको आगमन कक्षमा कुरेर बसेका सरकारी प्रतिनिधिले गरेको स्वागत-सत्कार देखेर उनको खुसी चुलिएको थियो।

त्यहाँबाट उनलाई तालिम केन्द्र लगियो। दुई दिन, तीन रातको तालिमपछि उनी जुन कम्पनीमा काम गर्न भनेर गएका थिए, त्यहाँका साहु नै केन्द्रमा लिन आए। यसले उनको मनमा अझै उत्साह थपियो।

दैलेखको ठाटीकाँध गाउँपालिका-१ सिरारीका अजय सोडारी यही हलक्क बढेको खुसी र उत्साह बोकेर आफू काम गर्ने कारखानामा पुगे।

जसै कारखाना प्रवेश गरे, उनको अनुहारको रङ फुस्रो भयो। रस निचोरेर फ्याँकेको कागतीको खोस्टाजस्तै!

शरीर फतक्क गल्यो। अघि बढ्दै गरेका खुट्टा एकाएक टक्क अडिए र लुगलुग काम्न थाले।

जिन्दगीमा कहिल्यै नदेखेको मेसिनमा काम गर्नुपर्ने थाहा पाएपछि अजयको मन खङरङ्ग भयो। मुटुले बेस्सरी ढ्यांग्रो ठोक्न थाल्यो।

त्यो एक प्लास्टिक कारखाना थियो; जहाँ कम्प्युटर, ल्यापटप, क्यालकुलेटर, मोबाइल लगायत इलेक्ट्रोनिक सामग्री टुटफुट नहोस् भनेर सुरक्षानिम्ति राखिने प्लास्टिक कभर बनाइन्थ्यो। अजयले त्यहाँ डिजाइन तयार गर्ने, प्याकिङ गर्ने, सामान मिलाउने लगायत काम गर्नुपर्ने रहेछ। यसका लागि प्रयोग गरिने मेसिन यति अजंगका थिए, अजयले त्यति ठुल्ठूला मेसिन नेपालमा कहिल्यै देखेका थिएनन्।

'एउटा मेसिन त लगभग मेरो दैलेखको घरजत्रै थियो, जुन घरको दैलो काटेर म भर्खर कोरिया आइपुगेको थिएँ,' उनले कोरिया पुग्दाको आफ्नो अनुभव बाँड्दै हामीसँग भिडिओ कुराकानीमा भने, 'सबै मेसिन स्वचालित थिए र हरपल तीव्र स्पिडमा चलिरहेका हुन्थे। त्यत्रो ठूलो मेसिनमा काम गर्दा हात च्यापिने हो कि, खुट्टा च्यापिने हो कि, सिंगो जीउ नै च्यापिएर मरिने पो हो कि भनेर एकदमै डर लाग्यो।'

अजयले त्यहाँ दैनिक ८ घन्टाका दरले साताको ६ दिन काम गर्नुपर्थ्यो। कहिलेकाहीँ ओभरटाइम पनि गर्नुपर्थ्यो। काम असाध्यै गाह्रो थियो। विमानस्थलमा बडो भद्र बनेर स्वागत गर्न आएका तिनै साहुले हरपल छिटो छिटो काम गर्न दबाब दिइरहन्थे। हात चल्न रोकियो कि उनी तिखो स्वरमा हप्काइहाल्थे।

अजयलाई भने मेसिनको स्पिडसँग हात चलाउने बानी बसिसकेको थिएन। त्यसैले जति कोसिस गर्दा पनि साहुको चित्त बुझाउने गरी काम गर्न सक्दैनथे।

'नयाँ आएको मान्छे हो, बिस्तारै सिकेर काम गर्छ भन्ने नै नहुने रहेछ। आउनेबित्तिकै सबै काम गरिदियोस् भन्ने सोच्दा रहेछन् कोरियनहरू। यिनीहरूको यो पाटो मलाई एकदमै दु:खद लाग्यो। साह्रै नमीठो अनुभव थियो त्यो,' हामीसँगको भिडिओ संवादमा कोरियाका सुरूआती दिन सम्झँदा उनी घरि हाँसेजस्ता देखिन्थे, घरि बोल्दाबोल्दै आँखा भरिइसक्थे, 'सुरूमा आउनेबित्तिकै को पर्फेक्ट हुन्छ र, होइन?'

हुन त अजयले भिसा लाग्दा नै आफू काम गर्ने कम्पनी कुन हो र त्यसले के उत्पादन गर्छ भन्ने जानकारी नपाएका होइनन्। तर त्यति ठूलो मेसिन बेहोर्नुपर्छ र त्यति धेरै कामको चाप झेल्नुपर्छ भन्ने उनले सोचेकै थिएनन्।

'प्लास्टिक सामान उत्पादन गर्ने कम्पनी हो भनेपछि मैले सामान्य काम होला भन्ठानेको थिएँ,' उनले भने, 'दलिएर काम गर्नुपर्छ भन्ने त हिसाबकिताबै थिएन।'

लगभग एक महिना कठोर मिहिनेत गरेपछि उनी मेसिनसँग अभ्यस्त भए। काम सजिलो लाग्दै गयो। तैपनि साहुले चाहेअनुसार छिटो छिटो हात चलाउन सिपालु भइसकेका थिएनन्। साहुको हप्कीदप्की जारी नै थियो।

यसबीच कोरिया गएदेखि खाना नरूच्ने र निद्रा नपर्ने समस्याले उनी पीडित थिए। उनको शरीर कमजोर हुँदै गएको थियो। काम गर्दा हातगोडा थरथर काम्थे। सुरूमा कति दिन त उनले कोरियन खाना खानै सकेनन्। त्यहाँको स्वाद उनको जिब्रोमा बस्दै बसेन। खानेकुरा देख्नासाथ पेट भरिएर घाँटीसम्म आएजस्तो हुन्थ्यो!

'बिहानको खाना दिउँसो १२ बजेतिर कम्पनीले दिन्थ्यो। बेलुकी ओभरटाइम छ भने कम्पनीले नै खुवाउँथ्यो। ओभरटाइम नहुँदा र बिदाको दिन चाहिँ आफै बनाएर खान्थेँ,' अजयले भने, 'कम्पनीले खुवाउने खाना त म हेर्न पनि सक्दिनथेँ। आफै बनाउँदा पनि निल्न मुस्किल पर्थ्यो।'

'नखाई नखाई त हुँदैन भनेर बल गरेर निल्यो, पेटमा अडिँदै नअडिने,' उनले अगाडि भने, 'खाना खानेबित्तिकै पेट दाम्रिएर आउँथ्यो।'

कम्पनीले उनको बसोबासनिम्ति कारखाना नजिकै एउटा कन्टेनर दिएको थियो। त्यो कन्टेनरमा कतैबाट हावा छिर्दैनथ्यो। गुम्सिएर सास फेर्नै गाह्रो हुन्थ्यो। तातोबाट बच्न चौबीसै घन्टा एयरकन्डिसन चलाइरहनुपर्थ्यो। दैलेखको प्राकृतिक हावा खाँदै हुर्किएका अजय कृत्रिम एसीभित्र उकुसमुकुस हुन्थे। एसीमा सुत्दासुत्दै कति जनाको ज्यान गएको उनले सुनेका थिए। त्यसैले आफू पनि बिहान नउठ्दै मरिने पो हो कि भन्ने डरले रातभर निदाउन सक्दैनथे। यसले उनको निद्रा कचपल्टिएको थियो।

उनी बस्ने कन्टेनरभन्दा लगभग दुई सय मिटर टाढा शौचालय थियो। रातको समय र पानी परेका बेला शौचालय जान पनि निकै सास्ती हुन्थ्यो।

'म त झन्डै झन्डै डिप्रेसनमा गइसकेको थिएँ। कतिपटक त अब बाँच्न सक्दिनँ भन्ने सोच आउँथ्यो। फेरि घरपरिवार र ऋण सम्झेर आफूलाई सम्हाल्थेँ,' उनले भने, 'धेरै दिन अनिँदो र तनावले अस्वस्थ हुँदै गएको थिएँ। म सकी-नसकी घिस्रिँदै काम गर्थेँ। बल लगाएर बेस्सरी काम गर्न नसक्दा खानेकुराभन्दा नमीठो त साहुको गाली खानुपर्थ्यो।'

एकदिन बिहान उनलाई छाती बेस्सरी दुखेजस्तो भयो। ओछ्यानबाट उठ्दा खुट्टा लर्बरायो। जीउबाट चिटचिट पसिना छुट्यो। उठेर काममा जाने शक्ति पनि भएन। उनले कम्पनीमा आउन सक्दिनँ भनेर खबर गरे। बिदा लिएर अस्पताल गए। डाक्टरले धेरै काम नगर्नू, आराम गर्नू भनेर दबाई लेखिदिए। तर आराम गर्ने बिदा उनले पाएनन्। उल्टै अस्पताल जाँदाको दिनको तलबधरि काटियो।

उनी शारीरिक रूपमा कमजोर हुँदै गएपछि 'तँ यहाँ काम गर्न सक्दैनस्, अर्कै काम खोज' भनियो। त्यति बेला उनले काम थालेको पाँच महिना मात्र भएको थियो।

'कामदार बिरामी पर्दा आराम गर भन्नु त कहाँ हो कहाँ, तँ यहाँ काम गर्न सक्दैनस्, अर्कै ठाउँमा काम खोज भन्दा रहेछन्। अस्पताल गएको दिनको तलब पनि कसैले काट्छ? मानवीय संवेदना भन्ने त इत्ती पनि नभएकाहरू रहेछन्!' अजयलाई त्यो व्यवहारले अहिलेसम्म चिमोटिरहेको छ।

यता नेपालमा हुँदा अजयले सुनेका थिए — कोरियाली रोजगारदाताहरू आफ्ना कामदारलाई माया गर्छन्, सद्भाव देखाउँछन्। तर उनको भागमा सुनेजस्ता रोजगारदाता परेनन्।

'मैले त एकदिन पनि साहुको राम्रो व्यवहार पाइनँ,' उनले भने, 'हरेक दिन मानसिक तनाव दिए। उनीहरूलाई मान्छेप्रति दयामाया केही छैन। मात्रै काम चाहिएको छ। बिमार हुँदा पनि काम गर्न सक्नुपर्ने। नसके कामबाटै निकाल्दिने। यहाँ आएर मैले एउटा कुरा के बुझेँ भने, कोरियनहरू मान्छेको पाखुरालाई मात्रै माया गर्ने रहेछन्!'

अजयलाई एक किसिमले भन्दा भाग्यले पनि ठगेको छ। किनभने, उनले कोरियामा सँगै काम गर्ने नेपालीहरूबाट पनि कहिल्यै सहयोग पाएनन्।

उनी काम गर्ने कम्पनीमा ७ जना नेपाली थिए। बस्न पनि नेपालीसँगै बस्थे। पराई देशमा नेपाली भेटिनुलाई उनले सौभाग्य नै मानेका थिए। तर तिनै नेपालीबाट सधैंको हेपाइ, नमीठो बोलीबचन र दुर्व्यवहार सहनुपरेको उनी बताउँछन्।

'अगाडि गएका केही पुराना साथीहरू कम्पनीको साहुसँग नजिक रहेछन्। नयाँ मान्छे देख्नासाथ एकदमै पेल्ने र गाह्रो काम लगाउने गर्दा रहेछन्। नेपाली दाजुभाइ हुन् भनेर पनि दयामाया देखाउँदैनथे। उल्टो साहुलाई भनेर तँलाई कामबाट निकाल्न लगाउँछु भन्दै धम्क्याउँथे,' अजयले मनको दुखेसो फुकाए, 'म त साहुको हप्कीदप्की र कामको कठिनाइले भन्दा नेपालीहरूको व्यवहारले नै डिप्रेसनमा गएको थिएँ।'

'नेपाली भएर नेपालीमाथि निर्मम व्यवहार गर्दा साह्रै नराम्रो लाग्ने रहेछ,' उनले भने।

बिरामी भएको बहानामा साहुले कामबाट निकालेपछि अजयले अर्को ठाउँमा जागिर खोज्न थाले। यसका लागि रोजगार केन्द्रहरूमा सम्पर्क राख्नुपर्दो रहेछ। त्यही केन्द्रमार्फत् उनले 'जु नारेथुक' भन्ने कम्पनीमा जागिर पाए। यो सामान ढुवानी गर्ने गाडीको पछाडिको भाग बनाउने कम्पनी हो।

यहाँ पनि उनलाई मेसिनसँग हात बसाउन झन्डै पाँच महिना नै लाग्यो। यसबीच छिटो छिटो काम सिक्न निकै दबाब र हप्कीदप्की झेले उनले।

तर लत्तो छाडेनन्।

कामले लखतरान भएर शरीर थाक्दा पनि मनलाई थाक्न दिएनन्। खानपिनमा ध्यान दिए, आफ्नो स्वास्थ्यको ख्याल राखे र अर्काले गर्ने व्यवहारलाई बेवास्ता गर्न थाले।

कोरिया आएको आधा वर्षपछि अजय शतप्रतिशत आफ्नो श्रम र कमाइमा समर्पित भएका थिए।

'अब त मलाई बानी परिसकेको छ। सकेको मेहनत गरेकै छु। नसकेको दिन के हुन्छ थाहा छैन,' उनले भने, 'सुरूको दिनभन्दा धेरै सजिलो भएको छ। जस्तोसुकै काम भए पनि सक्छु भन्ने भएको छ।'

अचेल उनी हात छिटो छिटो चलाउन सक्ने भएका छन्। मेसिनको चालसँग चाल मिलाउन सक्ने भएका छन्। तैपनि काम चाँडो सक्न दबाब त आउँछ नै। जति छिटो काम गर्दा पनि तीन-चार जना मिलेर एउटा गाडीको पछाडिको भाग बनाउन ७ देखि १० दिन लाग्ने उनी बताउँछन्।

'ब्याकबडीको काम सकिएपछि गाडी तयार हुन्छ। त्यसपछि अस्ट्रेलिया, न्यूजिल्यान्ड, भारत लगायत विभिन्न मुलुकमा निर्यात गरिन्छ,' उनले भने।

अजय खाङसान नाम्दो प्रान्तको उल्सानमा बस्छन्। उनी बस्ने ठाउँ कम्पनीको आडमै छ। अहिलेको बसाइ पहिलो कम्पनीले दिएको कन्टेनरभन्दा राम्रो र सुविधायुक्त भएको उनी बताउँछन्। यहाँ पनि उनी नेपालीहरूसँगै बस्छन्। कोरियनसहित अरू विभिन्न मुलुकका आप्रवासी श्रमिक पनि छन्। खाना भने आफू आफू पकाएर खान्छन्। पछिल्लो समय उनले कोरियन खानेकुरा खाने बानी बसालिसकेका छन्।

'कोरियन स्वादसँग आफ्नो पेट र जिब्रो अभ्यस्त बनाउँदै छु,' अजयले हाँस्दै भने।

उनका अनुसार गाडी कारखानामा साताको ६ दिन दैनिक ८ देखि १४ घन्टा काम गर्नुपर्छ। आइतबार बिदा हुन्छ। बिदाको दिन घुमफिर र साथीभाइसँग भेटघाट गर्ने मौका जुर्छ। उनीहरू कहिले नजिकका पार्क घुम्छन्, कहिले बजार। कहिलेकाहीँ समुद्री किनारमा रमाइलो गर्न पनि जान्छन्।

काममा दुःखसुख जे भए पनि बिदाको दिन चाहिँ विशुद्ध आफ्नो हुने उनी बताउँछन्।

'यहाँ फरक फरक सिजनमा फरक फरक तरिकाले रमाइलो गर्ने ठाउँहरू छन्। हिउँ पर्ने सिजनमा हिउँ खेलेर रमाइलो गर्न सकिन्छ। चेरी फूल फुल्ने सिजनमा फूल हेर्नेहरूको घुइँचो लाग्छ। गर्मी याममा समुद्री किनार भीडभाड हुन्छ। मान्छेहरू समुद्री छालसँग रमाउँछन्,' उनले भने, 'अहिले कोरियामा चर्को गर्मी छ। म बस्ने ठाउँमा ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्छ। जाडोमा माइनस २० सम्म झर्छ। शरीर त जम्लाजस्तै हुन्छ। बाक्लो, लामो ज्याकेट र तातो जुत्ता लगाएर काम गर्नुपर्छ। बेलाबेला हिटरमा हात तताइरहनुपर्छ, नत्र ठिहिर्‍याएर काम गर्नै सकिन्न।'

'काममा जतिसुकै घोटिनु परे पनि खाने, बस्ने र घुम्ने मामिलामा कोरिया स्वतन्त्र छ। यहाँ स्वतन्त्र ढंगले हिँडडुल गर्न पाइन्छ,' उनले अगाडि भने, 'धूमपान र मद्यपान गर्नेहरूले पनि बिदामा खुलेर खान पाउँछन्। यहाँ केही कुरा निषेध छैन।'

कोरिया जति स्वतन्त्र भए पनि त्यहाँ काम गरिरहेकाहरूलाई भने धेरैजसो तनावमै देखेका छन् अजयले।

उनका अनुसार रोजगारदाताको चित्त बुझाएर काम गर्न धेरै गाह्रो छ। सानोतिनो काम बिगार्दा पनि साहु वा म्यानेजरको गाली सहनुपर्छ। तोकिएको समयभन्दा एक मिनेट तलमाथि गर्न पाइँदैन। खाना खाने समय २० मिनेट भनेको छ भने २० मिनेटमै सक्नुपर्छ। बिरामी पर्दा वा कुनै व्यक्तिगत कारणले बिदा लिनुपर्‍यो भने तलब काटिन्छ। काम गर्दागर्दै बिरामी पर्दा पनि अस्पताल जान नपाएका कारण कतिपयले ज्यान गुमाउनुपरेको उनले सुनाए।

'कामको चाप, मालिकको दबाब र घरपरिवारको नियास्रोले कहिलेकाहीँ त बेकारमा दु:ख बिसाउन आएछु झैं हुन्छ,' उनले भने, 'तनाव सहन नसकेरै होला, आत्महत्याका घटना पनि निकै बढेको देख्छु। यहाँ आउँदा रक्सी-चुरोट केही नखानेहरू बिस्तारै अम्मली हुँदै गएका उदाहरण पनि छन्। सबभन्दा दु:खको कुरा त, हावा पास नहुने कन्टेनरमा रातभरि एसी चलाएर सुत्दा ज्यान गुमाउनेहरू पनि धेरै छन्।'

उनले यो पनि भने, 'कोरियामा त बोराका बोरा पैसा कमाइ हुन्छ भन्ने भ्रम छ नेपालमा। युवाहरू त्यही आशा बोकेर आउँछन्। अनि सोचेजस्तो नभएपछि निराश हुन्छन्। त्यही निराशाले मान्छेलाई कुलत र आत्महत्याको बाटोतिर डोर्‍याउँछ।'

हामीले अजयसँग कोरियाको कमाइबारे पनि कुराकानी गर्‍यौं।

उनका अनुसार कोरियामा जति दुःख गर्न सक्यो कमाइ उति धेरै हुन्छ। उनी दैनिक १२ देखि १४ घन्टा खटेर महिनाको दुई लाख रूपैयाँ बचाउँछन्। दुई वर्ष अन्तरालमा उनले ३० लाख रूपैयाँ घर पठाइसकेका छन्।

दु:ख गरेअनुसार कमाइ राम्रो भए पनि त्यहाँ कमाएको रेमिटेन्स अवैधानिक च्यानल हुन्डीमार्फत् पठाउने विकृति बढ्दो छ। कोरियामा थुप्रै रेमिटेन्स कम्पनी सक्रिय छन्। त्यसका बाबजुद हुन्डीको प्रयोग मौलाउँदै गएको उनी बताउँछन्।

'म हुन्डीको विरोधी हुँ। सरकारी प्रणालीबाट आएको मान्छेले वैधानिक तरिकाले पैसा पठाएन भने अन्याय हुन्छ भनेर मैले चाहिँ हुन्डी गरेको छैन,' उनले भने, 'मेरो विचारमा कोरियामा काम गर्ने ९८ प्रतिशतले हुन्डीबाट पैसा पठाउँछन्। रेमिटेन्स कम्पनीले लिने शुल्क महँगो भएकाले हुन्डी गर्नेहरू बढेका हुन् जस्तो लाग्छ।'

कतिपयले श्रमिकहरूलाई नै हुन्डी एजेन्ट बनाएर अवैध काम गरिरहेको उनले बताए। अजयले यसबारे सामाजिक सञ्जालमा पनि लेखेका थिए। त्यस्तो लेखेबापत् उनले थुप्रै गाली खानुपर्‍यो।

'अहिलेसम्म कमाएको पैसा के गर्नुभयो त?'

हाम्रो यो प्रश्नमा उनले भने, 'झन्डै तीन महिनाको पैसा त कोरिया आउँदा लिएको ऋण तिर्नै ठिक्क भयो। कोरियाको भिसा लागिसकेपछि मात्रै चार लाखभन्दा धेरै खर्च भएको थियो। कोभिड बेला प्लेन टिकट नै महँगो थियो। लगभग दुई लाख प्लेन टिकटकै तिरेको थिएँ। यसबाहेक कोरियन भाषा पढ्न काठमाडौं बस्दावर्दा सबै गरेर १० लाख ऋण लागेको थियो। घरको पुरानो ऋण पनि थियो।'

अजयले दुई वर्षमा ३० लाख रूपैयाँ पठाएपछि उनका बुबाले सबै सावाँब्याज चुक्ता गरे। ऋणले थिचिएको बुबाको थाप्लो हलुंगो भयो। यता बुबाले हलुंगो महसुस गरेपछि उता अजयको काँधको बोझ पनि कम भयो।

ऋण तिर्नुका अतिरिक्त कोरियाको कमाइबाट दैलेखको पुर्ख्यौली घर मर्मतसम्भार पनि गरिएको उनी बताउँछन्।

अजय कोरिया उड्दासम्म उनको घर एकदमै जीर्ण थियो। पानी पर्दा छानो र पछाडिको गारोबाट चुहिन्थ्यो। झन्डै झन्डै लड्ने अवस्थामै पुगेको थियो। आर्थिक अवस्था कमजोर भएकाले मर्मत गर्न सकेका थिएनन्। कोरियाबाट आएको रेमिटेन्सले अहिले छानाका प्वाल टालिएका छन्। गारो पनि मर्मत भएको छ। उनका आमाबुबालाई झरीको दिन पानी चुहिने ठाउँ पहिल्याएर भाँडा थाप्दै रातभर जाग्राम बस्नुपरेको छैन।

अजय घरका जेठा छोरा हुन्। उनीपछि दुई जना भाइ र एक बहिनी छन्। आमाबुबा गाउँमै निर्वाहमुखी खेती गर्छन्। घरको भरथेग अजयकै कमाइबाट भइरहेको छ। कोरियाको रेमिटेन्सले उनको घरमा थोरै भए पनि खुसी थपिएको छ। अजय परिवारका बाध्यता र समस्यामा मह्लम बनेका छन्।

छोराले दु:ख गरेर कमाएको पैसा सबै खर्च नगरूँ भन्नेमा आमाबुबा होसियार छन्। त्यसैले केही पैसा सुरक्षित राखिदिएका छन्। नेपाल फर्केपछि त्यसैबाट केही उद्यम गर्ने अजयको विचार छ।

अजयले सन् २०१९ मा उत्पादन क्षेत्रतर्फ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा पास गरेका हुन्। त्यति बेला उनी २१ वर्षका थिए। भाषा पास गरेर पनि कोरोना महामारीले तीन वर्ष यतै रोकिए। उता पुगेर दुई वर्ष काम गर्दा २६ वर्षका भइसके।

'अब ८ वर्षजति काम गरेर फर्किने हो भने त मेरो ऊर्जाशील उमेर र जवानी सबै सकिने रहेछ,' उनले भने, 'सँगैका साथी, दौंतरी सबैले बिहे गरेर जीवनको लय समातिसके। यता आफू परदेशमा छु। जवानी जम्मै परदेशमै जाने भयो भनेर मन आत्तिने रहेछ। कहिले फर्किने, कहिले बिहे गर्ने? एक्लै बस्दा यस्ता तर्कनाले मन घोचिरहन्छ। फेरि सोच्छु, साथीहरूले अल्लारे उमेरमै बिहेबारी गरे, म त आत्मनिर्भर भएर बिहे गर्दैछु नि! यही सोचेर चित्त बुझाउँछु।'

उमेर बेचेर सपना किनिरहेका अजयलाई अब धेरै समय कोरिया बस्ने मन छैन। उनी छिट्टै फर्किएर देशमै केही गर्न चाहन्छन्। आमाबुबालाई भने छोराले केही समय परदेश बसेर राम्रो कमाइ गरे हुन्थ्यो भन्ने छ। कोरियाको काम तुलनात्मक सुरक्षित भएकाले पनि फर्कन जोडबल नगरे हुन्थ्यो भन्ने उनीहरू सोच्छन्। अजयलाई भने एक एक दिन एक एक वर्ष बराबर भइरहेको छ।

कोरिया खासमा अजयको सपना थिएन। बिबिएस तेस्रो वर्ष पढ्दै गरेका उनी नेपालमै सरकारी जागिर खान चाहन्थे। पढ्दा पढ्दै घरको जिम्मेवारी काँधमा आयो। जेठो छोरा भएकाले उनी पनि जिम्मेवारी बोक्न कस्सिए। सुरूमा त नेपालमै जागिर खाने प्रयास गरे। तर सफल भएनन्। सरकारी जागिर खाने सपना पूरा गर्न लोकसेवा परीक्षा पनि दिएका थिए। एकपटक लिखितमा पास पनि भए। तर अन्तर्वार्तामा नाम निस्किएन।

यही परिस्थितिमा वैदेशिक रोजगारी बाध्यता बनेर आयो।

उनले पहिले खाडी मुलुक जाने सोचेका थिए। संयुक्त अरब इमिरेट्सको दुबई जाने तयारीमा पासपोर्ट बनाए। एउटा कम्पनीमा पासपोर्ट बुझाएका पनि थिए। तर त्यहाँबाट कुनै प्रतिक्रिया आएन। त्यसपछि कोरिया जाने तयारी थाले।

'त्यस बेला इपिएसका लागि ठ्याक्कै आवेदन खुलेको थियो। खाडी नभएपछि विकल्पमा कोरिया नै जानुपर्छ भन्ने भयो। अनि आवेदन दिएँ, पास भएँ। तर कोभिडले साह्रै दुःख गरेर कोरिया आइपुगियो,' उनले भने।

त्यति बेला कोभिड महामारीका कारण कोरिया जाने प्रक्रिया पूरा गरिसकेका र बिदामा आएकाहरू पनि लामो समय उड्न पाएका थिएनन्। आफूहरूको भविष्य अन्यौलमा परेको भन्दै सयौं युवा माइतीघरमा आन्दोलनमा ओर्लिएका थिए। सरकारसँग हारगुहार गरेका थिए। त्यो आन्दोलनको अगुवाइ अजयले नै गरेका थिए।

'पास गरेको दुई वर्षसम्म हल्ली न चल्ली भएर बस्नुपरेको थियो। घरबाट तैंले पास गरेको होइन, कहिले जान्छस् त भन्ने प्रश्न आउँथ्यो; यता सरकार भने प्रक्रिया खुलाउँदै नखुलाउने। एकातिर घरको तनाव, अर्कातिर आफ्नो भविष्यको तनाव। त्यही तनावले सडकमा ओर्लिन बाध्य बनायो। बडो संघर्ष गरेर आइयो यहाँ,' अजयले ती दिन सम्झिँदै भने।

कोरियाले सन् २००८ यता इपिएसमार्फत् हरेक वर्ष नेपालबाट अदक्ष श्रमिक लैजान्छ। इपिएस प्रणालीबाट कोरिया जान चाहने युवाको संख्या अत्यधिक छ। मागभन्दा धेरै संख्यामा युवाहरू जान तयार हुन्छन्। कोरिया सपना लिएर कति वर्ष त भाषा पढ्न मेहनत गर्छन्। भाषा पास गर्न बडो प्रतिस्पर्धा चल्छ। केही समयअघि पनि भाषा परीक्षाको विषयमा विवाद हुँदा बालकुमारी घटनामा दुई युवाको ज्यान गएको थियो।

'देश छाड्न पनि आन्दोलन गर्नुपर्छ, कस्तो बाध्यता छ है हाम्रो,' अजयले निन्याउरो मुख लाउँदै भने, 'काम गर्न अर्काको देश जान्छु भन्दा मर्नुपर्ने नियति छ। देशमै अवसर हुँदो हो त कोही किन कोरिया वा अन्य देश जान त्यस्तरी मरिहत्ते गर्छन् र!'

कोरियाको दुई वर्ष बसाइमा अजयले पैसा मात्र कमाएनन्, त्योभन्दा ठूलो कुरा मेहनत गर्न सिके। कामको मामिलामा कोरियनहरू जति निर्मम भए पनि उनीहरूबाट आफूले संघर्ष गर्ने, पाखुरा बजार्ने र जस्तोसुकै परिस्थितिमा हिम्मत नहार्ने पाठ सिकेको उनी बताउँछन्।

'यति मेहनत नेपालमा गरियो भने असम्भव केही छैन भन्ने सिकेको छु,' उनले भने, 'यहाँ काम गर्ने, तलब पाउने हरेक कुरा सिस्टममा हुन्छ। साहुले कुनै नेता चिन्न आवश्यक छैन। उसले चिन्दा पनि चिन्दैन। पावर पनि लाग्दैन। नेपालमा जस्तो कसैको कुर्सी धाउनुपर्ने, मुख ताक्नुपर्ने अवस्था छैन। यो तरिकाले काम गर्छु भन्दा नेपालमा सकिन्न कि जस्तो डर पनि लाग्छ।'

कोरिया गएर समय, मेहनत र पैसाको महत्त्व बुझेका अजयले नेपाल फर्किएर पर्यटन क्षेत्रमा काम गर्ने योजना बनाएका छन्। मेहनत गरेपछि आँटेको काम पूरा हुन्छ भन्ने विश्वास जागेको छ।

'४० डिग्रीको घाम र माइनस २० डिग्रीको खतरनाक जाडोमा काम गर्न सक्नेले नेपालमा नसक्ने भन्ने त हुँदै हुँदैन,' उनले आत्मविश्वासका साथ भने, 'आफ्नो र परिवारको आवश्यकता पूरा गर्न बिदेसिएको हुँ। अब आफ्नै देशमा केही गर्ने हिम्मत बटुलेर फर्कने छु।'

Published on: 20 June 2024 | Setopati

Link

Back to list

;