s

आकर्षक श्रम गन्तव्य कोरिया पुगेपछि आत्महत्या किन?

Year of Publication: 20 November 2023 | Nagarik

Published by: CESLAM

आकर्षक श्रम गन्तव्य मानिएको दक्षिण कोरियामा पुगेका युवाले किन आत्महत्या गर्छन्? यसको कारण हो, नयाँ परिवेश र घरबाट टाढा हुनु।

दक्षिण कोरिया रोजगारीका लागि तुलनात्मक रूपमा व्यवस्थित, सुरक्षित, मर्यादित र आकर्षक गन्तव्य मानिन्छ। तर नेपालीलाई कोरिया पुगेपछि भिन्न वातावरणका कारण सुरुसुरुका दिनमा गाह्रो महसुस हुन्छ।

दक्षिण कोरिया पुगेपछि त्यहाँको रहनसहनमा घुलमिल हुन नेपाली युवालाई असहज हुने गरेको छ। स्वदेशमा समयको महŒव कमै आँक्ने गरेका युवालाई विदेशमा आफू, काम र पढाइलाई व्यवस्थित गर्न कठिन हुन्छ। साथै घरपरिवारको सम्झनाले व्याकुल तुल्याउँदा कतिपयले आत्महत्या गरेको को देखिएको छ।

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाका लागि पहिलो उडान सन् २००८ मा ५५ कर्मचारीसहित भएको थियो। इपिएसको तथ्यांकअनुसार अक्टोबर ३१ सम्म करिब ९४ हजार ६ सय १७ पुरुष र ६ हजार सात सय ४३ महिला गरी एक लाख एक हजार तीन सय ६० जना कामदार इपिएसमार्फत कोरिया प्रवेश गरेका छन्।

दक्षिण कोरियाप्रति युवा आकर्षण छ। इपिएस शाखाका अनुसार सन् २००८ देखि २०२३ सम्मको अवधिमा कोरिया पुगेका मध्ये दुई सय ५० नेपालीको विभिन्न कारणले ज्यान गएको छ। जसमध्येमा ६८ जनाले आत्महत्या गरेका छन्, ६२ जनाको मृत्युको कारण खुलेको छैन।

इपिएस शाखाका अनुसार कार्यस्थलमा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ३० छ। त्यस्तै, सडक दुर्घटनाबाट २९ जना, विभिन्न किसिमका बिरामी भई २२ जना, पानीमा डुबेर चारजना र अन्य विभिन्न कारणबाट ३५ जनाले ज्यान गुमाएका छन्। यसरी मृत्यु हुनेमा आत्महत्या गर्नेको संख्या धेरै देखिन्छ।

कोरियाबाट स्वदेश फर्किएका सञ्जीवकुमार गोले अवसाद (डिप्रेसन) का कारण पनि नेपालीले आत्महत्या गर्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘सुरुमा कोरियाको हावापानी तथा त्यहाँको वातावरणसँग घुलमिल हुन समस्या हुन्छ। त्यहाँको नियम, कानुन, मिहिनेत र अनुशासन पालना गर्न गाह्रो हुन्छ। परिवारले कुरा नबुझेको, परिवारबाट टाढा बस्नुपरेको लगायत कारणले पनि कतिपयले आत्महत्या गरेका छन्।

इपिएस शाखा निर्देशक गुरुदत्त सुवेदीका अनुसार हरेक समय मेसिनसँग चल्नुपर्ने र कडा परिश्रम गर्नुपर्ने भएकाले स्वदेशमा खासै शारीरिक परिश्रम वा काम नगरेका युवालाई झनै असहज हुने गरेको छ।

‘घरमा आमाले पकाएको खाना खाइरहेको बानी युवामा हुन्छ। प्रायः युवालाई समयको मूल्य थाहा हुँदैन,’ उनले भने, ‘एक्कासि विदेशको सिस्टम र वातावरणले उनीहरूलाई एक किसिमको तनावझैं हुन्छ। कामको चाप र पढाइको पे्रसरसँगै परिवारिक समस्या र सम्झनाले भर्खरका युवालाई सताइरहेको हुन्छ। जसले गर्दा कतिपय युवाले आत्महत्यासम्म गरेको देखिन्छ।’

आफैंले भोगेको नेपाल र कोरियाबीच ठुलो अन्तर रहेको कोरियाबाट फर्किएका युवा बताउँछन्। ‘कोरिया आफैंमा साँच्चै सुन्दर छ, प्यारो छ, अनुशासित छ। सुरुमा त्यहाँको तालमेल मिलाउन केही कठिन मात्र हो। त्यहाँको हरेक अवस्था बुझेपछि कोरिया जस्तो राम्रो देश अरू कुनै हुँदैन,’ कोरियाबाट फर्किएर उद्यमी बनेका एक जनाले भने।

उनले थपे, ‘उच्च मनोबल, लगनशील र परिश्रमी व्यक्तिका लागि भने कोरिया रोजगारीले आर्थिक आत्मनिर्भरता उन्मुख गर्दै जीवन जिउने कला सिकाउने निश्चित छ। स्वदेशमा अभद्र रूपमा हुर्किएका र आफू नै ठुलो हो भन्ने सोच भएका मानिसका लागि कोरिया एक विद्यालय हो। कोरियाबाट संस्कार र गल्ती भए अरू व्यक्ति सामुन्ने झुक्न पनि सिकिन्छ।’

नेपाली कोरियाका विभिन्न प्रान्तमा छरिएर रहेका छन्। उनीहरू खासगरी उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कार्यरत छन्। इपिएसअन्तर्गत कोरिया गएका कामदारमध्ये करिब १० हजार कृषि तथा पशुपालन क्षेत्रमा कार्यरत रहेको निर्देशक सुवेदीले जानकारी दिए। उच्च शिक्षा अध्ययनका लागि पनि नेपाली युवा कोरिया जान्छन्।

‘इपिएस प्रणालीअन्तर्गत कोरियाको रोजगारी समस्यामुक्त भने छैन,’ सुवेदीले भने, ‘कतिपय समस्या नेपालबाटै सिर्जित छन् भने केही कोरिया प्रवेश गरेपछि देखा पर्ने गरेका छन्। बर्सेनि हजारौं आकांक्षी रोजगार अवसरका लागि भाषा परीक्षा उत्तीर्ण भई कोरिया जाने गरेका छन्।’

‘केही कामदार छोटो अवधिको भिसामा अन्य विदेशी मुलुकको हवाइमार्गमार्फत कोरिया प्रवेश गरेका छन्। तिनीहरू कार्यावधि समाप्त भए पनि नफर्की लुकिछिपी बसेका हुन्छन्। उनीहरूमा कोरियन भाषाको समेत कुनै ज्ञान नभएकाले आफैं शोषण तथा जोखिममा पर्न सक्छन्। अवैधानिक रूपमा कोरिया जाने हुँदा इपिएस कामदारको कोटामा समेत नकारात्मक प्रभाव पर्नसक्ने देखिन्छ,’ निर्देशक सुवेदीले भने।

कोरियामा वर्षौं काम गरेर कोरियाको सीप र पुँजीलाई स्वदेशमा ल्याएर व्यवसाय सुरु गरेका धेरै खुसी छन्। एक उद्यमीले विदेशमा हुने नेपालीलाई सुझाव दिँदै भने, ‘वैदेशिक रोजगारमा परिवारलगायत इष्टमित्र सबै स्वदेशमै हुने गरेका छन्। हाम्रो प्रतीक्षा गर्दै घरपरिवारले बाटो हेरिरहेका छन्। केही वर्ष विदेशमा दुःख गरेर स्वदेशमै फर्किनु पर्छ। विदेशमा कमाइएको सीप र पुँजीलाई स्वदेशमै लगानी गर्नुपर्छ। हामीले स्वदेमा भएका बेरोजगारीलाई रोजगार दिनसक्नु सबैभन्दा ठूलो उन्नति हो।’

‘ऊर्जाशील, क्रियाशील र उद्यमशील युवा राष्ट्रका बहुमूल्य सम्पत्ति हुन्। उत्पादनका साधन मात्र होइन, राष्ट्रिय विकास र समृद्धिका आधारशिलासमेत हुन्। तर विदेशमा भए पनि मन भने नेपालमै हुन्छ। यस्तो बहुमूल्य स्रोतको संरक्षण गर्नु हामी सबैको दायित्व हो,’ कोरियाबाट फर्की स्वदेशमा उद्यम गरेका अर्का एक उद्यमीले भने। ‘अवैध बस्नलाई निरुत्साहित गर्नुहोस्, खुसीसाथ घर फर्कन प्रोत्साहन गर्नुहोस्,’ लामो समय कोरिया बसी फर्केर विभिन्न क्षेत्रमा व्यवसाय सुरु गरेका उद्यमीको मूल नारा छ।

Published on: 20 November 2023 | Nagarik

Link

Back to list

;